ad ad

कारोबार


नक्कली अन्तःशुल्क स्टिकर प्रकरणमा दुई शक्तिशाली विभागका महानिर्देशकबीच टसल

नक्कली अन्तःशुल्क स्टिकर प्रकरणमा दुई शक्तिशाली विभागका महानिर्देशकबीच टसल

दीपक भट्ट
भदौ २९, २०७८ मंगलबार ८:१६, काठमाडौँ

देशको राजस्व नियमन र संकलन गर्ने दुई ठूला सरकारी निकायबीच खटपट देखिएको छ। 

पूर्ववर्ती सरकारको पालामा राजस्व अनुसन्धान विभागको नेतृत्व पाएका रामप्रसाद आचार्य र गठबन्धन सरकारको पालामा आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका शोभाकान्त पौडेलबीच टसल बढेको हो।   

पौडेल गठबन्धनको सरकार निर्माण भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा हुँदै आन्तरिक राजस्व विभागका महानिर्देशक बनेका हुन्। 

त्यस्तै आचार्यले केपी ओली सरकारको पालामा राजस्व अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारी पाएका थिए।  

राजस्व अनुसन्धान एक अर्धन्यायिक निकाय हो भने आन्तरिक राजस्व विभाग नियामक र प्रवर्द्धकको काम गर्ने निकाय हो। 

यी दुई विभागका महानिर्देशकबीच अहिले नक्कली स्टिकरसम्बन्धी एक अनुसन्धानको विषयलाई लिएर टसल परेको हो। 

राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले यही भदौ ५ मा सशस्त्र प्रहरीको सहयोगमा भैरहवाको डण्डा क्षेत्रबाट २ करोड ३५ लाख ६३ हजार रुपैयाँ मूल्यबराबरको नक्कली स्टिकर समातेको थियो।  

८० रोलको ती अन्तःशुल्क नक्कली स्टिकर लु.२च २५० नम्बरको गाडीमा भारतबाट ल्याएर भैरहवाको दरखसको एउटा घरमा लुकाएर राखेको सूचनापछि गाडीसहित समातिएको थियो। 

त्यसमा संलग्न सहिद अन्सारी र अमानत अलीलाई प्रहरीले पक्राउ ग¥यो। 

दुई जना पक्राउपछि राजस्व अनुसन्धानले त्यसको अनुसन्धान कार्य प्रभावकारी तरिकाले अघि नबढाएको अन्तरिक राजस्व विभागको आरोप छ। 

आन्तरिक राजस्वले राजस्व अनुसन्धानमाथि दुईवटा आरोप लगाएको छ। 

जसअनुसार एउटा, राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यले आफूलाई यो गठबन्धनको सरकारले सरुवा गर्न लागेको भन्दै अनुसन्धान कार्यलाई महत्व दिइरहेका छैनन्। 

सोही कारण यो अनुसन्धान कार्यलाई उनले पछि सार्न खोजिरहेका छन्। उनले अनुसन्धान कार्य अघि नबढाएपछि अन्तरिक राजस्व विभागले दुई जना उपसचिव नै बुटवल पठाएर सो कार्यको रिपोर्टिङ गरेको थियो। 

सो रिपोर्टिङको ब्रिफिङ महानिर्देशक पौडेललाई भइसकेको छ। दुई जना उपसचिवको रिपोर्टिङले पनि राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यको अगुवाइमा नै अनुसन्धान अघि नबढेको देखाएको आन्तरिक राजस्व स्रोतले बतायो। 

त्यस्तै राजस्व अनुसन्धानमाथि आन्तरिक राजस्वको अर्को आरोप छ– उद्योगीसँगको साँठगाँठ। 

नक्कली स्टिकर ल्याउने उद्योग भैरहवाको क्रिस्टल डिस्टिलरी देखिएको छ।  

सो उद्योगका मालिक फुलसिंह क्षेत्रीलाई जोगाउन अनुसन्धान कार्यमा ढिलाइ गरेको अन्तरिक राजस्व विभागको आरोप छ।  

यसै सिलसिलामा सोमबार दिउँसो शोभाकान्त पौडेलले रामप्रसाद आचार्यलाई फोन नै गरी उक्त प्रकरणमा किन अनुसन्धान ढिलाइ गर्नुभएको भनेर प्रश्न गरेका थिए। 

पौडेलले सो उद्योगले अब आइन्दा कुनै पनि अन्तःशुल्कको कारोबार नै गर्न नसक्ने गरी फाइल तयार गर्न समेत भनेका थिए। तर आचार्यले भने अनुसन्धान भइरहेको भन्दै शोभाकान्तको कुरा टारेको स्रोतले जनाएको छ।   

अन्तरिक राजस्व विभागका एक अधिकारीका अनुसार शोभाकान्तले फोनमा आचार्यलाई भनेका थिए, ‘त्यसरी हुँदैन है, सरुवा हुने कुरा स्वाभाविक हो, म पनि विभिन्न निकायमा गएको छु तपाईं पनि त्यही हो। अन्तिम दिनसम्म हामीले काम गर्नुपर्छ। त्यो अनुसन्धानले गति लेओस्।’ 

यति मात्रै हैन अन्तरिक राजस्वलाई धक्का लगाउने अन्तःशुल्क चुहावटको अन्य विषयलाई समेत आचार्यले ध्यानपूर्वक नहेरेको आरोप अन्तरिक राजस्व विभागको छ। 

राजस्व अनुसन्धानले धेरै विषयहरुमा ध्यान नदिएको भन्दै आन्तरिक राजस्व नै बढी सक्रिय बन्नुपरेको स्रोतको दाबी छ। 

केही दिनअघि मात्रै आन्तरिक राजस्व विभागअन्तर्गतको राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदसहित ६ जनालाई नियन्त्रण लिएको थियो। 

उनीहरुले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर आयात गरी नेपालमा साना–साना डिस्टिलरीहरुमा बिक्रीवितरण गरेको भेटिएको थियो।  

अन्तःशुल्क ऐन २०५८ अनुसार धरौटी दिन नसकेपछि उनीहरुलाई जेल चलान गरिएको छ। राजस्व कार्यालयले नक्कली अन्तःशुल्क स्टिकरको कारोबारीले धरौटी दिन नसकेपछि जेल चलान गरेको हो।

आन्तरिक राजस्व कार्यालय धनगढीले आरोपितहरुसँग सात करोडका दरले कुल ५२ करोड रुपैयाँ धरौटी माग गरेको थियो। माग गरेअनुसारको धरौटी भुक्तानी गर्न नसकेपछि अन्तःशुल्क ऐनअनुसार उनीहरु जेल चलान भएका हुन्। 

राजस्व अनुसन्धान विभागसँग सशस्त्र प्रहरी तैनाथ हुन्छ। 

तर आन्तरिक राजस्व विभागसँग सो शक्ति नभए पनि धनगढीमा राजस्व अनुसन्धानले गर्नेभन्दा ठूलो कार्य गरेको आन्तरिक राजस्वको दाबी छ। 

आन्तरिक राजस्वको यस्तो दाबीले पनि दुई निकायबीचको टसल देखाउँछ। देशको राजस्व अपचलन रोक्ने र संकलन गर्ने सरकारी निकायबीचको मनमुटावले अन्ततः करछलीलाई प्रश्रय मिल्ने भएकाले समन्वयनको टड्कारो आवश्यकता देखिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .