कारोबार


‘नमस्ते पे’को आँखा वार्षिक २ खर्बको कारोबार हुने पेट्रोलियममा, के सफलता पाउला?

‘नमस्ते पे’को आँखा वार्षिक २ खर्बको कारोबार हुने पेट्रोलियममा, के सफलता पाउला?

दीपक भट्ट
कात्तिक २६, २०७८ शुक्रबार १८:२७, काठमाडौँ

डिजिटल पेमेन्ट अर्थात् अनलाइन भुक्तानीका प्रयोगकर्ता बढेसँगै दुई सरकारी संस्थान मिलेर ल्याएको नमस्ते पेले पनि सेवा सञ्चालनको तयारी गरेको छ। 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा खडा भएको नमस्ते पेले यही मंसिरदेखि कारोबार सुरु गर्नलागेको हो। 

गत भदौ अन्तिममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी अर्थात् नमस्ते पे खडा भएको थियो। यसको चुक्ता पुँजी नै ४० करोड रुपैयाँ छ। 

कम्पनीले गत चैत ३ गते राष्ट्र बैंकबाट सेवा सञ्चालनको स्वीकृति पाएको थियो। योसँगै अब कारोबार सुरु गर्ने तयारीमा कम्पनी लागेको हो। 

मोबाइल वालेट सञ्चालनको निम्ति कम्तीमा एक करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ। 

यसअनुसार नवजात कम्पनी ‘नमस्ते पे’ अहिलेसम्म नेपालमा भएकामध्ये सबैभन्दा ठूलो चुक्ता पुँजी भएको भुक्तानी सेवा प्रदायक कम्पनी बनेको छ। 

कम्पनीमात्र ठूलो नभई कारोबार पनि ठूलै हिसाबले गर्ने लक्ष्य नमस्ते पेको छ। 

२ खर्बको पेट्रोलियम कारोबारमा आँखा  
यही कारण हुनसक्छ, कम्पनीले नेपालमा हुने २ खर्ब रुपैयाँ बढीको पेट्रोलियम कारोबारलाई ‘टार्गेट’ गरेको छ। 

नेपालमा गत आवमा २ खर्ब १४ अर्बको पेट्रोलियम पदार्थको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। यति ठूलो ‘भोल्युम’को पेट्रोलियम पदार्थ कारोबार नमस्ते पेमार्फत गरेर अघि बढ्ने योजनामा कम्पनी लागेको हो। 

अहिले कम्पनीलाई पेट्रोलियम कारोबार क्षेत्रमा प्रवेश गर्ने समय पनि उपयुक्त देखिएको छ। 

किनभने नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी छ। सोही कारण नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ। 

सरकारको ध्यान समेत त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेतिर हुँदा नमस्ते पेले अवसर पाउने देखिएको छ। 

ठूलो भोल्युममा भुक्तानी कारोबार गर्ने विश्वसनीय कम्पनीको रुपमा नमस्ते पे पाउँदा पेट्रोलियम तस्करी रोक्न सरकारलाई मद्दत मिल्नेछ। 

सोही कारण पनि नमस्ते पेले सरकारसँग सम्झौताको तयारी अघि बढाएको छ। 

पेट्रोलियम पदार्थको भुक्तानी नमस्ते पेमार्फत गर्न नेपाल टेलिकमको सिम प्रयोग गर्नुपर्ने हुन्छ। यसो हुँदा भारतीय नागरिकमार्फत हुने तस्करी रोकिने अनुमान छ। 

भारतीय नागरिकहरु नेपालमा आएर पेट्रोल, डिजेल भरेर जाने क्रमलाई रोक्न नमस्ते पेमार्फत भुक्तानी सेवा अपनाउन लागिएको हो। 

त्यसको लागि सरकारसँग सम्झौताको तयारी भइरहेको ‘नमस्ते पे’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीले नेपालखबरलाई बताए। 

उनले भने, ‘नेपाल आयल निगमसँग नै सम्झौता गरेर अघि बढ्ने गरी छलफल भइरहेको छ।’ 

नमस्ते पेको कारोबार सुरु भएसँगै पेट्रोलियम पदार्थको कारोबार पनि यहीँबाट गराउने योजना रहेको उनले बताए।  

नमस्ते पे भदौ २९ गते बेटा भर्सनको रुपमा सार्वजनिक भएको थियो। तर अहिलेसम्म कारोबार सुरु हुनसकेको छैन। एपको फिचरलाई नै संशोधन गर्ने काम भइरहेकोले यसको कारोबार ढिलो भएको सीईओ भण्डारीले जानकारी दिए। 

उनका अनुसार अहिले नयाँ–नयाँ फिचरहरु थप्ने काम समेत भइरहेको छ। आउँदो मंसिरको अन्तिममा कारोबार सुरु हुनेछ। 

नमस्ते पे अहिलेलाई एन्ड्रोइड भर्सनमा आउनेछ। यसको प्रतिक्रिया हेरेर आइफोन चलाउने ग्राहकको लागि आईओएस भर्सनमा पनि एप आउने कम्पनीको भनाइ छ। 

नेपाल टेलिकमको मोबाइलमा टपअप, विद्युत् महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू समेत उपलब्ध हुनेछन्। 

त्यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित करिब नौवटा बैंकको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ भने बाँकी बैंकहरूबाट पैसा लोड गर्नको व्यवस्था पनि मिलाइने उल्लेख छ।

यसले इन्टरनेट नहुँदा पनि अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा (यूएसएसडी) उपलब्ध गराउने जानकारी दिएको छ। 

कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर इनटरनेट नभएको स्थानबाट रकम भुक्तानी गर्न सकिनेछ। यसले पनि नमस्ते पेलाई सफल बनाउने कम्पनीको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .