ad ad

अपराध


बेलायत जान भिसा लागिसकेको थियो सुनिताको, घर झगडाले परिवार नै सकियो

बेलायत जान भिसा लागिसकेको थियो सुनिताको, घर झगडाले परिवार नै सकियो

पाण्डे परिवार बस्दै आएको घर। तस्बिर : उजिर कार्की/नेपालखबर


उजिर कार्की
साउन १६, २०७९ सोमबार १५:१४, काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीकी ३९ वर्षीया सुनिता पाण्डे बेलायत जान तम्तयार थिइन्।

माइतीको सहयोगमा उनले बेलायत जानका लागि भिसासमेत लागिसकेको थियो।

पति दिनेश पाण्डेसँग घर झगडा बढ्दै गएपछि माइतीले नै उनलाई बेलायत पठाउन लागेका थिए। 

तर सम्पत्तिको विवादलाई लिएर सुनिताले त ज्यान गुमाइन् नै उनका १३ वर्षीया छोरी र ८ वर्षीया छोराले पनि बाबुआमाको कलहमा ज्यान गुमाउनुपरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पाण्डे परिवारका चारैजना एकतले घरभित्रै मृत भेटिएका छन्। 

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फुटाएर घरभित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए। 

दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका थिए। अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए। चारैजना त्यसबेलासम्म मृत भइसकेका थिए। 

प्रहरीका अुनसार दिनेश पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको खुलेको छ।

बेलायत जान तयार सुनिता र दिनेशबीच लामो समयदेखि झगडा रहेको खुलेको छ। त्यहीकारण माइती पक्षले उनलाई बेलायत पठाउने तयारी गरेर भिसा पनि आएको थियो। 

 

'पहिलेदेखि नै पति र पत्निबीच घर झगडा रहेको खुलेको छ। पटक पटक डिभोर्सको कुरा भएको रहेछ', अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारीले भने, 'घरजग्गा सबै श्रीमतीको नाममा रहेछ। विवादबीच श्रीमानले तारकेश्वरको घर बेच्न साढे १० लाख रुपैयाँ बैना पनि गरेका छन्।'

तर श्रीमानले बेच्न लागेको घरको बैना श्रीमतीले फिर्ता गराएपछि दुईजनाबीच झनै कलह चुलिएको थियो। 

प्रहरीका अनुसार उनीहरुले घर जग्गा राखेर १८ लाख ऋण निकालेको पनि खुलेको छ। 

विवादबीच आइतवार राति उनीहरु छिमेकीकहाँ घर गएर खाना खाएका थिए। तर घर फर्किएपछि बल्झिएको झगडाले कलिला छोराछोरीसहित परिवार नै सकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .