कारोबार


विस्फोटक पदार्थ उत्पादन अब नेपालमै, चीन र भारतको सहयोग

विस्फोटक पदार्थ उत्पादन अब नेपालमै, चीन र भारतको सहयोग

दीपक खरेल
कात्तिक २९, २०७६ शुक्रबार १४:२७,

चीनले अनुदान सहयोग दिएका मेसिनमा भारत र चीनबाट आयातित कच्चा पदार्थको प्रयोग गर्दै नेपाली सेनाले विस्फोटक पदार्थको परीक्षण उत्पादन थालेको छ।

सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टबाट बिस्फोटक पदार्थको उत्पादन थालेको हो। जेठको अन्तिम साता चीनबाट ६१२ मेट्रिक टन कच्चा पदार्थ आयात गरिएको र पहिलो चरणमा परिक्षणका लागि निर्माण कार्यमा प्रयोग हुने २८ मेट्रिक टन बिस्फोटक पदार्थ उत्पादन गरिएको सेनाले जनाएको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले परिक्षण उत्पादनको क्षमता र गुणस्तर परिक्षणका लागि त्रिशुली थ्री बीलाई १२ मेट्रिक टन र तनहुँ हाईड्रोलाई साढे दुई मेट्रिक टन बिस्फोटक पदार्थ उपलब्ध गराएको बताए। उनले चीनबाट अनुदान सहयोगमा पाएको मेसिनको विधिवत हस्तान्तरणपछि पूर्ण क्षमतामा उत्पादन सुरु हुने बताए।

परिक्षणको तयारी
सेनाले आफुले उत्पादन गर्ने बिस्फोटक पदार्थको गुणस्तर, क्षमता र विश्वसनियता जाँचका लागि सार्वजनिक परिक्षणको तयारी गरेको छ। उच्च सैनिक स्रोतका अनुसार मंसिरको ८–९ गते सेनाले सम्बन्धित पक्ष र संचारकर्मीको उपस्थितिमा आफुले उत्पादन गर्ने बिस्फोटक पदार्थको परिक्षण गर्ने तयारी भइरहेको छ।

सेनाले गर्ने यो परिक्षणमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधी, रक्षा मन्त्रालयका अधिकारी, सैनिक उच्च अधिकारी र संचारकर्मी उपस्थित हुनेछन्। यो परिक्षण कुनै निर्माण स्थलमा हुने वा खुला स्थानमा भन्ने टुंगो लागिसकेको छैन्।

sena2

कच्चा पदार्थ दिन भारत तयार
केही वर्षअघिसम्म बिस्फोटक पदार्थका लागि नेपाली सेना पूर्ण रुपमा भारतमा निर्भर रहँदै आएको थियो। चीनले नयाँ मेसिन उपलब्ध गराएपछि सेनालाई कच्चा पदार्थको मात्र आवश्यकता थियो। भारतले सुरुमा कच्चा पदार्थ दिन विभिन्न बहाना बनाएपछि सेनाले भारतसँगको परनिर्भरता तोड्दै चीनबाट आयात गरेको थियो।

तर, केही दिन अघि एकजना उपरथीको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली सेनाको टोलीसँगको वार्तामा भारतीय पक्ष आवश्यकता अनुसार कच्चा पदार्थ (एमोनियम नाईट्रेट) उपलब्ध गराउन सहमत भएको हो।

नेपाली सेनाको टोलीले भारतको डिफेन्स प्रोडक्सनका मार्केटिङ म्यानेजर अनुपम चन्द्र र एसिस्टेन्ट सेक्रेटरी बरुण मित्रासँग वार्ता गरेको थियो। भारतीय पक्षले केही प्राविधिक कारणले कच्चा पदार्थ पठाउन ढिलो भएको जनाएको उच्च सैनिक अधिकारीले नेपालखबरलाई बताए। त्यो वार्तामा भारतले समेत ६१२ मेट्रिक टन कच्चा पदार्थ उपलब्ध गराउने सहमती भएको छ।

कार्यविधि संशोधन हुँदै
सेनाका रथी गौरव ताण्डुलको अध्यक्षतामा बिस्फोटक पदार्थको उत्पादन, ढुवानी, भण्डारण र बिक्रिबितरणलाई सहज, प्रभावकारी र सुरक्षित बनाउन सरोकारवालासँग कार्यविधि संशोधनका विषयमा बैठक बसिरहेको छ।

सेनाले नयाँ कार्यविधि बनाउने सम्बन्धी सैनिक उच्च अधिकारीहरुको बैठक रथी गौरव तण्डुलको नेतृत्वमा कात्तिक २१ मा बसेको हो।

सेनाले हाल जिल्ला सुरक्षा समितिले सिफारिस गरेका निर्माण कम्पनीलाई गृह हुँदै रक्षाबाट प्रधानसेनापति सचिवायलमा आएको पत्रका आधारमा बिस्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ। यो प्रक्रिया लामो र झन्झटिलो भएको गुनासोपछि सेना कार्यविधि संशोधनको तयारीमा जुटेको हो।

सेनाले उत्पादन गर्ने बिस्फोटक पदार्थ मुख्य गरि सडक र जलविद्युत निर्माण कम्पनीले ठूला पहाड फोडन प्रयोग गर्छन। यस्तो बिस्फोटक पदार्थ बढीमा एकवर्ष भण्डारण गर्न सकिन्छ। त्यसैले सेनाले माग अनुसार मात्रै उत्पादन गर्छ। सेनाले नै आवश्यक भएको निर्माण स्थलसम्म ढुवानी र भण्डारणको सुरक्षा जिम्मेवारी लिन्छ। यसको प्रयोग समेत सेनाकै प्रतिनिधिको रोहबरमा हुन्छ।

‘सेना बिस्फोटक पदार्थको उत्पादनका सम्बन्धमा कार्यविधि संशोधनको गृहकार्यमा छ’, सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले नेपालखबरसँग भने, ‘यसका लागि सरोकारवालासँग बैठक भइरहेको छ।’

सेनाको मकवानपुर सुनाचरीमा रहेका दुईवटा प्लान्ट बिस्फोटक पदार्थ उत्पादनका लागि तयारी अवस्थामा छन्। उसले एक सिफ्टमा ३६ सय मेट्रिक टन र डबल सिफ्ट गर्दा ७२ सय मेट्रिक टन वार्षिक बिस्फोटक पदार्थ उत्पादन गर्न सक्छ।

सैनिक अधिकारीहरुका अनुसार नेपालमा वार्षिक ६ हजार मेट्रिक टन बिस्फोटक पदार्थको अनुमानित माग रहेको छ।

‘अब नेपालमा हुने माग अनुसार बिस्फोटक पदार्थ उत्पादन गर्न हामी सक्षम छौं’, प्रवक्ता पाण्डेले भने, ‘निर्माण कम्पनीहरू निश्चिन्त भए हुन्छ, अब बिस्फोटक पदार्थ उत्पादनमा पनि हामी आत्मनिर्भर हुँदैछौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .