चीन भ्रमणमा आउने धेरैजसो नेपाली ‘कम्युन’ हेर्ने चाहना गर्छन्। जो स्वाभाविक रूपमा कम्युनिस्ट विचार राख्ने व्यक्ति अथवा नेता हुन्। चिनियाँ साहित्य र इतिहास पढेका नेपालीका लागि कम्युनका कथा साँच्चै रोमाञ्चक र आकर्षक लाग्नुलाई अन्यथा मान्न सकिँदैन।
त्यसो त यो स्तम्भकारलाई पनि चिनियाँ कम्युन हेर्ने इच्छा नभएको कहाँ हो र?चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा बेइजिङमा बसेर काम गर्न थालेको ८ वर्ष पुग्न लागेछ। यसबीच नेपाली सञ्चारमाध्यममा सयौंको संख्यामा लेख लेखिसकेछु। त्यस क्रममा चीन बसाइका विविध अनुभव नै प्राथमिकतामा पर्ने गरेका छन्। कतिपय नेपाली पाठकले चीनबारे आफूलाई चासो लागेको विषयमा लेख्न सुझाव दिने गरेका छन्। तिनैमध्ये एक धरैपटक लेख्न अनुरोध गरिएको विषय हो– चिनियाँ कम्युन।
छिमेकी मुलुक भएर पनि केही दसक अगाडिसम्म चीनबारे नेपालमा सञ्चारको राम्रो पहुँच थिएन। चीनबारे थाहा पाउन पश्चिमा सञ्चारमाध्यममा भर पर्नुपर्ने अवस्था थियो। चार दसकअघिसम्म चीन बन्द–समाजमा थियो। त्यसकारण पनि चिनियाँ समाज/चलनबारे बाहिरी दुनियाँलाई निकै कम मात्र थाहा थियो। अहिलेको उत्तर कोरियाजस्तै त्यतिबेला चीनलाई एउटा रहस्यमय देशका रूपमा हेरिन्थ्यो। तर अहिलेको अवस्था एकदम फरक छ। चीनले सुधार र खुलापन सुरु गरेको ४० वर्ष बितिसकेको छ। चीनका सबै रहस्यको पर्दा उघारिँदै छ।
चिनियाँ समाजको वृत्तान्त एउटै लेखमा अटाउने कुरै होइन। यसर्थ यहाँ त्यसको एउटा सानो अंश कम्युनबारे केही चर्चा गर्दै छु।
सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र चीन स्थापना भएको हो। जसलाई चिनियाँ नागरिक नयाँ चीन भन्छन्। यसपछि नै चीन समाजवादी बाटोमा अगाडि बढ्न थालेको हो। निजी स्वामित्वमा रहेका सम्पूर्ण जमिन सरकारीकरण गरियो। र, सामूहिक खेतीको परम्परा थालियो। चिनियाँ कम्युनिस्ट पार्टीको जनमिलिसियाको स्वामित्वमा रहेको जमिनमा खेती, भोजनालय, उपभोग, स्वामित्व सबै सामूहिक हुनुलाई कम्युन भनिन्थ्यो। सन् १९४९ देखि १९८० सम्म यहाँ कम्युन असाध्यै लोकप्रिय थियो। कम्युन नभएका कुनै स्थानीय निकाय नै थिएनन्। यस अवधिका चिनियाँ साहित्यमा कम्युन र जनमिलिसियाको उच्च बखान गरिएका हुन्थे। नेपाली भाषामा पनि अनुवाद भएका ती रचना नेपालका कम्युनिस्का लागि करिश्मा बनेका थिए।
सन् १९८० ताका लेखिएका चिनियाँ कृतिको प्रभाव नेपालमा अझै गाढा छ। विशेषगरी कम्युनिस्ट विचार बोक्ने नेता/कार्यकर्ताका लागि कम्युन गीता मन्त्रजस्तै बनेको थियो। वि.सं. २०५२ मा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहले कम्युनको नारालाई थप सौन्दर्य प्रदान गर्यो। माओवादी नेता गिरिराजमणि पोखरेलको पहलमा स्थापित कम्युन अझै सञ्चालनमा रहेको यदाकदा सुनिन्छ। चीन आउँदा नेपालका माओवादी पृष्ठभूमिका नेता कम्युन हेर्ने चाहना राख्छन्।
बेइजिङमा भेट भएका बेला देव गुरुङले एकपटक भनेका थिए, ‘मलाई कम्युनमा पुगेर प्रत्यक्ष अवलोकन गर्ने इच्छा छ, तर खै कसरी जाने होला?’
लालबाबु पण्डितले पनि बेइजिङ आउँदा भनेका थिए, ‘चिनियाँ कम्युनजस्तै हामीले पनि कृषि क्रान्ति गर्न सकिन्छ कि?’
नेताद्वय गुरुङ र पण्डितले जस्तै त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त इलामका धरणी गौतम र दाङका पुराना शिक्षक तुलसीराम अधिकारीले पनि चिनियाँ कम्युन हेर्ने तीव्र इच्छा प्रकट गरेका थिए।
पंक्तिकारलाई पनि कम्युन हेर्ने इच्छा त्यस्तै थियो, तर मौका मिलिरहेको थिएन। सुधार र खुलापनका प्रवर्तक तङ स्याओ फिङले सरकारीकरण गरिएका घरजग्गा नागरिकलाई नै फिर्ता गर्ने नीति ल्याए। कम्युनमा काम गर्दा सयौं मान्छे एकैचोटि भेला हुने भएकाले कसले कति काम गर्यो मूल्यांकन गर्न गाह्रो हुने भएकाले चीनमा खाद्यान्न संकट चरमचुलीमा पुगेको थियो। काम नगर्ने, खानचाहिँ पेटभरि चाहिने परम्पराले कम्युनलाई ठग्ने चौतारोमा परिणत गर्दै लगेको थियो। चीनमा सुधार र खुलापन सुरु भएपछि नागरिकले निजी सम्पत्ति राख्न तथा कर तिरेर धन कमाउन पाइने, सहकारीबाट नाफामूलक उद्योगधन्दा तथा व्यापार चलाउन सकिने नीति अगाडि सारियो। तङ स्याओ फिङको यही नीतिले चीनको अर्थतन्त्र फड्को मार्दै अगाडि बढ्यो। यसैलाई चिनियाँ चरित्रको समाजवादी अर्थ व्यवस्था भन्ने गरिएको हो।
चीनमा बसेर काम गर्दा विभिन्न प्रान्तमा गएर गरिबी निवारणसम्बन्धी कार्यक्रम नजिकैबाट नियाल्ने मौका पाइयो। स्थानीयस्तरमा सञ्चालित होमस्टे, विभिन्न सीप विकासका कार्यक्रम, सहकारीबाट सञ्चालित उद्योगधन्दा, डिजिटल वाणिज्य देख्न पाइए पनि कम्युन कहिल्यै हेर्न पाइएको थिएन।
यही मार्च २५ तारिख भने राजधानी बेइजिङको केन्द्रमै कम्युन अवलोकन गर्ने अवसर प्राप्त भयो। तेस्रो चक्रपथभित्र रहेको कम्युन हेर्न जाँदा म उत्साही त थिएँ नै, केकस्तो होला भनेर विभिन्न कल्पना पनि गरिरहेको थिएँ। ‘सामूहिक खेती, उत्पादन ब्रिगेडियरले सञ्चालन र नियन्त्रण पद्धति’ यस्तै कुरा दिमागमा खेलिरहेको थियो।
हामी चढेको ट्याक्सी एउटा भव्य रेस्टुरेन्टअगाडि रोकियो। जहाँ माओ चतुङको पुरानो ठूलो पेन्टिङ थियो। रेस्टुरेन्टको ढोकामाथि राता अक्षरमा चिनियाँ भाषामा लेखिएको थियो– जनकम्युन फलामको बोल अर्थात् पिपुल्स कम्युन आइरन बोल। चिनियाँ सहकर्मी ललिता, हिमा र प्रतिभाको पछि लागेर म रेस्टुरेन्टभित्र छिरें। हिमाले भनिन्, ‘कम्युनलाई सांकेतिक रूपमा बोकेको यही रेस्टुरेन्ट नै आजको हाम्रो गन्तव्य हो।’ उनको कुराले म खङ्ग्रङ्गै भएँ।
भव्य रेस्टुरेन्टको सजावटमा भिन्न रूप देखियो। मकैका झुत्ता। ठाउँठाउँमा पुराना लालटिन। चीनका पुराना बाजागाजासहित बाँसबाट बनेका विभिन्न घरायसी औजार। जसले ५० वर्षअगाडिको चिनियाँ समाज सम्झाउँथे। रेस्टुरेन्टको भित्रपट्टि ठाउँठाउँमा माओका पेन्टिङ र तस्बिर टाँसिएका थिए। काँचो इँटाबाट बनाइएका पर्खाल नै बस्ने सिट थिए। भित्तामा सन् १९८० को दसकमा प्रकाशित पिपुल्स डेली पत्रिका टाँसिएको थियो। संयुक्त राष्ट्र संघमा चीनले भिटो अधिकार पाएको समाचार प्रथम पृष्ठमा छापिएको रहेछ। टेबुलमा राखिएका कपमा पनि माओको तस्बिर प्रिन्ट गरिएको रहेछ।
हामी बसेपछि रेस्टुरेन्टकी परिचारिकाले मेनु ल्याएर टेबुलमा राखिन्। कभर पृष्ठमा माओकै तस्बिर रहेछ।भित्रपट्टि माओको तस्बिरसँगै उनले लेखेको प्रख्यात् कविता पनि थियो। मैले मेनु ल्याउने युवतीलाई हेरें। उनको अनुहारले भन्दा पनि पोसाकले तान्यो। उनले लगाएको लुगा अन्य रेस्टुरेन्टका परिचारिकाले लगाउनेभन्दा फरक थियो। हरियो रङको खाकी, देब्रे छातीमा ताराभित्र माओको तस्बिरअंकित लकेट, सर्टको कलरमा रातो फित्ता। ओहो ! किताबमा पढेको जनमिलिया प्रत्यक्ष देख्न पाइयो।
रेस्टुरेन्टको संरचनाले कम्युनको झल्को दिँदै थियो। त्यो हेरेर कम्युनको कल्पना गरिरहेका बेला आएको खानेकुरा देखेर म थप रोमाञ्चित भएँ। सगरखण्ड, वन तरुल, बदाम, च्याउ, तामा, उसिनेको हरियो मकै आदि। माओ चतुङले चीनमा लङमार्च गर्दाको समयमा चिनियाँ जनमुक्ति सेनाले अत्यन्त कठिन अवस्था सामना गर्नुपरेको ललिता सुनाउँदै थिइन्। हजारौं किलोमिटर पैदल यात्रा गरेर लङमार्च गर्दा जनमुक्ति सेना भोकै पर्थे। त्यतिबेला उनीहरूका लागि खानेकुराका विकल्पमा घाँस, माटो मात्र हुन्थे। अवस्था यति विकराल थियो कि उनीहरूले आफूले लगाएको छालाको पेटी पानीमा भिजाएर खान्थे रे !
ललिताका कुराले मलाई निकै भावुक बनायो। त्यसो त लङमार्चमा मात्र होइन, सन् १९६० को दसकमा पनि निकै ठूलो खाद्यान्न संकट आइलागेको थियो। जतिबेला किसानका मुख्य खानेकुरा सगरखण्ड, वन तरुल, बदाम, च्याउ, तामा, उसिनेको हरियो मकै र कमलका जरा हुन्थे। तिनैको झल्को दिने खानेकुरा हाम्रा टेबुलमा थिए। चीनको उत्तरपूर्वी क्षेत्रमा खाइने विशेष प्रकारका अत्यन्त स्वादिष्ट खानेकुरा, तर निकै परम्परागत। खानाले पनि यति जीवन्त इतिहास बोक्ने रहेछ भन्ने कुरा मलाई पहिलोपट आभास भयो।
अहिले चिनियाँ नागरिकलाई मासु नभई खानै रुच्दैन। समृद्ध हुँदै जाँदा उनीहरूका भोजनालय पनि भरिपूर्ण हुन थाले। एक्काइसौं शताब्दी लागेपछि त धेरैजसो चिनियाँ घरमाभन्दा रेस्टुरेन्टमा रमाउन थाले। आफूलाई चाहिनेभन्दा बढी खानेकुरा अर्डर गरेर आधा छोडेर हिँड्नु इज्जत र प्रतिष्ठा हुन थाल्यो। सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि खाद्यान्न सुरक्षामा ध्यान दिन नागरिकलाई विशेष निर्देशन दिए। रेस्टुरेन्टमा खाना अर्डर गर्दा खान सक्ने मात्र गर्ने र उब्रिएको खानेकुरा घरमा लगेर अर्को दिन खान भनेपछि हिजोआज चिनियाँ नागरिक रेस्टुरेन्टबाट निस्किँदा बट्टामा खानेकुरा बोकेका हुन्छन्, चाहे ती प्रोफेसर अथवा उच्च व्यापारी किन नहुन्।
कम्युनको प्रत्यक्ष अवलोकन गर्न नपाए पनि रेस्टुरेन्टमा खाना खाने समयभित्रै चीनको लामो इतिहास बोकेको कम्युनलाई नजिकैबाट जान्ने मौका पाइयो। अबचाहिँ नेपालबाट आएका कम्युनिस्ट नेतालाई त्यही रेस्टुरेन्टमा लगेर चिनियाँ कम्युन देखाउने विचार गरेको छु।
प्रतिक्रिया