अपराध


श्रीमती र छोराछोरीको हत्या गरेर भागेका व्यक्ति दुर्घटनामा परेपछि खुल्यो पोल

श्रीमती र छोराछोरीको हत्या गरेर भागेका व्यक्ति दुर्घटनामा परेपछि खुल्यो पोल

नेपालखबर
असोज २७, २०७९ बिहिबार १३:८, बारा

बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन्। प्रसौनी गाउँपालिका ५ प्रस्टोका दिपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

उनले २५ वर्षीया सुजता चौधरी, छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजविर चौधरीको हत्या गरेका हुन्। गाउँकै ढोरा खोलामा परिवारै घोंगी खोज्न गएका बेला दिपेन्द्रले हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। 

बुधबार खोला किनारमा फरक–फरक स्थानमा आमा र छोराछोरीको शव फेला परेको थियो। उनीहरु सबैको घाँटी रेटिएको छ। घोंगी टिप्ने क्रममा भएको सामान्य विवादकै क्रममा दिपेन्द्रले आवेशमा हत्या गरेको एसपी बोगटीले बताए। 

दिपेन्द्र दुर्घटनामा परेपछि खुल्यो हत्याको पोल
दिपेन्द्रले सोमबार नै हत्या गरेको भएपनि बुधबार मात्रै शव फेला परेको थियो। सोमबार राति दिपेन्द्र दुर्घटनामा परे। सडक छेउमा चप्पल फुकालेर उनी ट्रकमा हामफालेको अनुमान प्रहरीले गरेको छ। 

दिपेन्द्र राति दुर्घटनामा परेको अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई उपचारका लागि नारायणी अस्पताल र त्यहाँबाट पछि एलएस न्युरो अस्पताल लगिएको थियो। 

दिपेन्द्र घाइते भएपछि उनका आफन्तको खोजी भयो। आफन्तको खोजी हुँदा दिपेन्द्रका ससुरा सुरेन्द्र चौधरीसम्म यो खबर पुग्यो। उनको घर जितपुर सिमराको छातापिपरा हो। सुरेन्द्रले गएर उनलाई भेटे। त्यसपछि छोरी र नातिनातीनाको सोधिखोजी गरे।

उनलाई ज्वाईं दुर्घटनामा परेको बताउने छिमेकीले नै छोरी र नातिनातीना घरमा नभएको जानकारी दिएपछि उनले नै सोधिखोजी गर्दै जाँदा घटनाको रहस्य खुलेको हो। 

दिपेन्द्रले नै श्रीमती र छोराछोरी घोंगी खोज्न गएको जवाफ दिएका थिए। तर मंगलबारसम्म पनि घर नफर्किएपछि सुरेन्द्रले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले सोधखोज गर्दै जाँदा दिपेन्द्रले कुरा फेरे र छोराछोरीको हत्या भएकाले आफू भागेको बताए।

पछि प्रहरीसहित स्थानीय पुग्दा खोला किनारमा फरक फरक स्थानमा उनीहरुको शव फेला परेको थियो। 

प्रहरीले अनुसन्धान गर्दै जाँदा हत्यापछि दिपेन्द्र दिनभर वीरगन्जमा बसेको खुलेको छ। पछि घर फर्किएका उनले घोंगी टिप्दा भिजेको लुगा घरमा फेरेर हिँडेको पाइएको छ। पछि साइकलमा गएका उनले आत्माहत्या गर्ने उदेश्यले ट्रकमा हामफालेको देखिएको एसपी बोगटीले बताए। 

दिपेन्द्रको अहिले एलएस न्यूरो अस्पताल नौतनमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad