हङकङमा सांस्कृतिक आमाहरूको क्याटवाक र सेक्मुरी शब्दचित्र

हङकङमा सांस्कृतिक आमाहरूको क्याटवाक र सेक्मुरी शब्दचित्र

बज्रकुमार थुलुङ राई
पुस ५, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

बज्र : हेल्लो सर! सेवारो!
सुमन : ओहोऽऽऽ सेवारो सर!
सेवारो!
लु छिटो आइहाल्नुस् सर! हजुरको स्वागतका लागि हामी तयार छौँ।
बज्र : हस् सर हस्। म नजिकै छु। एक मिनेटभित्र झ्याप्पै आइहालेँ।  
हाहाहाऽऽऽ
नन्द सरको कल उठेन र तपाईँलाई कल गरेको।
सुमन : नन्द सर बिजी हुनुहुन्छ।
लु सर लु, हामी ढोकैमा उभिएका छौँ, तपाईँको स्वागतका लागि।
आइहाल्नुस् झ्याप्पै।

मेरो आत्मीय मित्रसँगको यो वार्तालाप ५ अक्टोबर २०२४ को साँझ भएको थियो। जुन मितिमा याक्थुङ आर्टिस्ट सोसाइटी हङकङले जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टको अडिटोरियममा सेक्मुरी युन्छो (सेक्मुरी नाइट) भव्यताका साथ सम्पन्न गरेको थियो। समय केही पुरानो भए पनि मेरो मानसपटलमा सेक्मुरीको सम्झना एकदम ताजा छ। त्यही ताजगीलाई सदाका लागि शब्दहरूमा सङ्ग्रहित गर्नका लागि केही लेख्न लागिरहेको छु।

ब्लु ओसन बिल्डिङको पहिलो तलामा रहेको ब्लु ओसन रेस्टुरेन्टको लिफ्ट खुल्नासाथ एउटै रङको ढाकाको इष्टकोट लगाएर चिटिक्क देखिएका आयोजक संस्थाका साथीहरू नन्द चङसु, सुमन वनेम, श्याम इङ्नामलगायत बडो प्रसन्न मुद्रामा लिफ्टको एक छेउमा उभिएका  थिए।

आइदिनुभो खुसी लाग्यो। हार्दिक स्वागत छ। यति स्वागत पाएपछि धन्यवाद भन्दै दश औँला जोडियो। हात मिलाइयो। त्यहीँनेर अङ्कमाल गर्दै एकअर्काको ढाडमा धाप मारियो।

लु यता! भन्दै आगन्तुक डोर्‍याउने बाटोतर्फ लगियो। थोरै अगाडि लिम्बु सोल्टिनीहरू अतिथि सत्कारमा लहरै उभिएका थिए। तेह्रथुमे ढाकाको साडी, गलाभरि लिम्बु सांस्कृतिक गरगहना, कानको लोती तानिरहेको काँसे थाल जत्रै कलात्मक च्याप्टे सुन, नाकमा उस्तै दामी ढुंग्री-मुन्द्री, शिरमा शिरबन्दी त्यो माथि शिरफुलको ठूलो जुनले धपक्कै बलेका सोल्टिनीहरूको मुहारले जोकोहीको नजर तानिहाल्थ्यो। मलाई पनि त्यस्तै भयो। मानौँ यो कलियुगमा यिनै सोल्टिनीहरूले नारीहरूको सिङ्गो सांस्कृतिक मौलिकतालाई बोकिरहेका छन्। र, मैले एउटा पाहुना भएर उनीहरूलाई एकटकले नियालिरहेको छु। अपनत्वको अधिक उचाइतर्फ आफूलाई चढाइरहेको छु।

यत्तिकैमा मेरो अतिथि गलामा ढाकाको खादा, देव्रे छातीमा सिलामसाक्मा र नाडीमा रातो रिबनको फुर्के डोरी कुनै सोल्टिनीहरूको हातबाट लगाइयो। तत्कालै आनाकानी गर्नै नपाई मुखमा आएको शुद्ध कोदोको ट्वाक घुटुक्कै पार्नासाथ ड्याम्मै गाउँघरको याद आइहाल्यो नि! भन्ने वाक्य मुखबाट फुत्किहाल्यो।

सेवारो! यो हाम्रो सगुन। अरू थपुम् त? खानुहुन्छ भने छ है। सोल्टिनीलेहरूले प्रस्ताव तेर्स्याइहाले।

त्यसपछि कार्यक्रम हलतर्फ स्कटिङ गर्दै लगियो। सजिसजाउ स्टेज र बीचमा कुनै विशिष्ट अतिथिलाई प्रतिष्ठित सम्मान दिनका लागि ओछ्याइएको जस्तो रातो कार्पेटको खुला बाटो थियो। यसको दुईतिर विशेष पाहुनाहरूको नामै टाँसिएको कुर्सीका लहर थिए। त्यसमध्ये पहिलो लाइनको गेस्ट चेयरमा एउटा नाम बज्रकुमार थुलुङ राई थियो।

हङकङको नेपाली समाजका विशेष व्यक्तित्वहरू आसिन रहेको त्यो कार्यक्रममा हल खचाखच थियो। तर, सिट प्लानिङ राम्रो भएकोले कसैलाई असहज भएजस्तो लागेन।

एकातिर मञ्चलाई फोकस गरी क्यामेरा सेटअप गरेर उभिएका सञ्चारकर्मीको भीड थियो। त्यसैको एकापट्टि ढाका पोसाक प्रवर्द्धनका लागि राखिएका मानव डमी थिए। हलभरि च्याब्रुङ र पालम संगीत हल्का गुञ्जिरहेको थियो।

यस्तै माहोलबीच हातमा माइक लिएर मञ्चमा देखापरिन् अग्लि र स्लिम उद्‌घोषिका सेसेमी कुरुम्बाङ लिम्बु।

उनी उद्‌घोषणमा यति पोख्त रहेछन् कि एकैछिनमा सबैको ध्यान आफूतिर खिचिहालिन्। कुनै पनि शब्द शुद्ध र स्पष्टसँग उच्चारण गर्न सक्ने र कतै नअल्मलिने उनको क्षमता गजब लाग्यो। उनले सञ्चालन गरेको कार्यक्रमको समयसापेक्ष रफ्तार र मिठासपूर्ण सुन्निने लाउड भ्वाइसले साँच्चै नै दर्शकलाई नियन्त्रण गरिरहेको थियो।

स्टेजमा आउनासाथै कार्यक्रमको उद्देश्यबारे सेसेमीले भनिन्, ‘लिम्बु समुदायको कला, संस्कार-संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरी याक्थुङ उत्पादन तथा पौराणिक खानपानलाई विश्वव्यापीकरण गर्नु हो।
आज यहाँ ललितपुरमा रहेको तेह्रथुमे ढाका बुटिकका सञ्चालिका निर्मला लिम्बु आम्भाङले डिजाइन गरेको वेरेबल तथा अनवेरेबल ढाका उत्पादनहरूलाई स्थानीय नेपाली मोडलले र्‍याम्पमा प्रस्तुत गर्नेछन्। यो कार्यक्रम व्यावसायिक देखिए पनि यसबाट प्राप्त रकमलाई याक्थुङ भाषा पठनपाठनका लागि प्रदान गरिनेछ।’

त्यसपछि कार्यक्रम प्रवेशको शुभारम्भमा सुन्दरी गायिका सीता सिंघकले प्रस्तुत गरेको याक्थुङ गीत बुझ्न त त्यति बुझिएन तर उनको सुमधुर स्वर र च्याब्रुङको धुनले दर्शकस्रोतालाई बरालिन दिएन। संगीतको कुनै भाषा र धर्म हुँदैन भन्ने कथनको महसुस यहाँ पनि भयो। यस लगत्तै सुरु भयो तेह्रथुमे ढाका फेसन शो।

तेह्रथुमे ढाका बुटिकका मालिक तथा डिजाइनर निर्मला (निरु) आङबुहाङको डिजाइनमा बनेका ढाकाका पहिरन लगाएका हङकङेली नेपाली मोडलहरू स्टेजको छेउबाट कम्मर लच्काउँदै क्याटवाकमा निस्किए।

यतिबेला हलभित्र परर ताली बज्यो। कोही चिच्याउँदै थिए- वाउऽऽऽ वाउऽऽऽ ...! पत्रकारका क्यामेराको फ्लास लाइटहरू झल्याकझुलुक गरे। फोटो खिचिएको खच्याकखिचिक सुनियो।

त्यो फस्ट सिक्वेन्समा सामान्यत: नेपालमा लगाइने ढाकाबाट बनेका साडी-चोलो, सल, बर्को, दौरा सुरुवाल, टोपी, स्टकोट आदिका भिन्न-भिन्न डिजाइनहरू प्रवर्द्धन गरिए।

मुटु हल्का थर्काउने साउन्ड सिस्टम, विभिन्न याक्थुङ संगीतको आलाप जस्तो धुन, लाइटको सही कम्बिनेसन, ह्यान्डसम/ब्युटीफुल मोडलहरूको क्याटवाक र दर्शकहरूको वाहवाहीले रोमाञ्चित मुड बनिरहेको बेला एक्कासी अर्कै दृश्य त्यही रेड कार्पेटमाथि हिँड्न थाल्यो। संगीत च्याब्रुङको स्तब्ध लयमा बदलियो। गीतको भाका पालमको गहिराइमा बदलियो। हलभित्रको माहोल पनि बदल्यो।
 
दर्शकका आँखा आफ्नै अगाडि हिँडिरहेको दृश्यसँगै एकटकले हिँडिरह्यो। एकप्रकारको पीडायुक्त भावानात्मक सन्नाटामा दर्शकहरू रहे। आँखा अगाडि कुप्रि परेका बुढी आमाहरू लठ्ठीको भरमा खुइया गर्दै संगीतको तालमा क्याटवाक गरिरहेका थिए। जसका आङभरि लिम्बुको पहिचानयुक्त पौराणिक गरगहना थिए।

उनीहरूले लिम्बु भाषामा लिम्बु संस्कारअनुसार पाहुनालाई गरिने सत्कारको अभिनय गरिरहेका थिए।

गाउँले याक्थुङ आमाहरूको गेटअप र अभिनय एकदमै दुरुस्त थियो। अगाडिको लहरमा बसेका लिम्बु संस्कार-संस्कृतिविद्हरूलाई ती आमाहरूले गरेका संस्कारयुक्त सेवारो र घरमा गरेको स्वागतले भावुक बनाएको देखियो।

मेरो दिमागमा भने अचानक धेरै वर्ष अगाडिको स्मृति आयो। त्योबेला म १७ वर्षको थिएँ क्यारे। भोजपुरमा सरुवा भएर आएका नेपाल आर्मीमा जागिरे तेह्रथुमका याङवीर लिम्बुले मेरो नाताको नानासँग प्रेम विवाह गरेका थिए।

म सालो भएको नाताले उनको घर तेह्रथुमको विकट ठाउँ जाने मौका मिलेको थियो। त्यो घरमा सिर्फ एक्लो बुढीआमा थिइन्। लिम्बु भाषा मात्रै बोल्ने र बुझ्ने ती आमाले म त्यहाँ बसुञ्जेल गरेको सेवा-सत्कार र यी आमाहरूले गरेको अभिनय ठ्याक्कै उस्तै लाग्यो। मन भारी भएर आयो। आँखा उसै रसाउन खोजे। अरू दर्शक पनि म जस्तै डुबिरहेको पाएँ।

बिस्तारै ती आमाहरू स्टेज छेउको कोठाभित्र पसे। दिलको भित्ता उप्काएर एउटा दृश्य पलायन भयो। गीत-संगीत बदलियो। पुन: युवायुवती मोडलहरूले क्याटवाक सुरु गरे।

यसपटक उनीहरूले फरक डिजाइनका तेह्रथुमे ढाकाका पोसाक लगाएका थिए। जुन पोसाकहरू भारतीय र पाकिस्तानीमूलका मान्छेले यदाकदा लगाएको डिजाइनजस्तो भान हुन्थ्यो।

कतिपय डिजाइन मोडलिङ वा शोका लागि मात्र बनाइएका जस्तो पनि लाग्थ्यो। धेरै प्रकारका रङ र बुट्टाहरूको छनोट ती पोसाकमा थिए।

पोसाकहरूको डिजाइन हेर्दा निर्मला (निरु) आङबुङको संघर्ष र उनले हासिल गरेको गहिरो ज्ञानलाई महसुस गर्न सकिन्थ्यो भने क्याटवाक गरिरहेका मोडलहरूलाई हेर्दा हङकङमा पनि यस्ता विषयगत एकसे एक नेपाली युवा प्रतिभा रहेछन् भन्ने लाग्यो।

यस सेक्मुरी नाइटमा नेपालका चर्चित गायक/गायिका विकास लिम्बु र अनु चौधरीको प्रस्तुति रहने पहिल्यै थाहा भएकोले अब त क्याटवाकवाला कार्यक्रम सकियो होला भन्ने लागेको थियो।

तर त्यसो नभई पुनः आमाहरूको क्याटवाक सुरु भयो। यसपटक आमाहरूले आफ्नै थातथलोमा रहेका आमाहरूको बुढ्यौली र एक्लो जिन्दगीको अभिनय गरिरहेका थिए।

एउटा लठ्ठीको सहारामा अडिएको कुप्रो शरीर र धमिलो आँखाले क्षितिजमा डुब्न लागेको घामलाई हेर्दै खुइयाऽऽऽ गरेको, हेर्दाहेर्दै आफूलाई धान्न नसकेर शरीर ढल्न खोजेको, आफ्ना कोखहरूलाई सम्झिएर आँसु पुछ्‌दै देउरालीमा पाती चढाएको, गाउँमा युवाहरू नभएर नाजुक अवस्थाका आमाहरू मात्र भेटर  एकआपसमा कुरा गरेको, तैपनि आफ्नो थातथलो, भाषा, भेष, धर्म, संस्कार-संस्कृतिलाई नछाडेको आदि अर्थ लाग्ने अभिनयले पहिलाभन्दा झनै भावुक बनायो।

यतिबेला धेरैको गहभरि आँसु टिलपिलाएको मैले देखेँ। सायद सबै नोस्टाल्जिक भए। सबैले आफ्ना आमाबुबा सम्झे। मैले योबेला यसका कोरियोग्राफर तथा कार्यक्रमका डाइरेक्टर युगल पोमुलाई सम्झेर मनमनै उनको यस्तो जीवन्त कर्म र अथाह सांस्कृतिक ज्ञानप्रति सम्मान व्यक्त गरेँ।

मेरो हृदयमा यस्तो भाव आयो- ओ! सांस्कृतिक आमा, ओ! तिमी हौ जीवन, तिमी हौ जगतको अन्दोलन, तिमी हौ जीवनको खोज र प्राप्ति, सिर्फ तिमी हौ उत्पत्ति, उत्सव र अन्त्यको अर्थ…! ओ! सांस्कृतिक आमा…!

बीचबीचमा यस्तै भावविभोरता कार्यक्रमको प्रखर उद्‌घोषिका सेसेमीले पनि ताल मिलाइरहेकी थिइन्। उनको पनि म प्रशंसक भएँ।

सेक्मुरीको बाँकी भागमा सांगीतिक प्रस्तुति त बाँकी नै थियो। त्योभन्दा पहिला तेह्रथुम ढाका बुटिकका प्रमुख निर्मला आङबुहाङसहित सबै मोडलले ढाकाका मिक्समाक्स पहिरन लगाएर क्याटवाक गरे। यो बेला पनि दर्शकहरूले वाहवाही गरिरहेका थिए।

म भने विशेष गरेर निर्मलाको क्याटवाक हेर्दै उनको जीवनकथा, मेहनत, प्रतिफल र उमेरलाई अन्दाज गरिरहेको थिएँ। र, इच्छाशक्तिको अगाडि उमेर बाधक होइन भन्ने एउटा उदाहरणीय नारीलाई महसुस गरिरहेको थिएँ।

अब बल्ल सेक्मुरी सांगीतिक माहोलतर्फ प्रवेश गर्‍यो। स्टेजबाट गीत गाउँदैगाउँदै विकास लिम्बु दर्शकहरूमाझ पनि आए र नचाउन थाले। अनु चौधरीले कृतज्ञता व्यक्त गर्दै उसैगरी गीत गाउँदै नचाइन्। गज्जब त त्यतिखेर लाग्यो कि, अनुले लिम्बु गीत पनि मज्जैले गाइन्।

जे जे सांगीतिक प्रस्तुति भए पनि म भने यसमा खास रमाइनँ। यहाँ त्यस्ता गीत/संगीतका कार्यक्रमले त हैरान नै बनाएका छन्। हप्तैपिच्छे सांगीतिक कार्यक्रम। अझ भएन एकल साँझ गरिदिनुपर्ने।

जता पनि द्रव्य द्रव्य द्रव्य! आम्बो! धन्य हङकङका नेपालीले धानेकै छन्! कुनै नयाँ ज्ञानमूलक कार्यक्रम भए पनि लौ त है भन्नु। त्यस्ता कार्यक्रमको दाँजोमा यो सेक्मुरी चाहिँ अलग थियो। मुखको भारी भाषणभूषण पनि थिएन।

सेक्मुरीको अर्को स्वादिलो पाटो खानपान थियो। सबै आगन्तुकलाई खानपानको बफेट व्यवस्था थियो। किनिमाको झोल, गुन्द्रुक साँधेको, फिलुङ्गेको छोप, याङबेन पोर्क, भुटुवा जस्ता प्रोबायोटिक पौराणिक खानाको स्वाद भुलिनसक्नुका थिए।

किनिमाको झोल त मलाई थप्न मन लागेको थियो। तर, घुइँचो बढी भएकोले थप्न सकिनँ। यसरी सेक्मुरी नाइटलाई मैले उत्कृष्ट कार्यक्रमको रुपमा लिएँ।

हङकङमा आजसम्म यस्तायस्तै प्रकारका सयौँ कार्यक्रमको प्रत्यक्षदर्शी भइयो। तर सेक्मुरी जस्तो दिलमा बसेको कार्यक्रम मलाई याद छैन। यसको मतलब अरू कार्यक्रम नराम्रा थिए भन्ने होइन कि मेरो बुझ्ने क्षमता फरक भएकोले मात्रै होला। सेक्मुरी फरक नै लाग्यो।

‘विश्व अहिले सांस्कृतिक र जातीय पहिचानको मुद्दामा आन्दोलित छ। कुनै पनि जातिलाई सिध्याउनको लागि उसको धर्म, संस्कार, संस्कृति सिध्याइदिए ऊ आफैँ सिद्धिएर जाने कुरा उहिल्यै जर्मन शासकले भनेका थिए। अबको विश्व बजारमा आफ्ना मौलिक उत्पादन बेचेर धनी बन्ने हो। विश्व आफ्नोपनको खोजीमा छ। जो हामीसँग पनि छ। तर, दुनियाँलाई देखाउन सकेका छैनौं,’ आफ्नो चलचित्र ‘द कमाण्डो सोल’को प्रिमियर शोमा क्यानाडाबाट हङकङ आएका ग्रान्ड मास्टर तथा चलचित्रकर्मी राजकुमार राईले सेक्मुरीको प्रोमोसन ब्रुसर हेर्दै एकदिन भनेका थिए।

उनलाई सेक्मुरी नाइटपूर्व आयोजक टिमका सदस्य नन्द चङ्सुले बगैँचा रेस्टुरेन्टमा भेटेर सेक्मुरी ब्रुसर प्रदान गरेका थिए।

यस्ता उदाहरणले गर्दा पनि सेक्मुरी नाइटलाई धेरैले बिर्सन सक्दैनन्। म त सेक्मुरीको दोस्रो संस्करणको प्रतीक्षामा छु।

अब भने आयोजक याक्थुङ आर्टिस्ट सोसाइटी हङकङलाई कार्यक्रमको विषयगत उठान र उत्कृष्टताको केही कठिनाइ हुन सक्छ। यति भव्य र प्रशंसनीय रूपमा सम्पन्न गरिएको सेक्मुरी फेरि फेरि यस्तै बनोस्। म फेरि पनि हुनेछु। आत्मीय शुभकामना।

शामशुई पो, हङकङ

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .