ad ad

कारोबार


बागलुङ अब अक्सिजनमा आत्मनिर्भर बन्दै

बागलुङ अब अक्सिजनमा आत्मनिर्भर बन्दै

नेपालखबर
भदौ १४, २०७८ सोमबार १७:२५, काठमाडौँ

धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ। बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ। 

अस्पतालको स्तरवृद्धि गरी २०० शय्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य  अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएको हो।

अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शय्यालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ। कोरोनाको दोस्रो लहरका बेला  अस्पतालमा एकै पटक ४७ सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो। 

अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि रू तीन करोड बजेट विनियोजन गरेको थियो। प्लान्टका लागि बोलपत्र आह्वान गर्दा  रु दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कम्पनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए। 

चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रु २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ थियो।  

भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए। दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रु ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो। 

अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शय्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ। अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .