अर्थमन्त्री जनार्दन शर्माले लगानीयोग्य रकम अभाव अर्थात् तरलता अभावलगायतका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्।
आज अर्थ मन्त्रालयमा भएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँगको छलफलका क्रममा अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई मौद्रिक नीतिको समीक्षामार्फत तरलता अभाव नहुने गरी नीति बनाउन भनेका हुन्।
सो क्रममा गभर्नर अधिकारीलाई अर्थमन्त्री शर्माले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सहुलियत दिन पनि आग्रह गरे।
चालू आवको तीन महिना सकिएको अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेका बेला अर्थमन्त्रीले यस्तो आग्रह गरेका हुन्।
सोही समीक्षामार्फत सीडी रेसियोमा खुकुलो हुने नीति राखिदिन अर्थमन्त्रीको आग्रह थियो।
चालू आर्थिक वर्षको नीतिमार्फत राष्ट्र बैंकले सीडीसी रेसियोलाई परिवर्तन गर्दै सीडी रेसियो नीति ल्याएको थियो।
यही नीतिले गर्दा बैंकरहरुले तरलता अभाव भएको बताउँदै आएका छन्। चालू आवको सुरुदेखि नै बजारमा तरलता ‘टाइट’ हुँदै आएको छ।
सहभागी एक बैंकरका अनुसार बजारमा अहिले लगानीको क्रम बढेको देखिएकोले बढी तरलताको लागि वातावरण खोजी गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ।
उनले भने, ‘अत्यधिक कर्जा प्रवाह भएको औँल्याउँदै कर्जाको गुणस्तरमा ध्यान दिन बैंक र राष्ट्र बैंक दुवैलाई अर्थमन्त्रीले निर्देशन दिनुभएको हो।’
अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरुले साना तथा विपन्न वर्गहरुलाई समेत कर्जाको दायरा बढाउन भनेका थिए।
Shares

प्रतिक्रिया