ad ad

ब्लग


जनसेनाप्रति ओलीको माया प्रचण्डलाई पल्टाउने कुटिल चाल मात्रै

जनसेनाप्रति ओलीको माया प्रचण्डलाई पल्टाउने कुटिल चाल मात्रै

हरिबहादुर श्रेष्ठ
माघ १३, २०७७ मंगलबार १०:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन्। पुष्पकमल दाहाल प्रचण्डले जहाँ कमजोरी गरेका थिए, त्यहीँ टेकेर ओली केही पूर्व जनमुक्ति सेनालाई आफूतिर तान्न प्रयासरत छन्। केही उनको पछि लागेका छन्।

‘लोकतान्त्रिक योद्धा’ सम्मान दिने निर्णय गराएका ओलीले हजारौँ जनमुक्ति सेनालाई हात लिन सकियो भने प्रचण्ड मात्र होइन, बाबुराम भट्टराईसहित तत्कालीन माओवादी नेताहरुलाई कमजोर पार्न सकिने विश्लेषण गरेका हुनसक्छन्। त्यसैले ओलीलाई एकाएक शान्तिप्रक्रियामा बेवास्तामा परेका जनमुक्ति सेनाको माया लागेर आएको देखिन्छ।

शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको व्यवस्थापनका विषयमा प्रचण्ड, मोहन वैद्य (किरण) र बाबुराम भट्टराईको बीचमा सहमति कायम हुन सकेन। किरणले जनमुक्ति सेनाको समायोजन गराउनु हुँदैन भन्ने अडान लिए। तर, प्रचण्ड र बाबुरामले जनमुक्ति सेनाको समायोजन गरेर व्यवस्थापन गर्न निर्णय गरेपछि किरणले पार्टी फुटाए। त्यो फुटको एउटा कारण हाम्रो जनमुक्ति सेनालाई हेर्ने दृष्टिकोणमा तीन नेताबीच एकरुपता कायम नहुनु पनि हो।

सेना समायोजनमा सबै नेताले कमजोरी गरे। किरणले जनमुक्ति सेनामा जुन दर्जा छ, नेपाली सेनामा त्यही दर्जामा समायोजन हुनुपर्ने कुरा उठाए। प्रचण्डले गिरिजाप्रसाद कोइरालाकै पालामा समायोजनको सहमति गरेका थिए। यता जुन दर्जा छ, त्यसैमा समायोजन गर्ने भन्ने सहमति भएको थियो। तर, प्रचण्ड त्यो अडानमा बस्न सकेनन्। गिरिजाको मृत्युपछि त यो प्रक्रिया नै रोकियो। र, पार्टीभित्र विवाद बढ्यो।

बाबुराम प्रधानमन्त्री भएपछि जनमुक्ति सेनाको समायोजन भयो। तर, त्यसमा धेरैले चित्त बुझाएनन्। समायोजनमा जानेभन्दा स्वेच्छिक अवकाश रोज्नेहरु बढी भए। समायोजनमा जानेहरुले पनि सहमति अनुसारको दर्जा पाएनन्। योग्यता र क्षमताको आधारमा छाती नापेर लगिने भएपछि थुप्रै निराश बने। हिजो युद्ध लड्दा बुर्जुवा शिक्षा भनेर किताब च्यातेर हिँडेका साथीहरुको कहाँबाट योग्यता हुन्छ? असन्तुष्टिको सुरुवात त्यहीँबाट भयो।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदैखेरी समायोजन गरेको भए जनमुक्ति सेनाको भविष्य राम्रो हुन्थ्यो। तर, त्यसो भएन। त्यतिमात्र होइन, बहिर्गमनबाट निस्केकालाई समेत कुनै वास्ता गरिएन। उनीहरु अलपत्र भए।

प्रचण्डले सुरुमै यो काम गरेको भए उनीहरु आफ्नै दर्जाअनुसार जान पाउँथे। अहिलेजस्तो अलपत्र पर्नुपर्ने थिएन। तर, प्रचण्ड, किरण र बाबुरामबीच यो विषयमा उचित सहमति नै भएन। किरण अझै लड्नुपर्छ भन्ने, बाबुराम अब शान्तिपूर्ण रुपमा अधिकार प्राप्ति गर्दै जानुपर्छ भन्ने। यसरी दुई धार देखा पर्‍यो। सोही विवादका कारण किरणले पार्टी फुटाए। विप्लव अहिले पनि सेना बनाउँदै हिँडेका छन्। उनी अझै युद्ध लड्ने मनस्थितिमा देखिन्छन्।

शान्तिप्रक्रियामा आएर पहिलो पटक प्रधानमन्त्री भएदेखि नै प्रचण्डले जनमुक्ति सेनालाई कम महत्व दिएको देखिन थाल्यो। किनभने उनको भूमिका जति हुनुपर्थ्यो, त्यति भएन। त्यसैले साथीहरु छिन्नभिन्न भए। नत्र प्रचण्डले एकपटक निर्देशन दिएपछि जनमुक्ति सेना सबै एकै ठाउँमा उभिन्थे। अहिले त्यो अवस्था छैन, कारण उनले जनमुक्ति सेनाको हिजोको योगदान बिर्सिए।

प्रचण्डले सेनाबाट निस्केकाहरुको व्यवस्थापन कहीँ कतै गरेनन्। न त जिल्ला पार्टीमा जिम्मेवारी दिइयो, न त कुनै जनवर्गीय संगठनमा नै उनीहरुले अवसर पाए। न राज्यका निकायमा उनीहरुलाई ठाउँ दिइयो। प्रचण्डको नजिक रहेका केहीले अवसर पाएका छन्। अवकाश लिएर निस्केकाहरुको पुरै बेवास्ता गरियो। प्रचण्डसँग अहिले सेनाका साथीहरु रिसाउनुको मुख्य कारण नै त्यही हो।

मलाई पनि जिल्लाको कमिटीमा पनि राखिएन। कुनै जिम्मेवारी दिइएन। यो बाह्रतेह्र वर्षको अवधिमा प्रचण्डलाई प्रचण्ड बनाउने सेनालाई उनले बिर्सिए। एकाध कमान्डरबाहेक युद्धमा लडेका जनमुक्ति सेनाहरुको पहुँचमा प्रचण्ड थिएनन्। भेट्ने, उनीहरुको समस्या सुन्ने काम पनि प्रचण्डबाट भएन।

यतिसम्म कि घाइते, अपाङ्गता भएका साथीहरुले प्रचण्डलाई भेट्न धर्ना दिनुपर्ने अवस्था आयो। उनीहरुको जीविकोपार्जन निकै कठिन हुँदै गयो। अहिले थुप्रै साथीहरु विदेश जान बाध्य छन्। 

प्रचण्ड दुईपटक प्रधानमन्त्री भए, बाबुराम एक पटक भए। तर, आफैँ सरकारमा भएका बेला पनि उनीहरुको पक्षमा कामै भएन। योजना नै बनाइएन। संघीय गणतन्त्र ल्याउन प्रमुख भूमिका खेल्ने जनमुक्ति सेनालाई पार्टी नेतृत्वबाट वास्ता नगर्दा अहिले कोही कता कोही कता जानुपर्ने बाध्यता परेको हो।

अब यो व्यवस्था जोगाउन पूर्व जनमुक्ति सेना एकजुट हुनुपर्ने अवस्था छ। कति जोडिँदै छन्, कतिलाई जोड्न पर्ने छ। प्रचण्डसँग असन्तुष्ट साथीहरु केपी ओलीसँग मिसिन गएका छन्। ओलीले उनीहरुलाई तान्न आर्थिक प्याकेजको लोभ समेत देखाइरहेका छन्।

ओलीले लोकतान्त्रिक योद्धाको सम्मान दिने निर्णय नारामै सिमित हुनेछ। यो उनले प्रचण्डलाई पल्टाउन चालेको कुटिल चाल मात्र हो। आफूलाई बलिया देखाउने र प्रचण्डलाई कमजोर तुल्याउने प्रयास मात्रै हो यो। नत्र गणतन्त्र ल्याउन कुनै भूमिका नखेलेका ओलीलाई अहिले जनमुक्ति सेनाको माया किन लाग्छ?

जनयुद्धमा बलिदान गर्ने साथीहरु ओलीको चाल नबुझेर उनीतिर लागेका छन्। जुन दिन उनीहरुले बुझ्ने छन्, त्यो दिन साथीहरु फर्किन्छन्।

तर, पूर्व जनमुक्ति सेनाका साथीहरु अहिले ओलीको चालमा फस्दा त्यसको दीर्घकालिन प्रभाव पर्छ। साथीहरु छिन्नभिन्न हुने, एकअर्काका विरुद्ध प्रयोग हुने खतरा बढ्छ। गणतन्त्र ल्याउन ज्यान फालेर हिँडेका साथीहरु आपसमा लड्नुपर्ने अवस्था आयो भने के हुन्छ? गणतन्त्र रहन्छ? ओलीले यहीँनेर खेल्न खोजेका छन्।

यसलाई रोक्न प्रचण्ड र बाबुरामको भूमिका महत्वपूर्ण हुन्छ। उनीहरुले रोक्नैपर्छ।

हिजो गरेको गल्ती, कमजोरी सच्याएर अन्यायमा परेका साथीहरुलाई न्याय दिलाउने, अवसर दिलाउने र घाइते अशक्त साथीहरुको जीविकोपार्जन गर्नेगरी काम सुरु गर्नुपर्छ। प्रचण्डसँग जनमुक्ति सेनाका साथीहरु निकै चिढिएका छन्। निकै अपमानित महसुस गरेका छन्।

प्रचण्डलाई भेट्न नपाउने, उनको वरिपरिका कमान्डर मात्र प्रचण्डसँग दैनिक उठबसमा हुने, अवसर तिनैले पाउने जुन व्यवहार छ, त्यसलाई परिवर्तन गर्नैपर्छ।

मुख्यगरी जनमुक्ति सेनाका साथीहरुको विवरण लिएर उनीहरुसँग रहेको क्षमताका आधारमा राजनीतिक, आर्थिक क्षेत्रमा लगाउन पर्छ। अब पनि पैसा मात्र दिएर हुँदैन। पैसा कमाउने योजनामा सामेल बनाउनुपर्छ। घाइते, अपांगता भएकाहरुलाई हेर्नुपर्छ।

१० वर्षसम्म बेवास्ता गरिएका साथीहरु त्यति सजिलै आइहाल्ने सम्भावना छैन। त्यही कारण स्पष्ट योजना चाहिन्छ। अब कार्यक्रम नभई ती साथीहरुलाई समेट्न सकिँदैन। किनभने कोही ठेक्कापट्टातिर लागेका छन्, कोही विप्लवतिर छन्। समस्या परेपछि जस्तोसुकै काम पनि गरिरहेका होलान्।

जति वर्षको दुरी भए पनि प्रचण्ड, बाबुराम र किरणहरुले बोलाएपछि साथीहरु फर्किन्छन्। आफूलाई अन्याय परेको छ, आर्थिक रुपमा कमजोर भइएको छ भने प्रचण्ड, बाबुरामको बखान गाएर मात्र त जीविकोपार्जन चल्दैन। अहिलेको अवस्थामा जीविकोपार्जनको कुरा पनि त उत्तिकै महत्वपूर्ण हो नि।

तर, ओलीले क्षणभरका लागि मात्रै उनीहरुलाई साथ लिन खोजेका हुन्। उनको यो रणनीतिक चाल हो। केपी ओलीले आश्वासन दिएका होलान्, तर उनी आफैँ गणतन्त्रको पक्षमा छैनन्। गणतन्त्र नचाहने ओलीले पूर्वजनमुक्ति सेनाको संरक्षण गर्न सक्दैनन्, गर्न चाहँदैनन्।

(हरिबहादुर श्रेष्ठ (प्रमोद) तत्कालीन माओवादीको जनमुक्ति सेनाको दोस्रो डिभिजनको उपकमान्डर थिए)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .