हङकङबाट अङ्ग्रेजी भाषामा प्रकाशित साउथ चाइना मर्निङ पोस्ट १ सय २२ वर्षदेखि निरन्तर चर्चित र जेठो दैनिक स्थानीय पत्रिका हो।
यसले अहिलेसम्म झन्डै ४४ हजार ५ सय ७० अंक पूरा गरेको बताइन्छ। व्यावसायिक होस् वा व्यक्ति विशेष, यसमा आउनु छाउनु निकै महत्त्वपूर्ण मानिन्छ हङकङमा। यस्तो ऐतिहासिक विरासत बोकेको मिडियाको सप्लिमेन्ट योङ पोस्टमा हङकङमा जन्मे-हुर्केकी जेनजी पुस्ताकी नेपाली छोरी निपुण केसी क्षेत्रीको अन्तर्वार्ता छापियो। यो पढेपछि मैले उनीसँग कुराकानी गरेर लेख लेख्ने सोचाइ गरे पनि समयाभावले मिलेको थिएन।
हालसालै उनीसँग वार्तालाप गरेर लेख्ने सुरसार गर्दैगर्दा म हङकङमा यस्तै विषयको एउटा ऐतिहासिक क्षणको केही गम र केही कौतुहलतामा घुमेँ केही बेर।
करिब १५ वर्ष अगाडिको एक बिहान हङकङ उच्च न्यायालयको एउटा सभाहलमा वरिष्ठ सोलिसिटर पौल फरमिनले मुख्य न्यायाधीश जेफरी मा ताउ लीलाई अङ्ग्रेजी भाषामा लेखिएको एउटा पत्र पढेर प्रस्तुत गर्दाको समय सम्झँदा सधैँ गर्व महसुस हुन्छ। जसको नेपाली भावानुवाद यस्तो थियो–
‘माइ लर्ड, आज मलाई यो सम्मानित अदालतमा प्रस्तुत हुन पाउँदा अति नै खुसी लागेको छ। यद्यपि, मैले यो स्थानमा यस्ताखाले दर्जनौँ पत्र पहिला पनि प्रस्तुत गरिसकेको छु। तर, आज भने मलाई विशेष लागेको छ किनभने आज म श्री एकनारायण शर्मालाई जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको सोलिसिटरमा नियुक्त गरियोस् भनेर श्रीमान् समक्ष अनुरोध गर्दछु।
म यो सम्मानित अदालतमा गर्वसाथ के पनि भन्न चाहन्छु भने, श्री एकनारायण शर्मा हङकङ बसोबास गर्ने नेपाली समुदायमध्येबाट सबैभन्दा पहिलो योग्य सोलिसिटर बन्नुभएको छ।
त्यसैले, आज यो सभाहलमा आधाभन्दा बढी नेपालीको उपस्थिति छ। जसमा हङकङका लागि नेपाली महावाणिज्यदूत पनि हुनुहुन्छ।
श्री शर्माले हङकङबाट यससम्बन्धी सम्पूर्ण आवश्यक परीक्षा र प्रक्रिया पूर्ण रूपमा पूरा गरिसक्नुभएको छ र उहाँ योग्य हुनुहुन्छ। अब म उहाँलाई हङकङ विशेष प्रशासनिक एकाइको सोलिसिटरमा नियुक्ति दिइयोस् भनेर श्रीमान् समक्ष अनुरोध गर्दछु।
माइ लर्ड, मैले यो पत्र दर्ता गरेँ। यससम्बन्धी कुनै जिज्ञासा भए स्पष्टीकरणको लागि म तयार छु सधैँ।
पौल फरमिन
सन् २० मार्च २०१०’
यसरी सहजकर्ता सिनियर सोलिसिटर पौल फरमिनले यो अनुरोध पत्र पढेर दिएपछि यी मुख्य न्यायाधीशले एकनारायण शर्मालाई सपथ खुवाए। अनि उपस्थित हामी सबैले करतलध्वनिका साथ ताली बजाइरहँदा न्यायाधीश जेफरी लीले पनि खुसी भएर चारैतिर निकैबेर हेरे त्यो दिन।
एकनारायण शर्मापछि हङकङको उच्च न्यायालयमा उल्लेख्य शैलीको शपथ लिनेमा नेपालीमूलका सोलिसिटर सहदेव राई र रिगम राई थपिएका छन्।
कुनै समय कानुनी परामर्श कार्यालयमा आबद्ध भएर लामै समय हङकङलाई कर्मथलो बनाएका अर्का नेपाली उत्तरमान तिगेला लिम्बू बेलायत बसाइँ सरेपछि लन्डनबाटै सोलिसिटर पास गरेर त्यहीँ नै यो पेसामा आबद्ध छन्। मलाई जानकारी भएअनुसार हङकङमा यो क्षेत्रमा नेपालीमूलका अरू अहिलेसम्म छैनन्।
यद्यपि हङकङमा डाक्टर, क्वालिफाइड नर्स, इन्जिनियर, आईटी, शिक्षा क्षेत्र अर्थात् क्वालिफाइड अङ्ग्रेजी र अन्य शिक्षक, चार्टर्ड एकाउन्टेन्ट, फाइनान्स, पीएचडी रिसर्चरसम्म पहिलो, दोस्रो र जेनजीसम्मका नेपाली पुस्ता पुग्दै गरे पनि अन्य दक्षिण एसियाली देश खासगरी भारतीय, पाकिस्तानीको तुलनामा नेपाली कानुन क्षेत्रमा अझै न्यून वा झिनो उपस्थित किन?
यो प्रश्नमा सोलिसिटर शर्मा यसबारे यसरी व्याख्या गर्नुहुन्छ–
‘मुख्यत: भारतीय र पाकिस्तानीको हङकङमा सयौँ वर्षको इतिहास छ। उनीहरू ब्रिटिस शासित देश र क्षेत्रका थिए त्यो बेला। जसको कारणले शिक्षादीक्षा र खासगरी अङ्ग्रेजी भाषाको दखलमा उनीहरू निकै अगाडि थिए।
इतिहासको कुनै कालखण्डमा रेलको लिग ओछ्याउनेदेखि जग्गा नापीसम्मको लागि यो मूलका पुस्तालाई हङकङमा ल्याइएको थियो वा आएका थिए। कलकत्ता-हङकङबीच पानीजहाजमा व्यापारिक आवतजावत हुन्थ्यो। उनीहरूको पछिल्लो पुस्ता हङकङमा सोलिसिटर, वरिष्टरदेखि अदालतका न्यायाधीशसम्ममा पुगिसकेका छन् खासगरी भारतीयमूलका। पाकिस्तानीमूलका पनि चर्चित सोलिसिटर वरिष्टरहरू छन्।
तर, यो क्षेत्रमा उही ब्रिटिस शासित देशहरू श्रीलंङ्कनमूलको एकदमै न्यून उपस्थिति र बङ्गलादेशीमूलका त झन् छैनन् भन्दा पनि हुन्छ।
जबकि हामी आमनेपालीको हङकङमा बसाइँ सराइको बल्ल ३०/३५ वर्ष पुग्दै छ। दोस्रो कुरा, कानुनमा स्नातक गरेपछि पीसीएलएल (पोस्ट ग्य्राजुएट सर्टिफिकेट अन ल) पढ्नको लागि कोटा निकै कम र निकै राम्रो अंक ल्याउन अनिवार्य हुनुपर्ने कारण पनि हो।
अर्को कुरा, कमनवेल्थ देश अर्थात् कुनै पनि पूर्वब्रिटिस उपनिवेश देशका अधिवक्ताले निश्चित समयसम्म आफ्नो देशमा प्राक्टिस गरेर हङकङमा लाइसेन्स लिन चाहेमा हङकङ ल सोसाइटीमा दिइने परीक्षामा मुख्य पाँचमध्ये दुई/तीन विषय मात्रको लागि अनुरोध गर्न सक्छन् र हुन्छ। जबकि हामीले नेपालमा पूरा पाँच वर्ष अधिवक्ता प्राक्टिस गरेर हङकङमा आयौँ भने यहाँको ल सोसाइटीको परिक्षामा पाँचमा पाँचै विषय उत्तीर्ण गर्नु पर्छ। हामी मात्र होइन, फ्रान्स, जर्मनी, चीन वा अन्य कुनै पूर्वब्रिटिस आधिपत्यमा नरहेका देशका अधिवक्ताको हकमा समेत हाम्रोजस्तै नियम लागु हुन्छ।’
अहिले हङकङमा जेनजी पुस्ताका नेपाली विद्यार्थी यो विषयमा अध्यनरत पनि छन्। कतिपय नेपाली अभिभावक र विद्यार्थी कानुन विषयको पढाइबारे आफूसँग परामर्श लिन आएको बताउँदै अबको एक/दुई दशकमा अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि नेपालीमूलको उल्लेख्य उपस्थिति हुनेमा सोलिसिटर शर्मा आशावादी हुनुहुन्छ।
लेखको सुरुमा चर्चा गरिएको, साउथ चाइना मर्निङ पोस्टको सप्लिमेन्ट योङ पोस्टकी पत्रकार क्याथरिन जोर्दानोले ‘हाउ हङकङस् नेक्स्ट जेनेरेसन अफ इथ्निक माइनरिटी लयर इज बिटिङ स्टेरियोटाइप’ शीर्षकमा निपुण केसीसँगको कुराकानीमा आधारित रिपोर्टले निकै चर्चा पायो म जस्ता पाठकबीच।
शीर्षकको मुख्य हाइलाइट नै हङकङमा अल्पसंख्यक समुदायका नयाँ पुस्ता हाइस्कुलपछि जागिर र अझ छोरीहरूको हकमा विवाह गरिदिने अनि हाउस वाइफ भन्ने भाष्य नै निपुण केसीले परिवर्तन गरिदिइन् भन्ने आशयको थियो।

त्यसपछि उनी एकाएक नेपाली र स्थानीय समुदायमाझ चर्चासहित चिनिइन् पहिलो पटक। जतिबेला उनले सिटी युनिभर्सिटी हङकङबाट कानुनमा स्नातक उत्तीर्ण गरेर भर्खरै पीसीएलएल अर्थात् ‘पोस्ट ग्य्राजुएट सर्टिफिकेट अन ल’ परीक्षा उत्तीर्ण गरेकी थिइन्।
हाल उनी हङकङको काउलुनमा रहेको ‘जोन एम पिकभेन एन्ड कम्पनी’ नामक ल फर्ममा प्रशिक्षार्थी सोलिसिटरमा कार्यरत छन्। उनले अबको केही महिनापछि हङकङ उच्च अदालतको न्यायाधीशबाट माथि उल्लेख गरिएजस्तै जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको सोलिसिटरको रूपमा सपथ लिनेछिन्।
साथै, निपुण केसी क्षेत्रीले हङकङेली नेपाली जेनजी पुस्ताबाट पहिलो सोलिसिटरको रूपमा समेत आफ्नो अभिलेख दर्ज गर्नेछिन्। उनलाई यो उचाइसम्म पुर्याउने उनको एकेडेमिक यात्राबारे चर्चा गरौँ पहिला।
हङकङका आम निम्नमध्यम वर्गीय परिवारका सर्वसाधारणले पढ्नेजस्तै कजवे बेमा रहेको ‘पोलोङ कोक किन्डर गार्डेन’ उनको पहिलो शिक्षाको खुड्किलो थियो। त्यसपछि त्यहीँको अर्को ‘सर एलिस कदुरी’बाट प्राइमरी शिक्षा साधारण ग्रेडमा पास गरिन्।
त्यतिबेलासम्म उनको दिमागमा पढ्न मिहिनेत नगरे, अब्बल नभए हङकङमा भविष्य बन्दैन भन्ने सोचाइ आइसकेको थियो। हङकङका ‘ईएसएफ’ जस्ता महङ्गा स्कुल र ट्युसन सेन्टरमा अतिरिक्त कक्षा पढाउन सक्ने उनका बाबा-आमाको हैसियत थिएन त्यो बेला।
त्यसपछि क्वुनतोङको आमअल्पसंख्यक विद्यार्थी बाहुल्य ‘डेल्या हिप्पो’ स्कुलबाट सेकेन्डरी पास गर्दा भने उनी टप टेनमा अटाउन सफल भइन्।
अनि, हङकङ युनिभर्सिटी स्पेसमा एक वर्ष अध्ययन गरेर एसोसिएट डिग्री इन ल हासिल गरिन्। जहाँ उनले ‘एकेडेमिक एक्सिलेन्स प्रिन्सिपल अनर लिस्ट बाइ एचकेयू स्पेस’ भनिने अवार्डसमेत थापिन्। त्यसपछि सिटी युनिभर्सिटी हङकङबाट चार वर्षको अध्ययनपछि एलएलबी अर्थात् कानुनमा स्नातक गरिन्।
पीसीएलएल पढ्न योग्यता पुगे पनि हङकङ विश्वविद्यालयको खर्च झन्डै सवा दुई लाख हङकङ डलर थियो। सोही समयमा उनका दाइले कम्प्युटर इन्जिनियरिङमा साइबर सेक्युरिटी अध्ययन गर्दै रहेछन्।
अनि उनले, बाबाआमालाई थप आर्थिक भार थप्नुभन्दा आफूचाहिँ काम गरेर कमाएरै उच्च शिक्षा पूरा गर्ने अठोट लिइन्। र, पढाइमा ब्रेक लिएर काम गर्न थालिन्– आफ्नै एकेडेमिक प्रोफेसनमा।
एमसीएलाई सोलिसिटर, पिटसेन मासन, चेम्बर अफ रोनी वङ, डेलि एन्ड एसोसिएट, मायर ब्राउन, डच बैंक, मिस्टर के चेन एडमिराल्टी चेम्बर, लिङ्क लेटर्स र माइग्रेसिया जस्ता हङकङमा नाम चलेका सोलिसिटर फर्म तथा अन्य थुप्रैमा कतै पारालिगल फुल टाइम त कतै पार्ट टाइम, कतै फुर्सदमा अनुभवको लागि भने पनि काम गरेर उच्च शिक्षा पढ्ने खर्चको जोहो गरिन्। आफ्नै कमाइको खर्चमा पीसीएलएल उत्तीर्ण गरिन्। उनको यो डेडिकेसन अनि मिहिनेत देखेर जुभिन फाउन्डेसन हङकङ र युनिसन हङकङले अल्पसंख्यक विद्यार्थीमध्येबाट उनलाई अवार्ड सम्मान प्रदान गर्यो।

निपुणले यो विषय र पेसा रोज्नुको कारण के हो?
मेरो प्रश्नमा निपुणले यसरी सविस्तार वर्णन गरिन् –
‘कुनै समय मलाई कानुनी सहयोग र परामर्श चाहिँदा मैले आफ्नै मूलको भाषा र समस्या बुझ्ने वकिल खोज्दा पाइनँ। अहिले जम्माजम्मी तीन जना मात्र अग्रजहरू हुनुहुन्छ यो क्षेत्रमा।
यद्यपि, नेपालीमूलका कन्सलटेन्सी थुप्रै थिए र छन् अझै। उहाँहरू आफैँ योग्य सोलिसिटर होइन र उहाँहरूले लाने भनेको विदेशीमूलका सोलिसिटर भएको ल फर्ममा हो। खासगरी वकिल वा डाक्टर उही भाषा बोल्ने भएमा सेवाग्राही वा बिरामीको समस्या बुझ्न र समाधान हुन सजिलो हुन्छ भन्ने लाग्छ मलाई।
हङकङमा परिश्रम गरेर जीविकोपार्जन गर्ने, साधारण नेपाली मात्र लेखपढ गर्न जान्ने बाबाआमाकी छोरी म। मैले धेरै घनचक्कर काटेँ। अनि, विभिन्न गैरसरकारी संस्था हुँदै मार्क डेली भन्ने ल फर्म पत्ता लगाएर मेरो समस्या समाधान गरेँ। त्यसपछि मेरो मनमा म आफैँ कानुन विषय किन नपढ्ने? वकिल किन नबन्ने? भन्ने मनस्थितिमा आयो र अठोट गरेँ।
अर्को कुरा, म अलि फरक स्वभावकी छु। अन्याय नसहने, आ~होस्, भैगयो भन्नुभन्दा चित्तबुझ्दो कारण जान्नै पर्छ भन्ने लाग्छ मलाई।
यो क्षेत्रमा भविष्य पनि राम्रो देखेँ। खासगरी मेरो भविष्यको मार्केट नेपालीमूल वा दक्षिण एसियाली समुदाय मात्र होइन, स्थानीय चिनियाँ पनि हुन्। जो मेरोमा आउन सक्छन्। किनभने, म उनीहरूको भाषामा पनि दक्ष र पोख्त छु।
क्यान्टोनिज सिक्न एकदम गाह्रो छ। फेरि, हङकङमा जताततै अङ्ग्रेजी चलिहाल्छ भन्ने पुराना मात्र होइन, नयाँ पुस्ता पनि छन्।’
अनि आफूले चाहिँ भाषा कसरी सिकेको त?
जवाफमा उनले भनिन्, ‘हो हरेक मान्छेलाई आफ्नो मातृभाषाभन्दा बिल्कुलै फरक खालको वा अन्य देशको भाषा सिक्न गाह्रो नै हुन्छ। यदि त्यो आफ्नो भविष्यको लागि महत्त्वपूर्ण छ भने सिक्न कत्ति पनि अल्छी गर्नु हुँदैन। मेरो भाग्य नै भन्छु, सायद मेरो बाल्यकालको परिवेशले मलाई यो भाषा सिकायो।’

कसरी? मैले सोधेँ।
उनले थपिन्, ‘बाबाममी हप्तामा ६ दिन काममै हुनुहुन्थ्यो। दाइ बास्केटबलप्रेमी। समय मिल्यो कि पार्कको ग्राउन्डमा गइहाल्ने। अहिले जस्तो स्मार्ट फोन वा छ्यासछ्यास्ती टेलिभिजन च्यानल थिएनन्। म घरमा एक्लै बोर हुन्थेँ। हङकङका सम्पन्न परिवारको जस्तो घरभरि खेलौनाका चाङ वा अरू इन्टरटेनमेन्टको साधन थिएन। म अपार्टमेन्टबाट तल ओर्लन्थेँ। हामी बसेको भवनको सेक्युरिटी गार्ड अङ्ग्रेजी बोल्दैनथे, जो मेरो पहिलो क्यान्टोनिज भाषाको गुरु बने। टुटेफुटेको संवाद उनीसँगै सुरु भयो आउँदा-जाँदा, कहिले बसेर कहिले उभिएर।
घरमुनि अर्की स्थानीय महिलाको मोबाइल पसल थियो। टुटेफुटेको भाषा बोल्दा नै उनले मलाई मन पराउन् थालिन्। उनकोमा जाने अङ्ग्रेजी बोल्ने ग्राहकको दोभाषे बन्नेदेखि मोबाइल सेटिङ गर्ने र काममा पनि सहयोग गरिदिन्थेँ। आक्कल-झुक्कल १०/२० डलर चकलेट खाउ भनेर दिन्थिन् पनि। अनि म मक्ख भएर झन हौसिएँ। मेरो क्यान्टोनिज भाषामा अझै सुधार भयो।
ब्राउन कलरको एउटी विदेशीमूलको फुच्ची केटीले यसरी उनीहरूको भाषा बोलेपछि कजवे बेको त्यो हामी बसेको घरको स्ट्रिटभरिका सबै पसलेले मलाई चिन्न थाले। अझ चाइनिज नयाँ वर्षमा त मलाई चाङ लाइसी (रातो खामभित्र दिइने पैसा) पो आउन थाल्यो।
अनि म स्कुलका चिनियाँ सहपाठीसँग झनै घुलमिल हुन थालेँ। उनीहरूसँग अङ्ग्रेजीभन्दा क्यान्टोनिजमै वार्तालाप गर्दा झनै झुम्मिन्थे मसँग।
बाबाममीले दिएको दैनिक पकेट मनीबाट दाइलाई थपिदिन्थेँ। मलाई कम पर्थ्यो। अनि गर्मी बिदा वा लामो छुट्टी भयो कि पार्ट टाइम जब गर्न थालेँ। भाषाको कारणले सजिलो भयो मलाई। मैले हङकङको ह्याप्पी भ्यालीका दर्जनौँ ठाउँमा पार्ट टाइम काम गरेँ। स्थानीयमूलका सहकर्मी र ग्राहकसँगको समीपताले भाषा अझै तिखारियो। यसै कारणले म आकर्षणको केन्द्रबिन्दु पो भएँ।
त्यसपछि मलाई बोल्न मात्र होइन, लेख्न-पढ्न पनि सिक्नै पर्छ भन्ने लाग्यो र स्कुलमा अझ मिहिनेत गरेँ। जीसीएसई परीक्षामा ए प्लस ल्याएर पास गरेँ। धाराप्रवाह यो भाषा लेख्न/पढ्न सक्ने भएको त धेरै भयो।’
बाबाआमाप्रति गुनासो वा दु:ख लाग्दैन? सानै उमेरदेखि यस्तो सङ्घर्षपूर्ण दैनिकी हुँदा? मैले अर्को प्रश्न तेर्स्याएँ।
‘लाग्थ्यो, जतिबेला म अल्लारे थिएँ। किनभने, हरेक सप्ताहन्त साथीहरू बाहिर ह्याङआउट हुन जाने, म चाहिँ काममा। तर, त्यही कारणले पो मेरो भाग्य खुल्यो भन्ठान्छु अहिले चाहिँ। पहिलो त, मैले माथि भनेजस्तै स्थानीय भाषा अझै सिकेँ। अर्को, मलाई वालछ्याल पकेट खर्च दिएर ल छोरी इन्जोय गर भनेको भए आज म हङकङको अड्डा-अदालत र साउथ चाइना मर्निङ पोस्टमा अटाउदैनथेँ। सायद कहिल्यै।’
उनी थप्छिन्, ‘बाबाममीको जीवनको खुला किताब मेरो प्रेरणाको स्रोत बन्यो। जब म बुझ्ने हुन थालेँ तब बुझेँ– कसैलाई धाक लाउने र ढाँट्ने बानी पटक्कै छैन उहाँहरूको।’

उमेरले जेनजी तर अनुभव र विचारको प्रस्तुति परिपक्वतामा जेड जेनेरेसन लाग्ने निपुण केसीसँगको मेरो वार्तालाप एकटकले सुनिरहेका उनका बुवा मनबहादुर केसीलाई कस्तो लाग्यो छोरीको विचार? अनि तपाईँको विगत छोटकरीमा भन्नुस् न भन्दा केही भावुक हुँदै भने–
‘दुर्गम गाउँ बाग्लुङको बलेबामा जन्मे-हुर्केँ। तीन कक्षा पढ्दै गर्दा भागेर दिल्ली पुगियो साथीभाइको लहैलहैमा। एउटा होटलमा वेटरको काम गर्थेँ। एकदिन हङकङबाट कामदार खोज्न गएका भारतीय साहुजीसँग भेट भयो त्यही रेस्टुरेन्टमा। सायद म उनलाई मन पर्यो अनि हङकङ लिएर आए।
दिल्लीमा त मिठै कुरा गरेका थिए। तर, हङकङ आएपछि अर्कै पो भए। चुङकिङ मेन्सनमा शेरे पन्जाब भन्ने रेस्टुरेन्टमा दिनको १०/१२ घण्टा काम। कन्ट्र्याक्ट पेपरमा भनिएभन्दा आधा तलब। बस्नलाई यत्रै ठाउँ (आफ्नो लिभिङ रुम देखाउँदै), १०/१२ जना डबल डेकरमा कोचाकोच सुत्नुपर्ने, शौचालय जान लाइन। बडो मुस्किलले काटियो जिन्दगीको त्यो समय। तैपनि डलरको हिसाबले इन्डियाको भन्दा बढी तलब भएपछि धन्न थेगियो।
त्यसपछि बल्लतल्ल वानचाइको करिपट भन्ने रेस्टुरेन्टमा वर्किङ भिसा सारेँ। भारतीयमूलका व्यापारीसँग साझेदारी गरेका बाग्लुङकै काशीराम गौतमको त्यो रेस्टुरेन्टमा सरेपछि धेरै राहत भयो। सात वर्ष पुगेपछि त्यहीँबाट हङकङको स्थायी आईडी कार्ड प्राप्त भयो।
मैले सेफको काम सिकिसकेको थिएँ। त्यसपछि त पछाडि फर्केर हेर्नु परेन। भिक्टोरिया पिकस्थित हङकङकै चर्चित र महङ्गोमा गनिने पिकलुक आउट, रिगल एअरपोर्ट होटल, हङकङ गल्फ क्लब हुँदै अहिले सेन्ट्रलमा रहेको हङकङ बैंकको मुख्यालयमा रहेको एक्जुकेटिभ डाइनिङमा इन्डियन खानाको सेक्सन हेर्छु।’
एक सासमा बेलविस्तार लगाएका उनले थपे, ‘छोरीको साउथ चाइना मर्निङ पोस्टमा कालो कोटसहितको तस्बिर र अन्तर्वार्ता आउँदा धेरैले थाहा पाएछन्। सँगैका सहकर्मीदेखि एचएसबीसीका ठूला-ठूला व्यक्ति मेनेजरदेखि बैङ्करसम्मले बधाई छ, छोरीलाई राम्रोसँग पढाइ-लेखाइ गरेछौ भन्दै हात मिलाउन आए। अहिले जीवनको ५०औँ वसन्त नाघ्दै गर्दा सगरमाथाको टुप्पोमा उभिएको अनुभूति भएको छ।’
बाबाको कुरा सुन्दै गरेकी निपुणलाई फेरि सोधेँ– ममीबारे कस्तो लाग्छ त?
उनले ठेट नेपालीमा भनिन्, ‘बाबा त भइहाल्नु भो, आमा त अझ झन् महान्।’ उनले यसो भन्दै गर्दा छेउमै रहेकी आमा रूपा कँडेल केही भावुक भइन्।
कस्तो लाग्छ त यस्तो बुज्झकी छोरीको प्रगति र कुरा सुन्दा? अनि तपाईँको विगत चाहिँ कस्तो रह्यो हङकङमा? मैले रूपातर्फ प्रश्न सोझ्याएँ।
उनको जवाफ थियो, ‘बिहे गरेर हङकङ आएपछि दुवै छोराछोरी यहीँ जन्मे। उमेर पनि दुई वर्ष मात्र फरक। सँगसँगै हुर्काएर पढाउन बुढा एक जनाको कमाइले गाह्रो भयो। धन्न उहाँ त चान्सले सेफ बनिहाल्नुभयो, थोरै पढाइ भए पनि।
म पनि जम्मा ९ कक्षा मात्र पढेकी नेपालमा। त्यो पनि गणित र अङ्ग्रेजी विषय लागेर। फर्रर्र अङ्ग्रेजी बोल्न नसक्ने। अहिले त छोराछोरीलाई घरमा अङ्ग्रेजीमा कुरा गर्नु हामीसँग भन्छौँ, हामीले सिक्नलाई। काम त मैले पनि धेरै ठाउँमा गरेँ। तर, वानचाइको लघुना बार एन्ड रेस्टुरेन्टमा भने लामै समय दुई वटासम्म काम गर्थेँ।’
दुई वटा कामको मतलब? फेरि सोधेँ।
उनले प्रस्ट्याइन्, ‘खासमा म डिसवासर थिएँ पहिला। त्यो बाहेक शौचालय, किचन सफा गर्नेदेखि पूरै हलमा मफ लगाउनु पर्थ्यो। अनि फुर्सद पायो कि सेफहरूको काममा हात बढाइहाल्थेँ, मद्दत गर्न र सिक्न। एक दिन एउटा सेफले छोटो सूचनामै काम छाडेछन्। त्यसपछि मालिक र मेनेजरले अब तिमी सेफको काम गर, भाँडा माँझ्ने अरू खोज्छौँ भने। मैले अङ्ग्रेजी बुझ्दिनँ कसरी र? भनेँ। उनीहरूले हामी सहयोग गर्छौँ, पिर नगर भने।
यसपछि मैले दुई वटा छोराछोरी पढाउनु पर्छ, पैसाको खाँचो छ, दुवै काम मै गर्छु। बिहान चाँडै आउँछु, डिसवासर खोज्न पर्दैन भनेँ। मेरो मिहिनेत उनीहरूलाई थाहा थियो, स्वीकृति दिए।
यसरी १६ घण्टा काम गर्थेँ कुनै समय। तलब दुई गुना। तर, छोरीले मेरो हातभरि ठेला देखिछ। अनि, बेलुकी आफ्नो काम/कलेजबाट सिधै रेस्टुरेन्ट आउँथी र भोलिपल्ट तयार गर्ने मेनु मलाई नेपालीमा बताएर मेरो हातको मफ खोसेर तपाईँ बस्नुस् भन्दै आफैँ लाइदिन्थी।
यस्ती ज्ञानी छोरी देखेर मालिक/मेनेजरदेखि सबै स्टाफ दङ्ग पर्थे। उसले तलब पाएको दिन झुम्का र लुगा किनेर ल्याई तपाईँलाई सुहाउँछ भन्दै लगाइदिन्थी।
अझ यसले वकिल पढ्दै गरेको थाहा पाएपछि मेरा कतिपय साथीको इमिग्रेसनको काम, चाइना कार्ड, घर एप्लाइ, वृद्ध भत्ता, सोसियल वेलफेयर फारम जस्ता काम सित्तैमा कति हो कति गर्दी। दुई/तीन जना मुद्दा परेकाहरूको त लेखापढी गरेर कागजात समेत बनाइदिइ। अहिलेसम्म सबैले यस्तो ज्ञानी, बुज्झकी छोरी भए पो भन्छन्। अब सोलिसिटर, वरिष्टर बनेपछि चाहिँ कस्ती हुने हो!’
आमाको कुरा सुनिरहेकी निपुणले भनिहालिन्, ‘म यस्तै नै हुन्छु ममी सधैँ, जति माथि गए पनि। तर, अबदेखि भने यस्ता काम र अरू कानुनी कामकाजको रिजनेबल दस्तुर त लिनु पर्छ। नत्र मलाई अनि तपाईँहरूलाई बुढेसकालमा सुखसुविधा दिएर पाल्ने खर्च कहाँबाट आउँछ?’

वार्तालापको बिट मार्न खोज्दै मैले निपुणलाई सोधेँ– केही भन्नुछ हङकङका नयाँ पुस्तालाई?
उनले भनिन्, ‘जुन देशमा बसिन्छ त्यस देशको भाषा सिक्नु एकदम महत्त्वपूर्ण छ। किनभने अब हामीले नेपाली वा दक्षिण एसियाली मात्र होइन, स्थानीय मार्केटबारे पनि सोच्नु पर्छ। हङकङमा म जब काममा वा अन्त जहीँकहीँ स्थानीयसँग फररर उनीहरूको भाषा बोल्छु, मप्रति उनीहरूको दृष्टिकोण सम्मानपूर्ण पाउँछु। म आकर्षणको केन्द्रबिन्दु बन्छु। अबको पुस्ताले अझै प्रतिस्पर्धात्मक रूपमा सक्षम हुनको लागि अङ्ग्रेजीका साथै स्थानीय क्यान्टोनिज मात्र होइन, मूलभूमिको पुतुङ्वा भाषा पनि सिक्नु महत्त्वपूर्ण छ। त्यो अझ विशाल बजार हो। जुन म अहिले सिक्दैछु।
हाम्रा बाबाआमा र अग्रजहरूले धेरै सङ्घर्ष गरेर जसरी हामीलाई अगाडि बढाउनु भयो। अब हङकङको नयाँ नेपाली पुस्ता म जस्तै यहाँ भनिने ‘ह्वाइट कलर जब’मा आउनुपर्छ/छाउनुपर्छ। जुन सम्भव छ पनि। पहिला त हामीले आफूलाई योग्य बनाउनु पर्यो।’
निपुण केसीको यो जेनजी उमेरसम्मको सङ्घर्षपूर्ण जीवनयात्रा मननीय, अनुकरणीय, चाखलाग्दो र भावुक लाग्यो मलाई। त्यसैले त भनिएको रहेछ– छोरी भएको घर उज्यालो हुन्छ भनेर।
अन्त्यमा, उनका बाबाआमालाई भविष्यमा छोरी कस्ती होस्, के गरोस्/नगरोस् भन्ने लाग्छ? भनेर सोध्दा एकैस्वरमा भने, ‘सोलिसिटर त अब भई नै। वरिष्टर वा न्यायाधीश समेत भई भने पनि नैतिकता, इमान्दारिता र आदर्श नछोडोस्। किर्ते काम नगरोस् कहिल्यै। आफ्नो दस्तुर लिओस् तर कम आम्दानी भएका, माइग्रेन्ट वर्कर, घरेलु कामदार जस्ताको शुल्कमा चाँहि अलि विचार गरिदेओस्। अर्थोपार्जनका साथसाथै सुनाम पनि कमाओस् अहिले जस्तै बस्।’
यो सबैका लागि मैले पनि निपुण र उनका बाबाआमालाई अग्रिम बधाई एवं शुभकामना दिँदै छोटो समयपछि हङकङ उच्च न्यायालयको सभाहलमा भेट्ने बाचासहित बिदा भएँ।
Shares

प्रतिक्रिया