ad ad

कारोबार


निषेधाज्ञापछि बढेन सवारीसाधनको व्यापार, दसैँसम्म बढ्ने आशा

निषेधाज्ञापछि बढेन सवारीसाधनको व्यापार, दसैँसम्म बढ्ने आशा

वसन्त अर्याल
साउन १, २०७८ शुक्रबार १९:३७,

निषेधाज्ञा खुलेपछिको अटो बजार अपेक्षित रुपमा अघि बढ्नसकेको छैन। 

कोरोनाको दोस्रो लहरसँगै वैशाख १६ देखि बन्द भएको अटो बजार असारबाट खुलेको त छ। तर व्यापार छैन। 

गत वर्ष भने लकडाउन खुलेसँगै बजार निकै चलायमान भएको थियो। व्यवसायीले यो वर्ष पनि गत वर्षजस्तै चहलपहल हुने आशा गरेका थिए। तर त्यसो भएन।   

गत वर्ष लकडाउन खुल्नेबित्तिकै दुईपांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको थियो। ​चारपांग्रे सवारीसाधनको व्यापार भने दसैँ÷तिहार र त्यसपछि चैत÷वैशाखमा राम्रो भएको थियो। 

व्यवसायीहरुका अनुसार ३ महिना लकडाउनको कारण ठप्प बजार कोरोनाको पहिलो लहर सकिएसँगै पूरै वर्षभरिको हिसाबमा ‘रिकभर’ भएको थियो।  

गत चैत÷वैशाखमा व्यवसायीले मागअनुसार गाडी नै उपलब्ध गराउनसकेका थिएनन्। सवारीसाधनको माग उच्च भएको अवस्थामा दोस्रो लहर रोक्न निषेधाज्ञा लागू भएसँगै अटो बजारमा ‘ब्रेक’ लागेको हो। 

हिरो मोटर्सका आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योति तत्काल बजार कस्तो हुन्छ भन्नसक्ने अवस्था नरहेको बताउँछन्। 

अझै २/३ महिना बजारको अवस्था हेर्नुपर्ने उनको भनाइ छ।

‘हामीले लकडाउन खुलेपछि राम्रो व्यापार हुने आशा गरेका थियौँ। तर त्योअनुसार माग भइरहेको छैन। जुन महिनामा ठीकै थियो तर जुलाई महिनामा झन् घटेको छ’, ज्योतिले पछिल्लो अटो बजार अवस्थाबारे भने।

अहिले नै बजार राम्रो नभए पनि दसैँसम्म बजार राम्रो हुने ज्योतिको विश्वास छ। 

‘गत वर्ष लकडाउन खुल्दाबित्तिकै खासै बढेको थिएन। दसैँ तिहारसम्म पुग्दा राम्रो व्यापार भएको थियो’, ज्योतिले भने, ‘लकडाउनमा ३ महिना अटो बजार बन्द भयो। त्यसपछि खुलेको बजारले वर्षभरिको रिकभर गर्यो।’  

मूल्यवृद्धिको असर
उनले वाग्मती प्रदेश सरकारले बढाएको करबाहेक भारतमा दुईपांग्रे सवारीसाधनको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा देखिएको बताए। 

नेपालमा महामारीको समयमा मूल्य बढ्दा माग घट्ने उनको भनाइ छ। 

नाडाका केन्द्रीय कार्यसमिति सदस्य तथा यमाहाका बिक्रेता मिलनबाबु मल्लले पनि गत वर्ष लकडाउनपछि दुईपाग्रे सवारीसाधनको व्यापार राम्रो भए पनि यो वर्ष निषेधाज्ञापछि व्यापार हुन नसकेको बताए। 

‘गत वर्ष लकडाउन खुलेसँगै दुईपांग्रे सवारीसाधनको राम्रो व्यापार भएको थियो’, मल्लले भने, ‘यो वर्ष निषेधाज्ञा खुले पनि बजारमा माग नै छैन।’

व्यवसायीले कोरोना माहामारीको कारण सार्वजनिकभन्दा निजी सवारीसाधन कम जोखिम हुने बताएका थिए। 

कोरोना महामारीको डर अझै भएकाले निजी सवारीसाधनको बिक्री बढ्ने व्यवसायीले अपेक्षा गरेका छन्।

‘चाडपर्वले व्यापार बढाउँछ कि!’
रेनो नेपालका लागि आधिकरिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिका महाप्रबन्धक अधिर श्रेष्ठले भदौबाट चाडपर्व सुरु भएसँगै गाडी बिक्री बढ्ने आशा गरेका छन्। 

श्रेष्ठले यसअघि चारपांग्रे सवारीसाधनको व्यापार चाडपर्व सुरु हुँदा गाडीको व्यापार बढेकोले यो वर्ष पनि चाडपर्वमा व्यापार बढ्ने आशा गरे।

‘भर्खर बजार खुलेको छ। यसपालि पनि हामीले अटो बजार पहिलेजस्तै हुने आशा छ’, श्रेष्ठले भने, ‘स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि व्यक्तिगत सवारीसाधन भएको खण्डमा सुरक्षित रहन सहयोग गर्छ भन्ने धारणाले बिक्री बढ्ला।’ 

पहिले लकडाउनपछिको व्यापार धेरै अपेक्षाभन्दा राम्रो भएको बताउँदै उनले रेनोको नयाँ एसयूभी सार्वजनिक भएकाले गाडीको बिक्री बढ्ने अपेक्षा गरे।

‘अटो बजार खुले पनि अझै चलायमान भएको छैन। बिहीबार मात्रै नयाँ काइगर सार्वजनिक गरेका छौँ’, श्रेष्ठले भने ‘काइगर नेपालमै सस्तो एसयूभी भएकाले बजार चलायमान बनाउन सहयोग गर्छ।’

यता किया मोटर्सले भने आफ्ना सवारीसाधनको राम्रो बिक्री भइरहेको जनाएको छ। 

किया मोटर्सका आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने निषेधाज्ञा खुलेपछि निराश हुने अवस्था नआएको दाबी गरे। 

उनले आर्थिक अध्यादेशबाट विद्युतीय गाडीमा बढाएको कर हेरफेर भएसँगै विद्युतीय गाडीको व्यापार राम्रो भएको बताए। गत वर्ष बजेटमा कर बढाएपछि आयात करिब बन्द भएको थियो।  

‘निषेधाज्ञापछिको बजार विद्युतीय गाडीको रेस्पोन्सले उत्साह थपेको छ,’ लामिछानेले भने, ‘विद्युतीय गाडी निरोसँगै सेल्टोस र सोनेटको समेत राम्रो माग भइरहेको छ।’

उनी गत वर्ष लकडाउन खुलेपछि कियाको माग समान रुपमै अघि बढेको बताउँछन्। 

‘ब्रान्डअनुसार फरक–फरक हुनसक्छ। गत वर्ष सोनेट र सेल्टोसले बजारमा उत्साह थपेको थियो’, उनले भने, ‘यो वर्ष विद्युतीय गाडीले बजारलाई चलायमान बढाउन थप सहयोग गरेको छ।’

फेरि निषेधाज्ञा भए थेग्न सक्दैनौँः निराकर श्रेष्ठ
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बजारमा तेस्रो भेरियन्ट आए अटो बजारले थेग्न नसक्ने बताए।  

उनी बजार भर्खर खुलेकाले फेरि निषेधाज्ञा भए व्यवसायी धराशायी हुने बताउँछन्।

‘फेरि लकडाउन भयो भने हामीले थेग्नै सक्दैनौँ’, लक्ष्मी हुन्डाईका श्रेष्ठले भने, ‘हाम्रो शोरुम, सर्भिस सेन्टर भाडा, कर्मचारीको खर्च उठाउन सकिँदैन। बैंकको ब्याज चालू नै रहन्छ।’

निषेधाज्ञाको समयमा खर्च उस्तै हुने तर आम्दानी रोकिँदा समस्या  हुने उनको भनाइ छ।  

श्रेष्ठले गत वर्ष लकडाउन खुले पनि दसैँपछि डिमान्ड राम्रै आएको  बताए। 

उनले गत वर्ष सोचेभन्दा राम्रो व्यापार भएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा पनि बढ्ने बताए। 

‘सवारीसाधनको व्यापार हुने समय दसैँ तिहार भएकाले त्यो बेलासम्म बजार चलायमान बन्ने विश्वास छ’, श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .