अपराध


‘आँखै खाने मुस्कान, निडर यस्तो हेराइ, भन कल्ले भर्दियो...’

‘आँखै खाने मुस्कान, निडर यस्तो हेराइ, भन कल्ले भर्दियो...’

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १, २०८० सोमबार २०:२७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमबार बयानका लागि सरकारी वकिलको कार्यालय लगिँदा उनमा देखिएको मुस्कानले धेरै जनालाई चकित पारेको छ। 

अपराधको अभियोग लागेर प्रहरीको नियन्त्रणमा हुँदा को खुसी हुन सक्ला र! बरु मानिस दुःखी र निराश हुन्छ। तर सरकारी वकिलको कार्यालय जाँदै गर्दा रायमाझीको अनुहारमा यसको उल्टो उत्साह र उमंग झल्किएको देखियो। उनी मन्द मुस्कानसहित हात उठाइरहेका थिए। 

यसमा अचम्म मान्दै धेरैले टोपबहादुरको उक्त तस्बिरसहित सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन्। 

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले टोपबहादुर मुस्कुराइरहेको तस्बिरसहित व्यंग्य गरेका छन्, ‘पहिले–पहिले भ्रष्टाचारको अभियोगमा पक्राउ गरेर लैजाँदा रुमाल, टोपीले मुख छोप्ने गर्थे, अचेल यस्तो खुसी हुन थालेछन्! गणतन्त्र संस्थागत भएको त होला नि!’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘काकाको मुस्कान र कन्फिडेन्स लेबलचाहिँ मान्नुपर्छ। कत्ति न ‘नोबल घु (शान्ति)’ पुरस्कार नै देशका नाममा बनाएजस्तो!’

अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले त एउटा गीतै बनाएका छन्। 

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘यो हो नि कन्फिडेन्स! यत्तिका दिन किन गायब भन्या होइन? हो यही मुस्कान लिन गाको।’

साथै उनले प्रकाश सपुतको ‘कानमा झुम्काना, तिम्लाई कल्ले किन्दियो’ गीतको लयमा मिलाउँदै अगाडि लेखेका छन्, ‘तर आँखै खाने मुस्कान, निडर यस्तो हेराइ,  भन कस्ले भर्दियो? फूलमाया...।’ 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो। 

उनीबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गर्ने अनुमति लिइसकेको छ भने सरकारी वकिलको कार्यालयले सोमबारबाटै बयान लिन सुरु गरिसकेको छ। 

नेकपा एमालेका निलम्बित सचिव रायमाझी समातिएसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ। सोही प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि प्रहरीको हिरासतमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .