ad ad

अपराध


हिरासतमा रहेका पूर्वसांसद शेर्पाको टाउकामा चोट शौचालयमा लडेर : प्रहरी

हिरासतमा रहेका पूर्वसांसद शेर्पाको टाउकामा चोट शौचालयमा लडेर : प्रहरी

फाइल तस्बिर : पूर्वसांसद आङतावा शेर्पा


नेपालखबर
जेठ २, २०८० मंगलबार ११:७, काठमाडौँ

प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकामा चोट शौचालयमा लडेर लागेको प्रहरीले दाबी गरेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार उनले हिजो (सोमबार) साँझ मात्र प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। तर राति उनको टाउकामा गम्भीर चोट लागेपछि प्रहरीले ट्रमा सेन्टर लगेर टाँका लगाइदिएको छ। अहिले पूर्वसांसद शेर्पा प्रहरी परिसरकै नियन्त्रणमा छन्। 

परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले शेर्पा राति शौचालयमा लडेको र टाउकामा चोट लागेको बताए। 

‘उहाँ राति शौचालयमा लड्नुभएछ, हामीले राति नै ट्रमा सेन्टर लगेर उपचार गरायौँ, उहाँलाई  फर्काइएको छ। सोधपुछ गर्ने काम भइरहेको छ’, एसएसपी कार्कीले नेपालखबरसँग भने।  

यसअघि प्रहरीले चोटको कारण खुलाएको थिएन।

भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ।

खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .