प्रवास


१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनएको १६औँ क्षेत्रीय सम्मेलन माल्टामा सम्पन्न

१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनएको १६औँ क्षेत्रीय सम्मेलन माल्टामा सम्पन्न

नेपालखबर
चैत १८, २०८१ सोमबार १२:३९, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १६औँ युरोेपेली क्षेत्रीय सम्मेलन माल्टामा सम्पन्न गरेको छ।

२८ देखि ३० मार्चसम्म भएको उक्त सम्मेलनले १४ बुँदे घोषणा पत्र जारी गर्दै माल्टा सम्मेलन सम्पन्न गरेको हो। भेलाले १७औँ सम्मेलन आयरल्यान्डमा गर्ने पनि निर्णय गरेको छ।

सम्मेलन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारी, नेपाल लगानी बोर्डका प्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मी एवं युरोप क्षेत्र र विश्वभरबाट गरी २५० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो।

‘नेपालमा लगानी : एकता र समृद्धिका लागि साझेदारी’ नाराका साथ आयोजना गरिएको यस सम्मेलनमा लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित र मर्यादित वैदेशिक रोजगार तथा श्रम आप्रवासन, गैरआवासीय नेपाली नागरिकता एवं गोर्खाज्‌का मुद्दा लगायतका विषयमा छलफल भएको एनआरएनए सचिवालयले जनाएको छ।

सम्मेलनमा मानवीय सहायता, पर्यटन, सांस्कृतिक प्रवर्धन जस्ता विषय पनि छलफलको विषयवस्तु बनेका थिए।

आर्थिक एकीकरणलाई नेपालमा लगानी अवसरको प्रवर्धन, युवा र आप्रवासीहरूको चुनौती एवं अवसरमा एनआरएनएको भूमिका, रणनीतिक दृष्टिकोण, एनसीसीको सुदृढीकरण जस्ता विषयमा पनि छलफल भएको उक्त सम्मेलन केही निष्कर्षसहित समापन भएको हो।

सम्मेलनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि नेपाल सरकारसँग कानुनी प्रबन्धको माग, विश्वभर रहेका एनसीसीलाई आ-आफ्नो क्षेत्रमा कम्तीमा एउटा नेपाली भाषा स्कुलको सञ्चालनका लागि पहल, ११-१४ अक्टोबरका लागि तोकिएको एकता महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न, १ हजार नेपाली महिला भएका देशमा एउटा महिला सेल्टर स्थापनाका लागि एनसीसीमार्फत पहल, नेपालका हवाई कम्पनीहरूलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै, युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह, नेपाली दूतावास नभएका मुलुकहरू माल्टा, रोमानिया, क्रोएसिया, पोल्यान्ड, साइप्रसका साथै १० हजार नेपाली रहेका देशमा नेपाली राजदूतावास स्थापना गर्न नेपाल सरकारसमक्ष आह्वान गर्ने सम्मेलनले निचोड निकालेको छ।

यसैगरी, युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोयसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको अवैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न नेपाल सरकारसँग सहकार्य गर्दै संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाएर अघि बढ्न पनि सम्मेलनले राष्ट्रिय समन्वय परिषद् (एनसीसीहरू)लाई जिम्मेवारी प्रदान गरेको छ।

युरोप र एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीमूलका विदेशी नागरिकको पीएनओको पहिचान (परिचयपत्र)का लागि आवश्यक कानुनी प्रबन्ध र पहल गर्न पनि सम्मेलनले नेपाल सरकारसँग माग गरेको छ।

बेलायतमा समान पेन्सन र समान अधिकारका लागि लामो समयदेखि संघर्षरत गोर्खाज्‌को माग सम्बोधनका लागि मन्त्रीस्तरीय संवादका लागि कुटनीतिक पहलका निम्ति सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ।

म्यानमारमा भूकम्पका कारण पीडित नेपालीमूलका भूकम्पपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। सम्मेलनका सहभागी र आईसीसीका तर्फबाट प्रदान गरिने उक्त रकम एनसिसीमार्फत हस्तान्तरण हुनेछ।

संघको १७औँ युरोप क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् आयरल्यान्डमा आयोजना गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad