ad ad

कारोबार


अर्थ समितिमा नेप्से सीईओ साउदलाई र्‍याखर्‍याखती

अर्थ समितिमा नेप्से सीईओ साउदलाई र्‍याखर्‍याखती

नेपालखबर
साउन ३२, २०७८ सोमबार १८:४, काठमाडौँ

सेयरबजारको नियमक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटीसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टीकरण दिएका छन्। 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैँले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनी प्रश्न गरेका थिए। 

त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटीसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिए। 

उनले भने, ‘हाम्रो सञ्चालक समितिको आचारसंहिताले के भन्छ भने रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्नेछैन। यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ। त्यहीँ प्रावधानअन्तर्गत यो सेयर कारोबार गरिएको हो। नियम मिचेर यो काम गरिएको होइन। म पनि त नागरिक हुँ नि! मैले पनि त आफ्नो लगानी गर्न पाउनुप¥यो नि?’

प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न समाचार माध्यमहरुले सेयर कारोबारसम्बन्धी विद्यमान ऐन, कानुनको व्यवस्था नबुझी सर्वोत्तम सिमेन्टको ओटीसी सेयर नियामक निकाय आफैँले खरिदबिक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दाबी समेत गरे। 

बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा गराउँदै नेप्से जस्ता नियमक निकाय आफैले नैतिक प्रश्न समेत खडा हुने गरी ओटीसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए। 

समितिका सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गरिन्। 

उनले आफैँमाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानबिन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनी समेत दिए।

समितिकी अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियमक निकायलाई सचेत गराइन्। उनले नेप्सेजस्ता संस्थाहरुलाई नीति र विधि अनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गरिन्।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकायहरु आफैले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने चेतावनी दिए। 

उनले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भए पनि सेयरबजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .