ad ad

कारोबार


दसैँमा बेच्न चीनबाट ल्याएका ७ सय गाडी सामान नाकामै राेकिए

दसैँमा बेच्न चीनबाट ल्याएका ७ सय गाडी सामान नाकामै राेकिए

रसुवागढी नाका। फाइल तस्बिर


वसन्त अर्याल
असोज २१, २०७८ बिहिबार १९:१३, काठमाडौँ

चीनतर्फको प्रमुख नाकामा सहजीकरण नहुँदा चाडपर्वलक्षित करिब ७ सय गाडी तत्काल नेपाल नआउने भएको छ। 

नेपाली व्यवसायीले दशैं र तिहार लक्षित गर्दै ल्याएको सामग्री आउन नसक्ने भएको हो। 

दसैँ सुरु भइसकेकाले अब ड्राइभर र मजदुर समेत घर जाने भएकाले दसैँअघि सामग्री नआउने व्यवसायी बताउँछन्। 

चीनले दैनिक कोटा प्रणालीको हिसाबले गाडी पठाउँदा पनि नेपाली सामग्री चीनतर्फ नै रोकिएको उनीहरुको भनाइ छ। 

कोभिड महामारी सुरु भएयता नै उत्तरी नाका असहज बन्दै आएको छ। लकडाउनले २ महिना सामान आयात पूरै बन्द भएको थियो। त्यो बेलाको चाप बढ्दै जाँदा अहिलेको अवस्था आएको व्यवसायी बताउँछन्। 

नेपाल हिमालय सीमापार वाणिज्य संघ महासचिव भरत कार्कीका अनुसार नेपाल छिर्न नपाएका ती गाडीमा दसैँ तिहारलक्षित रेडिमेट कपडा, जुत्ताहरु धेरै छन् भने तिहारको लागि आवश्यक झिलिमिलीका सामान पनि रोकिएका छन्। 

रसुवागढी नाकाबाट चिनियाँ ८–९ कन्टेनर (नेपाली १७–१८ गाडी) र तातोपानीबाट १० कन्टेनर आउने गरेको बताउँछन्। 

सीमानाकाबाट दसैँ र तिहारको समयमा स्याउ बढी मात्रामा भित्रिने गरेको छ। बढी स्याउ आउँदा अरु गाडी आउन असहज भएको व्यवसायीको भनाइ छ। 

कुहिने सामग्री भएकाले स्याउ पहिलो प्राथमिकतामा पर्ने गरेको छ। 

अहिले चाडपर्वलक्षित आधा सामग्रीमात्रै नेपाल आएको छ। आधा अझै पनि चीनपारि नै रोकिएको छ। 

रोकिएको सामग्री दसैँअघि आउने सम्भावना नरहेको कार्की बताउँछन्। 

‘चाडपर्व भएकाले ड्राइभर र मजदुरहरु दसैँ मनाउन जान्छन्’, उनले भने, ‘करिब ७ सय बढी गाडी चीनमा रोकिएको ट्रान्सपोर्टले बताउने गरेका छन्।’ 

महासचिव कार्कीका अनुसार रेडिमेड एउटा गाडी रोकिँदा डेढ करोडको सामान रोकिन्छ। जुत्ताको कन्टेनर हो भने ७०–८० लाखको हुन्छ।

रेडिमेड कपडाबाहेक मोबाइल, विद्युतीय सामग्री, जाडोको कम्बललगायतका सामान उत्तरी नाकाबाटै आउने गरेको छ। 

कोभिडअघि रसुवाबाट नेपाली गाडी सिधै केरुङ जान्थे। आफ्नो ड्राफ्टअनुसारको सामग्री ल्याउँथे। 

कोभिडको कारणले नेपाली गाडी चीनतर्फ जान पाउँदैनन्। चिनियाँ गाडीले सामान ल्याएर फर्किएपछि मात्रै नेपाली गाडीले लोड गरेर ल्याउनुपर्ने बाध्यता छ। 

नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरका अनुसार दैनिक ४० ट्रक पठाउने कुरा भए पनि चिनियाँ पक्षले नेपालको टाइमिङ नमिल्दा समस्या रहेको बताउने गरेको छ। 

तुलाधरले भने, ‘७ वटा ट्रक पठाएको १० घण्टापछि मात्रै फर्किएको चिनियाँ पक्षको गुनासो छ।’ 

चिनियाँ पक्षले १–२ घण्टामा कन्टेनर खाली गरेर पठाएपछि अर्को गाडी पठाउने बताएको उनले उल्लेख गरे। 

यसबाहेक केही व्यापारीको स्वार्थ र बिचौलियाको कारण पनि समस्या  रहेको उनको भनाइ छ। 

‘दुई सिफ्टमा ७ देखि ९ वटा गाडी नेपाल आउँछन्’ 
रसुवागढीका भन्सार अधिकृत नरेन्द्र प्रसाद चौधरीले दुई सिफ्टमा ७ देखि ९ वटा गाडी आइरहेको जानकारी दिए। 

‘मितेरी पुलसम्म चिनियाँ कन्टेनर आउँछन्। त्यसपछि नेपाली लोडर गएर नेपाली गाडीमा हाल्छन्’, चौधरीले भने, ‘चिनियाँ एउटा कन्टेनरमा ल्याएको सामान दुईवटा गाडीले ल्याउनुपर्छ। दैनिक १४–१५ नेपाली गाडी भन्सार पास हुने गरेका छन्।’ 

चाइनिज ट्रान्सपोर्टरकै गोदाममा धेरै सामग्री भएर आउन समस्या भएको  बताउँदै उनले भन्सारमा आएको सामग्रीचाहिँ नरोकिएको बताए। 

पहिले केरुङसम्म जान पाउँदा सहज रहेको बताउँछन् चौधरी। 

उनका अनुसार दैनिक ५० देखि डेढ सयसम्म गाडी आउँथ्यो। मास्क, मेडिकल सामग्री, स्याउ, ओखरलगायतको सामग्रीले रेडिमेड कपडा आउन समस्या भएको छ। 

‘हाम्रो तर्फबाट सहज बनाउने प्रयास भइरहेको छ’, उनले भने, ‘उहाँहरुले अहिले दैनिक ७ गाडी आएकोमा १४ वटा पठाउन सहमत रहेको छ। तर पठाएको छैन।’

बिहान ७ र बेलुका ७ गाडी पठाएर व्यवस्थापन गर्ने उनले बताए। 

‘दुई सरकारबीच कूटनीतिक छलफल नै आवश्यक’
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष तुलाधरले मुख्यतः दुईवटा सरकारबीच छलफल भएपछि मात्रै उत्तरी नाकाबाट आवतजावत सहज हुने बताए। 

उनले नेपाली गाडी चीनपारि जान नपाउँदा एक कन्टेनरको भाडा १२ सयबाट १० हजारसम्म पुगेको बताए। 

यसले नेपाललाई ठूलो घाटा भइरहेको उनको भनाइ छ।  

सहजीकरणका लागि अमेरिकाबाट परराष्ट्रमन्त्री आएपछि नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव कार्कीको टोली डेलिगेसन समेत गएको थियो। 

त्योसँगै मन्त्रीले चिनियाँ राजदूतलाई बोलाएर गाडीको संख्या बढाउने र नाकालाई सहज बनाउने विषयमा कुरा गर्ने आश्वासन दिएको कार्की बताउँछन्। 

‘वाणिज्यमन्त्री नै नियुक्त हुनसकेका छैनन्। राज्यबाट पहल पनि कम भइरहेको छ’, उनले भने, ‘राज्यको तहबाट कूटनीतिक पहल नै कम भएको देखिन्छ। चीनले प्राथमिकता पनि दिएको छैन।’ 

उनले व्यवसायीले ध्यानाकर्षण गराएर मात्रै समस्या समाधान नहुने बताए। 

जाडोमा आउने सामानको भोलुम झन् धेरै हुन्छ। यसले झन् गाडी चीनपारि नै रोकिने समस्या हुने व्यवसायीको भनाइ छ। 

तातोपानी र रसुवागढीलाई नेपालको मुख्य नाका भनिरहँदा राज्यले पूर्वाधार नै पूरा गर्न सकेको छैन। त्यसमाथि कूटनीतिक पहल कम हुँदा अर्बौँको सामग्री रोकिने गरेको व्यवसायी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .