घान्द्रुकका विशु सम साहित्यिक चेत भएका हङकङेली नेपाली हुन्।
साहित्यिक तथा सामाजिक जमघटमा भ्याएसम्म उपस्थिति जनाउने सम "आकाशसँग धर्तीको गुनासो" आधुनिक गीति एल्बमका शब्दमार्फत नेपाली गीतकारको लाइनमा उभिएका हुन्। अहिले उनले अर्को कृति "परदेशी भूमि" गीतसंग्रह प्रकाशन गरेका छन्।
यसले उनको ‘गीतकार’ विशेषणलाई अझ बढी उचाइमा पुर्याएको छ। अर्थात् विशु सम गीतकार नै हुन् भन्ने अर्को स्थायी प्रमाण हो यो।
हङकङको फेरबदल भइरहने जागिरे जीवनका क्रममा सहपाठी भएका नरेन्द्र सेन्दाङ लिम्बुलाई आफ्नो लेखन गुरु मान्ने उनको कथन र इजरायलमा बस्ने शेर्पेनी कान्छीले बीएसबीएफ रेडियोमा पस्केका सिर्जना उनका लागि साहित्यिक ऊर्जा भएछन्। समको यो साहित्यिक यात्रामा हङकङवासी कसितकुमार राई र सब्लाबुङ प्रकाशनका राजकुमार राईका प्रोत्साहन पनि कारक बनेछन्।
नेपालमा रहँदा धेरै साहित्यिक पुस्तक पढेको तर लेखनमा कुनै चासो नरहेको पनि उनले आफ्नो यस संग्रहको प्राक्कथनमा उल्लेख गरेका छन्।
यसबाट विशु सम हङकङमै आएर गीतकार बनेका रहेछन् भन्ने प्रस्ट हुन्छ।
यसका लागि कामको सिलसिलामा भएको फुर्सद समय सदुपयोग समको साहित्य लेखपढको मुख्य पाटो रहेछ।
नेपालका चिरपरिचित एक युवा साहित्यिक नाम भावेश भुमरीको प्राज्ञिक साथ/सहयोग यस कृतिका ओखती रहेछन्। भावेशले नै यस संग्रहको भूमिका पनि लेखेका छन्।

गीतकार विशु समका गीत नियाल्दा गीत लेखनको सैद्धान्तिक आधारशीलालाई शिरोपर गरेको पाइन्छ। उही गाउँघर, माया-मोह, जीवन भोगाइ र मातृ वात्सल्यका अविरल स्मृति वर्णनमै गीतका हरफ नाचेका छन्। यसको अर्थ गीतकार गीतको वास्तविक संरचना विधि-विधान र रचना शैली विज्ञानबारे धेरै जानकार छन्। सचेत छन्।
गीतले दिने भावार्थ, गीतले पैदा गर्ने मर्मस्पर्शता, गीतमा नाचेका विम्ब-प्रतिबिम्ब र पाठक/स्रोताको मनमस्तिष्कमा स्थायी छाप हान्ने कला-कौशल भने गीतकारको बौद्धिक क्षमतामा निर्भर रहन्छ। धेरै हदसम्म विशु समले यी कुरा पूर्ति गरेका छन्।
कुनै गीतमा सामान्यजस्तो लाग्ने बिम्ब प्रयोग गरेर गहिरो अर्थले मानवीय चेतको विभेद चिर्न खोजेका छ।
जस्तै :
'कुन जात तिम्रो कुन जात मेरो पानीले सोध्दैन
यो घर कसको त्यो घर कसको आगोले रोज्दैन' (पृष्ठ-३१)
सरल क्रान्तिकारी मानोभावको जगमा उभिएको यो गीतले गहिरो अर्थ बोकेको छ।
गीतकारले कुनै गीत लघु कवितात्मक शैलीमा रचेको पनि भेटिन्छ।
'बेचिएँ आमा म बेचिएँ
पराया बजारमा म बेचिएँ
******************
मेरो अस्तित्व केही रहेन
अँध्यारो बजारमा म बेचिएँ
मेरो रगतको मोल रहेन
सत्ताको बजारमा बेचिएँ (पृष्ठ-३५)
परदेशी गीतकार समले मुख्यत: चाडबाडका बेला आफ्नो गाउँघर र ममताको तीव्र सम्झनामा उठेका भावनाका ज्वारभाटालाई निक्कै मार्मिक रूपमा रचेका छन्।
‘आमा तिमीलाई धेरै सम्झेँ घरमा आइनँ
छुट्टी मिल्दा अहिले तिमीलाई भेट्न पाइनँ’ (पृष्ठ-४७)
प्रत्येक मान्छेसँग हरेक खालका विगत हुन्छन्। स्मृति हुन्छन्। याद हुन्छन्। कसैले त्यसलाई छातीभित्रै दबाउँछन्। कसैले आँसु बनाएर बगाउँछन्। कसैले शब्दशब्दका सुकोमल हरफ बनाएर लेख्छन्।
'भूँलू भन्थेँ तिमीसँग बिताएका रातहरू
आँखाभरि आउँछन् सधैँ नमेटिने यादहरू' (पृष्ठ-५९)
यो गीत ती स्मृतिका उदाहरण हुन्।
गीत बुझेका गीतकारले माया-पिरती र भावशील प्रेमी-प्रेमिकाका पूरक कथा मात्रै लेख्दैनन्। सामाजिक रूपमा थिचोमिचोमा परेर दबिएर बाँच्न विवश मान्छेहरूका मार्मिक आत्मलाई पनि प्रस्तुत गर्छन्।
जसको उदाहरण यो गीतांश हो-
'जन्मिएँ म कमैया भई कर्म कमैया
मेरो नाम कमैया हो धर्म कमैया'
**********************
जहाँ तिम्रो कमैया हो सबै यस्तो भन्छन्
मेरा लागि साहु किन त्यति कठोर बन्छन्
दिन बित्छ कमैयामा पर्म कमैया
मेरो नाम कमैया हो धर्म कमैया (पृष्ठ -६३)
परदेशीले परदेशमा चाडबाडका बेला भोग्नुपरेका यथार्थलाई सरल शब्दमा उतारेका छन्।
'के हो दसैँ के हो तिहार सधैँ कामै काम
विदेशीको भूमिमा छ कामको भरमा माम'
***************************
अभावले जन्माएका बाध्यताका शिविरहरूमा जबरजस्ती कैदी हुनुको पीडा पीडितलाई मात्र थाहा हुन्छ। तर एउटा गीतकारले पनि त्यो वेदनालाई महसुस गरेर शब्दमा उतार्न सक्छन्।
हो, गीतकार विशुले त्यस सन्दर्भलाई यसरी गीत बनाएका छन्।
‘गरिबीले मलाई अहिले के के गरायो
निर्दोष थिएँ अभावैले दोषी बनायो' (पृष्ठ-८५)
हरेक मानिसको आफ्नो समाज हुन्छ। भाषा हुन्छ। धर्म हुन्छ। संस्कार-संस्कृति हुन्छ। र, जीवनको मूल्य-मान्यता हुन्छ।
त्यसैको वरिपरि मानिसको जीवनचक्र घुमिरहेको हुन्छ। जसकाविरुद्ध बोल्नु आफ्नो पेटमा आफैँले भाला रोप्नुजस्तै ठानेर मान्छेहरू बोल्दैनन्। जो सामान्य मान्छे हुन्। यो गीतसंग्रहका रचनाकार विशु समले त्यस्ता धेरैवटा कुराविरुद्ध गीत लेखेका छन्।
एउटा उदाहरण-
'मेरो जात मानिस हो, अरू जात जान्दिनँ म
सेवा परम धर्म मेरो, अरू धर्म मान्दिनँ म' (पृष्ठ-९१)
भनिन्छ- आफ्नो आमा र देशलाई माया नगर्ने मान्छे सायदै हुन्छन्। अझ कलमबाजहरूले त आफ्ना आमा र देशबारे केही न केही प्रेमील लेखेकै हुन्छन्।
समले पनि यसरी लेखेका छन्-
‘कति सुन्दर शान्त नेपाल, यति धेरै विशाल
हरिया छन् जंगलहरू, मन रमाउने हिमाल’ (पृष्ठ-१०३)
विश्वले नेपालीलाई बहादुर, इमान्दार, कर्तव्यनिष्ठ, सोझोसिधा र लगनशील जातिका रूपमा चिनेको छ। यो पहिचान गुम्न नदिनु हरेक नेपालीको कर्तव्य हो भन्ने कुरा गीतका माध्यमबाट विशु समले यसरी पस्केका छन्:
'हाम्रो शिर झुक्छ भन्नु देशको शिर झुक्नु नै हो
हाम्रो मन दुख्छ भन्नु देशको मन दुख्नु नै हो' (पृष्ठ-९८)
समयको यो पल्लसम्म आइपुग्दा घान्द्रुकको नाम नसुनेका नेपाली कमै होलान्।
त्यहाँका मनोरम भौगोलिक अवस्थिति, सुन्दर ढुंगे घर र मिलनसार मान्छेहरूका आत्मीय मनको बारेमा मैले पनि धेरैपटक सुनेको छु। र, परदेश हङकङमा रहेका धेरै घान्द्रुके साथीभाइलाई म जान्दछु।
उनीहरूको नि:स्वार्थ आत्मीयता, एकता र सहयोगी मनलाई मैले समाजिक सहकार्य गर्दै जाँदा केही नजिकबाट जानेको छु। त्यसमाथि विशु समका गीतका यी हरफले घान्द्रुकप्रतिको श्रद्धालाई अझ बढी समीप बनाइदिएको छ।
शब्दसँग खेल्नेहरू स्थानीय राजदूत पनि हुन् भन्ने कुरालाई पुष्टि पनि गरेको छ।
'यो हो घान्द्रुक मेरो गाउँ ,यही हो मेरो जन्म ठाउँ
आहा कति सुन्दर अनि प्रिय लाग्छ मेरो गाउँ'
************************
ढुंगाले नै छाएका छन् घरका सबै छानाहरू
यही फल्छन् थरीथरी फलफूलका दानाहरू (पृष्ठ-९४)
यो 'परदेश भूमि'भित्र गीतकार विशु समले गीत लेखनका अधिकांश शिल्प-शैली अँगालेका छन्। यद्यपि गीतकार बन्दै गर्दा विशुले जान्नुपर्ने र बुझ्नुपर्ने कुराका थप पाटा त छँदै छन्। लेखन यात्राका आगामी यात्रामा उनले ती कुरा जान्ने नै छन्। बुझ्ने नै छन्।
यस संग्रहका लागि भने हिम्मतिला गीतकार विशु समलाई हार्दिक बधाई तथा असिम शुभकामना!
Shares

प्रतिक्रिया