ad ad

कारोबार


सगुनको शेयर सदस्य १० हजार भन्दा धेरै, कुल मुनाफा झण्डै ४ करोड

सगुनको शेयर सदस्य १० हजार भन्दा धेरै, कुल मुनाफा झण्डै ४ करोड

नेपालखबर
असोज ६, २०७८ बुधबार १८:१२, काठमाडौँ

राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानबिना मुलुक सम्बृद्ध बन्न नसक्ने बताएकी छन्। 

बुधबार सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिकोत्सव तथा साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष मल्लले मुलुकको सम्वृद्धि र गरिब नागरिकको जीवनस्तर सहकारी अभियानले मात्र उकास्न सक्ने बताइन्।

उनले नेपालमा सहकारी अभियानलाई अझ व्यवस्थित र पारदर्शी रुपमा अघि वढाउनु पर्ने र त्यसका लागि सहकारी ऐनलाई समयानुकूल परिमार्जन गरिनुपर्नेमासमेत जोड दिइन्। 

कार्यक्रममा संविधान सभा सदस्य हरिप्रसाद उप्रेती, प्रदेश २ को सहकारी मन्त्रालयका प्रतिनिधि ओमनारायण झा, राष्ट्रिय सहकारी बैँकका प्रतिनिधि विश्वनाथ मण्डल, जिल्ला बचत तथा ऋण सहकारी संघका सर्लाही जिल्ला अध्यक्ष बाबुराम घिमिरे, वरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। 

वक्ताहरुले सगुन सहकारी प्रदेश २ मै उत्कृष्ठ सहकारीको रुपमा स्थापित हुँदै गएको भन्दै प्रशंसा गरे। 

सगुन सहकारीका प्रवन्धक रविन्द्र रानाका अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्मको कारोबारबाट कुल तीन करोड ९७ लाख २४ हजार सात सय ४९ रुपैयाँ मुनाफा गरेको छ। 

२२ वर्षअघि ३६ जना शेयर सदस्यको सानो पूँजीबाट कारोबार सुरु गरेको सगुनको शेयर सदस्य संख्या अहिले १० हजार एक सय ७५ पुगेको छ। चालु आर्थिक वर्षमा संस्थाले करिब ३ हजार शेयर सदस्य वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिए।

अध्यक्ष ढकालका अनुसार संस्थाको हाल कुल शेयर पूँजी १३ करोड १३ लाख ७० हजार एक सय छ। यस वर्ष संस्थाले आफ्ना शेयर सदस्यलाई १२ प्रतिशतभन्दा धेरै बोनश वितरण गरेको छ। त्यसैगरी संरक्षण पूँजी फिर्ता कोष अन्तर्गत बचतमा ३ प्रतिशत र ऋणमा ३ दशमल १२ प्रतिशत बोनश वितरण गरिएको अध्यक्ष ढकालले बताए। 

हरिवनको मुख्य बजारमा आफ्नै सात तले बिल्डिङ रहेको सगुनले कक्षा १० सम्म पढाई हुने सगुन आवासिय विद्यालयसमेत सञ्चालन गर्दै आएको छ। 

सगुनले हरिवनमा केन्द्रीय कार्यालयसँगै सर्लाहीको बागमती र लालबन्दीमा सेवा केन्द्र मार्फत् आफ्ना शेयर दसस्यलाई सेवा प्रदान गर्दै आएको छ। यसै वर्षबाट संस्थाले सर्लाहीको बरहथवा नगरपालिकामासमेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी अघि बढाएको संस्थाका सचिव राजकुमार उप्रेतीले जानकारी दिए।

कोभिड संक्रमणको जोखिमलाई ध्यान दिँदै संस्थाले शेयर सदस्यहरुको उपस्थिति दर्ताको काम पाँच दिन अघिबाटै सुरु गरेको थियो। बुधबार प्रतिनिधिमूलक रुपमा मात्रै साधारणसभा आयोजना गरिएको हो। कार्यक्रममा उत्कृष्ठ ऋणी र बचत कर्ताहरुलाई सम्मान गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .