हङकङ चीनको एउटा सानो स्वायत्त सहर–राज्य हो। यो गुआङदोङ प्रान्तको दक्षिणी छेउ र पर्ल नदी डेल्टाको सिकारनिषेधित क्षेत्रमा अवस्थित छ। यसको जनसङ्ख्या त्रिहत्तर लाख छ। भौगोलिक रूपमा यसका तीन मुख्य भाग छन्– हङकङ टापु, काउलुन प्रायद्वीप र न्यू टेरिटोरिज। यो विश्वको प्रमुख वित्तीय केन्द्रमध्ये एक त हो नै, किनमेलको स्वर्ग पनि हो। यसलाई संसारको सबैभन्दा धनी क्षेत्रमध्ये एक मानिन्छ। यसले प्रायः होटल, व्यापार र पर्यटन उद्योगको लागि सेवा प्रदान गर्छ। र, ग्रेटर चाइनाको मुख्य प्रवेशद्वार हुनुमा पनि गर्व गर्छ। १ जुलाई १९९७ देखि जनगणतन्त्र चीन (पिआरसी) को ‘हङकङ विशेष प्रशासनिक क्षेत्र’ (एचकेएसएआर) बनेको छ। उस्तै इतिहास भएको चीनको अर्को भाग मकाउसँगै हङकङमा ‘एक देश दुई प्रणाली’को राजनीतिक व्यवस्था लागू गरिएको छ। एउटा अर्धस्वायत्त राज्यका रूपमा चल्छ। यसको आफ्नै सरकार, मुद्रा, बैंकिङ प्रणाली, प्रहरी बल, अनुशासनात्मक सेवा र छुट्टै सिमाना छ। यो चम्किलो गगनचुम्बी भवनको पङ्क्ति र संसारको सबैभन्दा स्वतन्त्र अर्थतन्त्रमध्ये एकका रूपमा पनि प्रख्यात छ।
हङकङ मूलतः खेती गर्ने र माछा मार्ने गाउँ थियो। १८३९–१८४२ सम्मको पहिलो अफिम युद्धको समयमा ब्रिटिसहरूले यसलाई सैन्य आधारका रूपमा प्रयोग गरे। चिनियाँहरूलाई पराजित गरेपछि बेलायतले २९ अगस्ट १८४२ मा हङकङ टापु र १८ अक्टोबर १८६० मा काउलुन प्रायद्वीपको नियन्त्रण प्राप्त ग¥यो। ‘न्यू टेरिटोरिज’लाई १ जुलाई १८९८ मा ९९ वर्षका लागि भाडामा दिइएको थियो। सहमतिअनुसार सन् १९९७ जुलाई १ मा हङकङ चीन फर्कियो।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गोर्खाहरूको ब्रिगेड मलाया र सिङ्गापुरमा सारियो। हामीमध्ये धेरैलाई थाहा छ– चार गोर्खा रेजिमेन्ट पनि उनीहरूसँगै गए। गोर्खा ब्रिगेडको मुख्य आधार त्यस बेलासम्म मलेसियामा भए पनि बेलायतीले हङकङमा पनि उल्लेख्य सङ्ख्यामा सेना राखेका थिए। यसको कारण सन् १९५०–५३ को कोरियाली युद्ध थियो। ढिलोचाँडो आफ्ना उपनिवेशमा युद्ध फैलिने छ भन्नेमा बेलायती सचेत थिए। त्यसकारण उनीहरूले समयमै होसियारी अपनाएका थिए।
दोस्रो विश्वयुद्धअघि मात्र ब्रिटिस नियमित सेना र दुई भारतीय रेजिमेन्ट हङकङमा तैनाथ गरिएका थिए। त्यति बेला गोर्खा रेजिमेन्टलाई हङकङ पठाइएको थिएन। दोस्रो विश्वयुद्धपछि साठीको दशक मध्यसम्म गोर्खाहरू मलायन आपत्कालीन र बोर्नियो भिडन्त दुवैमा व्यस्त भएका थिए। गोर्खाहरूले कहिल्यै अन्त्य नहुने लडाइँका वर्षमा पाएको एक मात्र राहत भनेको हङकङको दुईवर्षे भ्रमण थियो। हङकङ आइपुग्ने पहिलो गोर्खा बटालियन २–१० गोर्खा राइफल्स थियो। यो बटालियन १७ मार्च १९४८ मा पुगेको थियो। उनीहरू सन् १९५० मा मलेसिया फर्किएका थिए।
दोस्रो विश्वयुद्धका अनुभवीहरूका अनुसार केही गोर्खा बटालियनलाई दोस्रो विश्वयुद्धको अन्त्यपछिको फुर्सदमा सन् १९४५ मा एक वा दुई हप्ताका लागि हङकङ यात्रामा पठाइयो। उनीहरू आफ्ना परिवारसहित जहाजमा चढे। यो जहाज हङकङ आइपुग्न अठार दिन लाग्यो। युद्धको तनाव र थकान मेटाउन उनीहरू हङकङका प्रमुख बजार घुम्न गएका थिए।
यद्यपि प्रत्येक बटालियन हङकङमा दुईवर्षे भ्रमणका लागि निर्धारित थियो। एक पटक त्यहाँ एक बटालियन राखिएको थियो। तर, मैले रेजिमेन्टल ‘लगबुक’को अभिलेखमा हेर्दा केही गडबढी देखेँ। अभिलेखअनुसार कहिलेकाहीँ हङकङमा एकै समयमा चारओटा बटालियन पनि थिए। २–६ गोर्खा जनवरी १९४९ मा आयो र १९५० मा छोड्यो। पैदल सेना बटालियनको अतिरिक्त रोयल इन्जिनियर्स ९आरई० को नवगठित सतसठ्ठी गोर्खा फिल्ड स्क्वाड्रनलाई सेप्टेम्बर १९५० मा हङकङमा पनि सारियो र सरकारी र सैन्य प्रतिष्ठानहरूको निर्माण गर्न सघायो। सन् १९५० देखि १९५३ सम्म हङकङमा कुनै इन्फेन्ट्री बटालियन तैनाथ रहेको रेकर्ड फेला परेको छैन। त्यस्तै, सेप्टेम्बर १९५३ मा मात्र २–२ गोर्खा हङकङ सरुवा भयो र मार्च १९५६ मा छोड्यो। २–७ गोर्खा नोभेम्बर सन् १९५४ मा आइपुग्यो र मार्च १९५७ मा छोड्यो। १–१० गोर्खा मार्च १९५६ देखि मार्च १९५७ सम्म एक वर्षका लागि मात्र हङकङमा थियो। तर, १–६ गोर्खा अप्रिल १९५७ देखि सेप्टेम्बर १९५९ सम्म बस्यो। यता, २–१० गोर्खाले सन् १९६० मा आएर १९६२ मा छाड्योे, त्यसपछि २–२ गोर्खा १९६३ मा आयो। १–२ गोर्खाले सन् १९६५ मा त्यसलाई प्रतिस्थापन ग¥यो। यो त्यही नागरिक अवज्ञाको उथलपुथलपूर्ण र १९६७–६८ को दङ्गाको अवधि थियो। त्यतिखेर चारओटा गोर्खा बटालियन ९कार्यरत १–७ र १–१०, रिजर्भमा रहका १–६ र मलेसियाबाट ल्याइएको २–७० हङकङमा तैनाथ गरिएका थिए।
सन् १९४८ मा २–१० गोर्खाहरू हङकङ आइपुगेपछि उनीहरू सुरुमा ह्विटफिल्ड ब्यारेक, काउलुन ९आजको काउलुन पार्क, सैनिक ब्यारेक सन् १९६७ मा सरकारलाई हस्तान्तरण गरिएको थियो० मा राखिएको थियो। तर, गर्मीमा ह्विटफिल्डमा सुदृढीकरण बटालियन फस्ट रोयल लिसेस्टर्सका लागि ठाउँ बनाउन बटालियनलाई ब्यास नदीनजिकैको घोडा तबेलामा सारियो। हङकङ जोकी क्लबको स्वामित्वमा रहेको न्यू टेरिटोरीमा रहेका तबेला फोहोर थिए। तर, अन्तिम सोह् घोडा नहटाउँदासम्म सरसफाइमा ढिलाइ भएको थियो। यो एउटा रमाइलो दृश्य थियो। किनभने तिनीहरू नजिकैको नदीमा पौडी खेल्न र नुहाउन सक्थे। सरसफाइको बृहत् कार्य सुरु भएपछि त्यो ठाउँ रातारात बगैँचा बन्यो। एनएएएफआई ९नौसेना, सेना र वायुसेना संस्थान० अधिकारी र सार्जेन्टका मेसहरू निर्माण गरिए। न्यू टेरिटोरीको खुला क्षेत्रमा प्रशिक्षण गर्न उपयुक्त ठाउँ बन्यो।
त्यहाँ बसोबास गरेपछि तिनीहरूले घरजस्तै महसुस गरे। तर, उनीहरूलाई भर्खरै आएको बटालियन फस्ट मिडलसेक्सलाई तबेला हस्तान्तरण गर्न आदेश दिइयो। उनीहरू सान वाईनजिकैको पाल शिविरमा गए। दुर्भाग्य त्यहाँ रोकिएनन्। उनीहरूले तम्बु क्याम्प खडा गरेका थिए। त्यसलाई आँधीले भत्काइदिएपछि नजिकैको शिविरमा शरण लिनुप¥यो। धन्न १ गोर्खा परिवारको सानो समूह ह्विटफिल्ड ब्यारेकमा सुरक्षित थियो। तम्बु शिविरलाई पुनस्र्थापित गर्न धेरै दिन लाग्यो।
मलेसियामा जस्तै हङकङमा सेनाका लागि पहिलो बसाइँको समयमा ब्रिगेडको कुनै रेडिमेड क्याम्प थिएन। गोर्खाहरूका लागि बटालियनहरूले न्यू टेरिटोरिजको खुला मैदानमा तम्बु क्याम्प बनाउनुपर्ने थियो। तम्बु क्याम्पमा बस्नु विशेषगरी वर्षायाममा खतरापूर्ण थियो। अलिकति पानी पर्दा पनि सडक बिजोग हुन्थ्यो। दैनिक दिनचर्यामा प्रायः सिमाना प्रहरी चौकी रक्षा गर्ने, नयाँ भर्तीलाई तालिम दिने, सेना प्रशिक्षण, खेलकुद, शिविरको मर्मतसम्भार, ग्यारिसनभित्र अन्तरबटालियन प्रतियोगिता र औपचारिक परेड हुन्थे। तीमध्ये क्विन्स हिलको दौड गोर्खाहरूको सबैभन्दा कठोर र सबैभन्दा सम्मानित थियो। कारण उनीहरू तोकेको समयमा पहाड चढ्ने र तल ओर्लने गर्थे। सो दौडले गोर्खा बटालियनबीच धेरै प्रतिस्पर्धा भए। न्यू टेरिटोरिजमा मोटर पुग्ने सडक एकदम कम थिए। विशाल र खाली खेतबारी थियो।
चीनमा कम्युनिस्टको प्रभाव बढ्दै गयो। गोर्खा बटालियनको साप्ताहिक दिनचर्यामध्ये एउटा दिनचर्याचाहिँ बाहिर न्यू टेरिटोरीका गाउँमा युनियन ज्याक बोक्ने गस्ती पठाउने थियो। त्यहाँ रहेका गाउँलेहरूलाई कसको नियन्त्रणमा त्यो ठाउँ छ भनेर सम्झाउने र चिनियाँ कम्युनिस्टको प्रभावलाई कमजोर बनाउने थियो।
२–१० गोर्खाहरू मलाय फर्किंदा मलायमा तम्बु क्याम्प तयार नहुन्जेल उनीहरूको परिवार हङकङमै बस्नुपथ्र्यो। र, तिनीहरूलाई फेरि बटालियनमा सामेल हुन छ महिना लाग्थ्यो। २–६ गोर्खाका परिवार काउलुनको झुपडी शिविरमा बस्थे। जुन कुनै समय जापानी युद्धबन्दीको कारावास थियो। पैँसठ्ठी परिवारको सानो समूहलाई डब्ल्यूआरभीएस ९महिलाको शाही स्वैच्छिक सेवा० को ‘मिस नन’ र एक जना नर्सद्वारा राम्ररी हेरचाह गरिन्थ्यो।
सन् १९५० को दशकमा हङकङमा भर्खरै स्थापित गोर्खा इन्जिनियरहरूले अथक परिश्रम गरे। तिनीहरूले धेरै सडक, पुल, शिविर, जलग्रहण क्षेत्रका साथै सरकारी र सैन्य प्रतिष्ठान निर्माण गरे। यसले उनीहरूलाई आवश्यक तालिम मात्र होइन, वास्तविक इन्जिनियर रेजिमेन्टका रूपमा कत्र्तव्य र जिम्मेवारीको भावना पनि प्रदान ग¥यो। हङकङको हरेक कुनाबाट देख्न सकिने प्रसिद्ध नीलो रङको बेलिब्रिज त्यसपछि कुनै न कुनै रूपमा आफ्नो उपलब्धिको प्रतीक बन्यो। यसबाहेक, इन्जिनियरले आफ्नो सीपलाई सम्मान गर्दै ¥याफ्टर, डिङ्गी रबरका डुङगा र मोटरबाट चल्ने डुङ्गा प्रयोग गरेर जलजन्य रणनीतिमा पनि तालिम दिए।
गोर्खा ब्रिगेडको मुख्यालय अझै पनि मलेसियामा भएकाले पचास र साठीको दशकमा हङकङमा गोर्खाहरूको उपस्थिति सीमित थियो। सन् १९६७ मा भएको हङकङ दङ्गामा मात्र चारओटा गोर्खा बटालियन तैनाथ गरिएको थियो। सन् १९६७ को हङकङ वामपन्थी दङ्गा सुरुमा एउटा सानो श्रम विवादबाट सुरु भएर नागरिक अवज्ञा र अशान्तिमा परिणत भयो। कम्युनिस्ट समर्थक, उनीहरूका सहानुभूतिकताहरू र ब्रिटिस औपनिवेशिक सरकारबीच झडप भयो। हङकङ पुलिसले मुख्यतया प्रदर्शनकारीलाई सम्हाल्यो। सैनिकको समूह ब्याकअप फोर्सका रूपमा तयार थियो। उनीहरूलाई जिस्काइयो, गाली गरियो, हेपियो। उनीहरूमाथि धेरैपटक दुव्र्यवहार गरियो। उनीहरूले डरलाग्दो परिस्थितिमा शत्रुपक्षको पनि सामना गर्नुप¥यो। त्यहाँ कर्फ्यू लगाइयो। प्रहरी र प्रदर्शनकारीबीच हङकङका विभिन्न भागहरूमा झडप भए। पूरै सहर अशान्त भयो।
८ जुलाई १९६७ मा स्थिति उत्कर्षमा पुग्यो। सयौँ प्रदर्शनकारीले चीनबाट ९चिनियाँ मिलिसियामेनसहित० सीमामा रहेको सा ताउ कोक पार गरे र हङकङ प्रहरीमाथि आक्रमण गरे। आक्रमणमा परी पाँच जना मारिए भने एघार प्रहरी अधिकारी घाइते भए। उत्तिकै मात्रामा प्रहरी बन्धक बनाइए। प्रहरीलाई उद्धार गर्न १–१०औँ गोर्खा राइफल्सका पाँच सय बलिया पुरुषसहित लेफ्टिनेन्ट कर्नेल ९पछि मेजर जर्नेल० आर म्याकअलिस्टरलाई कमान्डमा बोलाई बिहान ६ बजेसम्म सबै बन्दीलाई बाहिर निकालियो। यसरी सा ताउ कोक गाउँ पुनः प्राप्त भयो।
टोनी गोल्डको इम्पेरियल वारियर्सः ब्रिटेन एन्ड द गोर्खाजका अनुसार यस्तै अर्को घटनामा गोर्खाहरूले मान काम तो सीमानामा व्यापार गर्ने किसानले सुरक्षा बलबाट भएको अवरोधको चर्को विरोध भोगे। वार्ता असफल भएपछि गाउँलेले बेलायती टोलीलाई बन्धक बनाए। टोलीमा बेलायती जिल्ला अधिकारी, १–१० गोर्खाका कमान्डिङ अफिसर ९लेफ्टिनेन्ट कर्नेल आर म्याकअलिस्टर० र पुलिस सुपरिटेन्डेन्ट बिल प्याटन रहेका थिए। मेजर बी निभेनको आदेशअन्तर्गत तीनओटा इन्फेन्ट्री प्लाटुनहरूको एउटा उद्धार बल १–१० गोर्खा राइफल्सलाई सल्लाह दिन सशस्त्र गाडीको सहयोगसहित भोलिपल्ट बिहान समस्याग्रस्त क्षेत्रमा पठाइयो। जब सेना सीमामा आइपुगे, उनीहरूले बटालियनका केही हतियार हटाइएको र चिनियाँले पुलमा लगेको थाहा पाए। अर्को पक्षलाई विजय हासिल ग¥यौँ भनेर सर्वसाधारणमाझ भ्रम छर्न फोटो मात्र चाहिएको रहेछ। पछि ती हतियार हङकङतिर फिर्ता गरी हस्तान्तरण गरियो। बन्धकलाई रिहा गर्न एउटा फोन कल पर्याप्त थियो। यसरी तनाव ट¥यो।
यो घटनाले बेलायतीलाई हङकङ–चीन सीमाका सबै द्वार बन्द गर्न प्रेरित ग¥यो। त्यसपछि अवस्था झन्झन् बिग्रियो। किसानले अब सीमापार आफ्नो खेतमा काम गर्न नपाउने भएकाले यसले उनीहरूलाई क्रोधित बनायो र उनीहरूले १–६ गोर्खा राइफलको एउटा पल्टनमाथि लाठी र ढुङ्गासहित आक्रमण गरे। गोर्खाहरूलाई जबाफी गोली हानाहानको अनुमति नभएकाले उनीहरू प्रहरी चौकीमा शरण लिन बाध्य भए। माहोल शान्त बनाउन थप शक्ति परिचालन गरियो। चिनियाँ पक्षलाई उत्तेजित हुन नदिन सबै द्वार तुरुन्तै खोलिए।
यस्तै एउटा घटनामा एउटा आक्रोशित भीडले सीमा क्षेत्रमा एक जना ब्रिटिस अफिसरलाई समातेको थियो। उनलाई बचाउन पठाइएको गोर्खाको ठूलो फौजले बिनाहातहतियार लड्नुपरेको थियो। त्यसै बेला प्रहरी टोलीले केही थान रबरको गोली प्रहार गरेको थियो। यसलाई झडपको समयमा वास्तविक गोली भन्ठानिएको थियो। चिनियाँ सैनिकले अर्कोतर्फबाट स्वचालित फायरसँग चेतावनी दिएका थिए। यसैगरी अर्को मोर्चाबाट काउन्टर फायरिङ भएन। अन्ततः माहोल शान्त भयो। सबैले राहतको सास फेरे।
धेरै इतिहासकारहरूले सा ताउ कोक घटनालाई सन् १९६७ को हङकङ दङ्गाको ‘टर्निङ प्वाइन्ट’का रूपमा लिएका थिए। यो दङ्गा सन् १९६८ सम्म जारी रह्यो र अन्ततः सकियो। मलेसियाबाट गोर्खाको ब्रिगेड हिँड्ने तरखरमा थियो। उनीहरूको योजना हङकङमा अढाई दशकसम्म तैनाथ हुने थियो।
सन् १९७१ मा गोर्खा ब्रिगेड मलेसिया÷सिङ्गापुरबाट हङकङ स¥यो। यसमा पाँचओटा इन्फेन्ट्री बटालियन ९१–२, २–२, छैटौँ, सातौँ र दशौँ गोर्खा राइफल्स० र तीनओटा कोर एकाइ ९गोरखा इन्जिनियर्स, सिग्नल र ट्रान्सपोर्ट० थिए। सैन्य शिविर प्रायः हङकङको न्यू टेरिटोरिजमा थिए। गोर्खा प्यारासुट, गोर्खा मिलिटरी पुलिस र ब्वाइज कम्पनीजस्ता अन्य एकाइ, जुन सुरुमा मलेसिया–सिङ्गापुरमा बनेका थिए, त्यति बेलासम्म सबै विघटन भइसकेका थिए। गोर्खा बटालियनको एकीकरणपछि ब्रिगेडमा उनीहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाएर चौध हजार सेनामध्ये आठ हजार मात्र हङकङमा सारियो।
तीनओटा इन्फेन्ट्री बटालियनहरू क्रमशः फ्यान लिङनजिकको क्विन्स हिलमा, सान वाईमा र न्यू टेरिटोरीका ङउ तम मे, सान तिनमा बसेका थिए। गोर्खा इन्जिनियर सुन मुनस्थित पेरोने ब्यारेकमा थिए। गोर्खा सिग्नल र गोर्खा यातायात दुवै सेककङको बोर्नियो लाइन्समा थिए। अतिरिक्त एकाइहरू काउलुनको गन क्लब हिल ब्यारेकमा तैनाथ गरिएको थियो भने ब्रिगेड मुख्यालय हङकङ टापुको तामारमा थियो। गोर्खा डिपोको प्रशिक्षण ब्रिगेड ९टिडिबिजी०, ‘एजुकेसन कप्र्स’ आरएएफको एक भाग र ब्रिगेडको प्रशासनिक मुख्यालय पनि सेक कोङ ब्यारेकमा तैनाथ गरिएको थियो। इन्फेन्ट्री बटालियनभन्दा फरक हङकङमा गोर्खाका लागि आधार शिविर कोर एकाइका लागि स्थायी थिए। हङकङमा आफ्नो समयभर उनीहरूले यही आधारबाट काम गरे।
यसबाहेक, गोर्खासहित सेवाकर्मी र तिनका परिवारका लागि काउलुन, किङ्ग्स पार्कमा एउटा छुट्टै ब्रिटिस सैन्य अस्पताल ९बिएमएच० थियो। प्रत्येक बटालियनमा एउटा पारिवारिक क्वार्टर, एउटा मेडिकल सेन्टर र एउटा प्राथमिक विद्यालय थिए। गोर्खा बालबालिकाको उच्च शिक्षाका लागि सेक कङ शिविरमा ब्रिगेडको एउटा केन्द्रीय हाइस्कुल थियो, जसलाई गोर्खा हाइस्कुल भनिन्छ। विद्यार्थीलाई दैनिक हङकङ वरपरका सबै सम्बन्धित शिविरबाट बसमा ल्याइन्थ्यो। सबै गोर्खा सन्तान गोर्खा हाइस्कुल जान्थे।
एउटा समयमा ब्रिगेडका पाँच इन्फेन्ट्री बटालियनमध्ये तीनओटा मात्र हङकङमा तैनाथ हुन्थे। बाँकी दुई बटालियन सधैँ हङकङबाहिर ९एउटा बेलायतमा र अर्को ब्रुनार्ईमा० हुन्थे। त्यस्तै, पाँच बटालियन प्रत्येक दुई वर्षमा आलोपालो गर्थे। ब्रुनार्ईको सुल्तानलाई मन पर्ने १–२ गोर्खा ब्रुनार्ईमा तैनाथ हुने पहिलो बटालियन थियो, जबकि सातौँ गोर्खा राइफल्स बेलायतको चर्च क्रुखम ब्यारेकमा तैनाथ भयो। सातौँ गोर्खा राइफल्स बेलायतको दुईवर्षे भ्रमण सम्पन्न गर्ने पहिलो गोर्खा युनिट भए पनि बेलायतमा तैनाथ हुने पहिलो गोर्खा बटालियन थिएन। त्यो सम्मान १९६२ मा बेलायत गएका १–६ गोर्खालाई गयो। उनीहरू अठसठ्ठी गोर्खा फिल्ड स्क्वाड्रन, दुई सय सतचालीस गोर्खा सिग्नल र तीस गोर्खा आर्मी सर्भिस कर्पोरेसनको स्क्वाड्रनसहित थोरै सङ्ख्यामा पत्नी र छोराछोरी टिडवर्थ ब्यारेक, विल्टसायरमा बसेका थिए। कुल एक हजार सात सय गोर्खाले इङ्ग्यान्ड ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र युरोपका अन्य भागमा गएर तालिम लिए। बेलायतमा उनीहरूको बसाइँ छोटो थियो। किनभने बोर्नियो द्वन्द्वको उदयले बेलायतमा गोर्खा एकाइ तैनाथ गर्ने नयाँ योजना स्थगित गर्नुपरेको थियो। त्यो पुरानो योजनाको पुनः कार्यान्वयन सन् १९७१ पछि मात्र सम्भव भएको थियो। योजनाबमोजिम बेलायत जाने पहिलो गोर्खा सातौँ गोर्खा राइफल थियो।
सन् १९७४–७५ मा बेलायतमा हुँदा ब्रिटिस सेनाका अन्य एकाइसँगै दसौँ गोर्खा राइफल्सलाई साइप्रसमा तैनाथ गरिएको थियो। ग्रिन नेसनल गार्डको नेतृत्वमा भएको विद्रोहले उब्जाएको समस्यालाई कम गर्न उसले मद्दत ग¥यो। यसले उत्तरी तटमा टर्की सेनालाई आक्रमण गर्न उत्साहित ग¥यो। यसकारण टापुको ग्रिक भागमा धेरै शरणार्थीको प्रवेश भयो। गोर्खाहरूले मुख्यतया दुईओटा भूमिका निर्वाह गरेका थिए। पहिलो, ब्रिटिस आधारको क्षेत्रीय अखण्डता, ब्रिटिस कर्मचारीको सुरक्षा एवम् स्थापनाको रक्षा र दोस्रो, राष्ट्रियताको पर्बाह नगरी शरणार्थीलाई सहयोग। जब टापुको बीचमा ग्रिक साइप्रियट र टर्क सिमाना विभाजन गर्ने सहमति भयो, यसले तनाव कम ग¥यो। दसौँ गोर्खा राइफल्स बेलायत फर्कियो।
बेलायतस्थित गोर्खा बटालियनले मध्य अमेरिकाको एउटा सानो राष्ट्र बेलिज र त्यसको शत्रु छिमेकी ग्वाटेमालाबीच निवारक शक्तिका रूपमा पनि छ महिनासम्म काम गर्नुपरेको थियो। गोर्खाको मुख्य काम जङ्गलको विशाल इलाकामा पैदल हिँड्दै गस्ती गरेर सिमाना जोगाउनु, सीमामा अवलोकन पोस्ट ९इएक० सञ्चालन गर्नु र सानो बेलिज रक्षा बललाई तालिम दिन सघाउनु थियो। छैटौँ गोर्खा राइफल्स आफ्नो सन् १९७८–७९ बेलिज भ्रमणको समयमा ती कत्र्तव्य पूरा गर्ने पहिलो गोर्खा युनिट थियो।
कोर एकाइ ९क्युजिई, क्युजिएस, जिटिआर० को एउटा सानो टुक्रा बेलायतमा तैनाथ थियो। सबै गोर्खा इन्फेन्ट्री बटालियनबाट बनेको कम्पनी स्यान्डहस्र्ट मिलिटरी एकेडेमीमा १९७५ र १९९४ को बीच एउटा ‘डेमोन्सट्रेसन’ कम्पनीका रूपमा संलग्न थियो। यही समयमा मैले बेलायत जाने मौका पाएँ। र, जुनियर एनसिओका रूपमा ‘डेमोन्सट्रेसन’ कम्पनीमा एक वर्ष काम गरेँ।
सत्तरीको दशक चीनका लागि कठोर र महत्त्वपूर्ण अवधि थियो। सांस्कृतिक क्रान्तिले सिङ्गो राष्ट्रलाई कमजोर बनाएको थियो। यसलाई असाध्यै नयाँ दिशा चाहिएको थियो। त्योभन्दा पनि नराम्रो कुरा, अध्यक्ष माओ गम्भीर बिरामी परेका थिए। देशको सत्ता ‘ग्याङ अफ फोर’को हातमा थियो। गरिबी व्याप्त थियो, मानिस निराश भएका थिए। भोक र अनिश्चितताको संयुक्त शक्तिले जनता यो अवस्थाबाट भाग्न चाहन्थे। जनता हतास हुँदा अप्रत्याशित चीजहरू गर्न सक्छन्। जस्तैस एउटा सानो नदीले छुट्याएको सिमाना पार गर्नु उनीहरूका लागि अत्यन्त सामान्य र स्वाभाविक थियो। फलस्वरूप, हङकङमा उत्तरबाट आगमन हुनेहरूकोे भीड लागेकाले यसको रोकथामको विषयबारे सोच्न जरुरी भइसकेको थियो। समयमै गोर्खा ब्रिगेड सीमा रक्षामा व्यस्त भयो। गोर्खा एकाइका सबै उपलब्ध सिपाही सिमानामा खटाइए।
पैदल सेनाले दिनरात सिमानामा पहरा दिइरह्यो। गोर्खा इन्जिनियरले सीमामा काँडेतारको बार बनाउन मद्दत गरे। गोर्खा सिग्नलले सञ्चार र रेडियो प्रणाली उपलब्ध गराउन मद्दत ग¥यो र गोर्खा ट्रान्सपोर्टले मान्छे र सामान ढुवानी गर्न सघायो। सत्तरीको दशक अन्त्यतिर अवैध आप्रवासी ९आइआई० को मुद्दा यस्तो गम्भीर बन्यो कि एक रातमा औसत चार सय आप्रवासी कैद गरिए। सन् १९७९ मा मात्रै त्यो सङ्ख्या अचम्मलाग्दो गरी नब्बे हजार पुगेको थियो। ब्रिगेडले सङ्घर्ष ग¥यो। परिस्थितिको सामना गर्न नेपालबाट थप भर्ती भए। ब्रिगेडले सामान्यतया वर्षमा एकपटक नयाँ भर्ती गर्ने गर्दथ्यो। त्यो वर्षको प्रारम्भतिर सुरु हुन्थ्यो र नौ महिनाको तालिम सकिएपछि महत्त्वपूर्ण हिन्दू चाड दसैंअघि उनीहरूलाई नयाँ सिपाहीका रूपमा सम्बन्धित बटालियनमा पठाइन्थ्यो।
सातौँ गोर्खाका मेजर ९अव।० दलबहादुर राईका अनुसार जब उनी सन् १९७५ मा म्यान काम टु मा सीमावर्ती ड्युटीमा चार जनाको टोलीको नेतृत्व गरिरहेका थिए, चार वा पाँच आइआईको एउटा समूह आइपुग्यो। तीमध्ये एक जना, जो सबैभन्दा बलियो देखिन्थ्यो, झाडीमा लुक्यो। मेजर राईले उसलाई नियन्त्रणमा लिन खोजे। उसले चक्कु निकालेर उनको पेटमा प्रहार ग¥यो। उनको पेटमा सानो घाउ भयो। मेजर राईले खुकुरी निकालेर त्यस अवैध अप्रावासीमाथि प्रहार गरे। ठूलो खुकुरीले बेस्सरी हान्दा उसको ढाडमा गहिरो चोट लाग्यो, मेरुदण्ड पनि अलिकति काटियो। त्यसपछि मात्रै उनले ती अवैध अप्रवासीलाई पक्राउ गरे। यसबारेमा तीन घन्टासम्म हङकङ प्रहरीमा सोधपुछ चल्यो। अवैध अप्रवासीलाई अस्पताल लगियो र बाँच्यो। उसले हङकङको परिचयपत्र पायो र हङकङका अखबारले त्यस घटनाबारे लेखे। बदलामा गोर्खा ब्रिगेडबाट पठाइएको सेनामा मेजर राईको नाम उल्लेख थियो।
सन् १९७९–८० को आइआइएस सङ्कटको उत्कर्षमा ब्रिगेडले तीन नयाँ भर्ती खोल्नुप¥यो। मलाई यी मध्ये एउटा ‘इन्टेक’मा भर्ती गरिएको थियो।
अझै पनि मलाई हिजोजस्तै लाग्छ— सेप्टेम्बर १९८० मा भर्ती प्रशिक्षण सम्पन्न भएपछि एउटा उज्ज्वल र न्यानो आशा, उत्साह र आकाङ्क्षाका साथ हामी हाम्रो नयाँ रेजिमेन्ट ९छैटौँ गोर्खा राइफल्स० मा गयौँ। यो न्यू टेरिटोरिजको फ्यान लिङनजिकै क्विन्स हिल, बर्मा लाइन्समा थियो। तर, नयाँ ठाउँ र वरपरको परिवेशमा आफूलाई परिचित बनाउन सक्नुअघि हामी चार टन ९सेनाका मालवाहक सवारीसाधन० को पछाडिको भागमा लादियौँ र उही रात सीमानामा पु¥याइयौँ। बाँकी इतिहास भयो।
यसका साथै १९८१ मा अर्का पाँच गोर्खा बटालियनका अतिरिक्त पुरुष, एनसिओ र अफिसरको संयोजनबाट नयाँ गोर्खा बटालियन खडा भएको थियो। २–७ गोर्खा राइफल्स भनेर चिनिने नवगठित बटालियन काउलुनको लेई यू मुन ब्यारेकमा राखिएको थियो।
आधुनिक युगमा गोर्खाहरूले सामना गरेको वास्तविक लडाइँ फकल्यान्ड युद्ध ९२ अप्रिल १४ जुन १९८२० थियो। त्यति बेला बेलायतमा रहेको १–७ गोर्खा राइफल्सले सो युद्धमा भाग लिएको थियो। फकल्यान्ड टापु दक्षिण अमेरिकाको दक्षिणी तटमा र दक्षिणी गोलार्धको टुप्पोमा रहेका बेलायती क्षेत्र हुन्। तिनीहरूलाई अर्जेन्टिनी सेनाले कब्जामा लिएका थिए। उनीहरू सो टापुलाई ‘माल्भिनास’ भन्थे। उनीहरूले वर्षौंदेखि ती टापुथि दाबी गर्दै आएका थिए। बेलायत र विश्वभरबाट बेलायती सेनालाई फकल्यान्ड्स पुनः दाबी गर्न पठाइयो।
गोर्खाहरूका लागि मुख्य चुनौती आफैँमा लडाइँ होइन, बरु बेलायतबाट रानी एलिजाबेथ द्वितीयको फकल्यान्डसम्मको आठ सय माइलको पैंतालीस दिने समुन्द्री यात्रा थियो। चतुर ब्रिटिसद्वारा गोर्खा नामको प्रचारका भरमा योजनाबद्ध ढङ्गले जितेको युद्ध थियो त्यो।
१–७ गोर्खाहरू फकल्यान्डको नजिक पुगेपछि तिनीहरूले आफ्नो जहाज छोडे। उनीहरूलाई एमभी नोरल्यान्डद्वारा पोर्ट सान कार्लोस लगिएको थियो। २ जुन १९८२ मा तिनीहरू गुज गिनमा सरे र शत्रुको खोजीमा उनीहरूले पूर्वफकल्यान्ड पहाडमा गस्ती गरे। ९ जुन १९८२ मा गह्रुङ्गा झोला बोकेर जोखिमपूर्ण भू–भागबाट लगभग सात किलोमिटरसम्म यात्रा गरे। अन्ततः दुस्मनको गोलीबारी भोग्नुप¥यो। एक जना गोर्खा अफिसर र तीन सिपाहीलाई गोली लाग्यो। अनि त्यो ठाउँ खाली गर्नुप¥यो।
टम्बलडाउन र माउन्ट विलियमको मुख्य भिडन्त सुरु हुन लागेको थियो। जुन १३, १९८२ मा १–७ गोर्खालाई हेलिकप्टरबाट टु सिस्टर्सको दक्षिणी क्षेत्रमा लगिएको थियो। मध्यरातमा, त्यहाँ शत्रुको भीषण बमबारी भयो। त्यो रात उनीहरू बिस्तारै तर, दृढतापूर्वक अन्तिम आक्रमणतिर लागे। निराशा र ढिलाइका कारण लामो रातपछि बटालियनले अन्ततः आक्रमण गर्न लागेको थियो। तर, केही अविश्वसनीय भयो। अचानक फकल्यान्डको राजधानी पोर्ट स्टेनलीमा सेतो झन्डा देखा प¥यो र यो लडाइँ समाप्त भयो। कम्तीमा १–७ गोर्खाका लागि।
वास्तविक लडाइँअघि एउटा भयङ्कर प्रचार युद्ध छेडिएको थियो। दुवै पक्षले शत्रुमाथि आ–आफ्ना मनोवैज्ञानिक जितका लागि सक्दो प्रयास गरे। गोर्खाहरूका कारण अङ्ग्रेजको हात माथि थियो। यस विषयलाई पछिको अध्यायमा थप विवरणसहित व्याख्या गरिने छ।
९ अगस्ट १९८२ का दिन १–७ गोर्खालाई चर्च क्रुखम ब्यारेक नजिकैको फ्लिट सहरमा स्थानीयले हर्षोल्लासका साथ स्वागत गरे। फकल्यान्ड युद्धको विजयले गोर्खाको प्रतिष्ठालाई अझ बढाएको थियो।
१–७ गोर्खाबाहेक उनन्सत्तरी गोर्खा स्क्वाड्रन अफ इन्जिनियरले पनि फकल्यान्डमा सेवा गरे। जमिनमा रहेका बारुदी सुरुङ र अन्य गोलाबारी खाली गर्ने खतरनाक काम गरे। एक जना गोर्खा कर्पोरल बुढाप्रसाद लिम्बूले खाडल भर्दा २४ जुन १९८२ मा ज्यान गुमाए। फकल्यान्ड युद्धमा निधन भएका उनी एक मात्र गोर्खा थिए।
१–७ गोर्खा मात्र फकल्यान्ड युद्धमा भाग लिने गोर्खा इन्फेन्ट्री बटालियन भए पनि हङकङका गोर्खा ब्रिगेडका अन्य एकाइलाई पनि तयारीमा राखिएको थियो। मलाई अझै तनावपूर्ण क्षणको याद छ, ड्युटीको मामिलामा बाहेक हामीलाई ब्यारेकबाहिर जान प्रतिबन्ध लगाइएको थियो।
असीको दशकारम्भमा गोर्खा ब्रिगेडलाई यसको सीमासम्म विस्तार गरिएको थियो। चीनबाट आउने अवैध आप्रवासीको बाढीलाई व्यवस्थापन गर्नेबाहेक भियतनामीहरूको आगमनले पनि हङकङमा समस्या सिर्जना गरेको थियो। गोर्खा ब्रिगेडले यो नयाँ समस्याको पनि सामना गर्नुप¥यो। गोर्खा बटालियन व्यवस्थित रूपमा नयाँ शरणार्थी शिविर निर्माण गर्न संलग्न थिए। उनीहरूले ती क्याम्प सञ्चालन गर्न प्रहरी र अन्य शक्तिलाई सहयोग गर्ने र आवश्यक पर्दा सुरक्षा सुदृढीकरण उपलब्ध गराउने गर्थे। त्यसका लागि सेक कोङ सैन्य हवाईमैदानको आधा रनवेसमेत बन्द गरेर अस्थायी शरणार्थी शिविरका रूपमा प्रयोग गरिएको थियो।
सन् १९७६ मा माओ त्से तुङको मृत्यु भएपछि देङ सियाओपिङले सन् १९७८ मा माओका चुनिएका उत्तराधिकारी हुवा गुओफेङबाट पदभार ग्रहण गरे। चीनका लागि नयाँ नीति सुरु गरे। सर्वोच्च नेता ‘द आर्किटेक्ट’ भनेर पनि चिनिने दोस्रो पुस्ताका नेता सियाओपिङले तीनओटा नयाँ नीति परीक्षण रूपमा नयाँ विशेष आर्थिक क्षेत्र ९सेज० सुरु गरे। सुरुमा दक्षिणी तटीय सहर चुहाई, सेन्जेन र सियामेन चयन गरिएका थिए। पछिपछि अन्य सहर थपिने बताइएको थियो। उनको भनाइ थियो, ‘बिरालो सेतो होस् वा कालो फरक पर्दैन, बस् मुसा समात्नुप¥यो।’ यो भनाइलाई चिनियाँले प्रसिद्ध मात्र बनाएनन्, व्यवहारमा पनि लागू गरे।
त्यसपछिका तीन दशकमा उनीहरूले चीनमा पैसा कमाउन असाध्यै काम गरे। यसले उनीहरूलाई आर्थिक रूपमा सम्पन्न गरायो। आधा अर्बभन्दा बढी मानिस गरिबीको चक्रबाट बाहिर आए। यसलाई एउटा चमत्कार मान्नुपर्छ। यसैकारण देङ सियाओपिङलाई मायाले ‘अङ्कल देङ’ भनेर सम्बोधन गरिन्थ्यो। उनी देशभर सम्मानित पनि थिए।
असीको दशकको मध्यतिर अवैध आप्रवासीको आगमन बिस्तार–बिस्तार कम हुँदै अन्ततः रोकियो। भियतनामी डुङ्गा मान्छे र भर्खरै खडा गरिएको बटालियनको आवश्यकता पनि थिएन। २–७ गोर्खालाई सन् १९८६ मा विघटन गरिएको थियो। बाँकी बटालियनले सैनिक र अधिकारीलाई ब्रिगेडभित्र राखेका थिए।
गर्मी, वर्षा, आँधीहुरी र दिन–रातको पर्बाह नगरी गोर्खाहरू सिमामा नगएको भए अवैध आप्रवासीको प्रलय हङकङभरि हुन्थ्यो। र, आजको स्थिति एकदम फरक हुन्थ्यो। जमिन र समुद्रमा हङकङ सिमानाको सुरक्षा गर्नुका साथै गोर्खा ब्रिगेडका अन्य काम पनि थिए। यसमा दङ्गा र नागरिक अवज्ञाको मामिलामा हङकङ प्रहरीलाई सघाउनु, राहत र आपत्कालीन अवस्थामा सुदृढीकरण बलका रूपमा काम गर्नु, सरकारी र सैन्य प्रतिष्ठानलाई चुस्त–दुरुस्त राख्नुलगायतका धेरै काम थिए। यो पूर्णरूपमा प्रशिक्षित, फिट र सधैँ लडाइँका लागि तम्तयार र हङकङको प्राथमिक रक्षा बलका रूपमा राखिएको थियो। गोर्खाहरू आरएएफको टुकडी र शाही नौसेनाद्वारा समर्थित हङकङको मुख्य सेना थिए।
ब्रिटिस सेनाको नियमित अन्तर्राष्ट्रिय बलका रूपमा गोर्खा ब्रिगेड पनि आवश्यक पर्दा विभिन्न भू–भाग र युद्धको प्रकारका लागि तयार हुनुपथ्र्यो। गोर्खाहरू आवधिक रूपमा वैदेशिक अभ्यास गर्न फिजी, मलेसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुवा न्युगिनी, बेलिज, साइप्रसजस्ता देशमा पुगेका थिए। त्यस्ता गतिविधिमा विभिन्न देशका सेना, विशेषगरी ब्रिटिससँग सम्बन्धित देश, लाई एकैठाउँमा भेला पारिन्थ्यो र संयुक्त शक्तिका रूपमा तालिम दिइन्थ्यो। सबै मिलनसार भए पनि विभिन्न राष्ट्रका सेनाबीचको प्रतिद्वन्द्विता निकै उग्र हुन्थ्यो।
यसबाहेक, औपचारिक गार्ड स्क्वाडको सानो टुक्रा पनि वार्षिक रूपमा दक्षिण कोरिया पठाइन्थ्यो। सैनिक उपलब्ध गराउने जिम्मेवारी पालैपालो हङकङमा रहेको गोर्खा बटालियनको हुन्थ्यो। हाम्रो बटालियनको पालो भएको बेलाको धमिलो सम्झना मसँग अझै पनि छ। हाम्रो आफ्नै कम्पनीका सैनिकलाई दक्षिण कोरिया पठाइएको थियो।
सन् १९८४ मा चीन र बेलायतबीचको सम्झौतापछि बेलायतले हङकङलाई ग्रेटर चाइनामा फर्काउने कामले गति लिएको थियो। जब १९९७ साल ९हस्तान्तरणको आधिकारिक मिति १ जुलाई १९९७ थियो० नजिकिँदै आयो, त्यहाँ गोर्खा ब्रिगेडको भविष्यबारेमा चिन्ता उत्पन्न भयो। पहिलो खाडी युद्ध ९२ अगस्ट १९९० देखि २८ फेब्रुअरी १९९१ सम्म० ले पनि यो अनिश्चिततालाई परिवर्तन गर्न सकेन। ब्रिगेडका गोर्खाहरूको एउटा सानो समूह एम्बुलेन्स चालक र राहत टोलीको हिस्साका रूपमा पहिलो खाडी युद्धमा गएको थियो। तिनीहरू कसैलाई कुनै चोटपटक लागेन, कसैको मृत्यु भएन।
सन् १९९० को सुरुआतसम्म गोर्खा ब्रिगेडको भविष्य तय भयो र कटौतीको पहिलो चरण प्रारम्भ भयो। बाँकी पाँचओटा गोर्खा इन्फेन्ट्री बटालियन दुईओटा बटालियनमा मात्रै मिलाइए। कोर एकाइ पनि पर्याप्त रूपमा घटाइए। सन् १९९४ सम्म ब्रिगेडको अन्तिम छाँटकाँट पूरा भएको समयसम्म जम्मा दस हजारमध्ये लगभग दुई हजार पाँच सय मात्र बाँकी थिए। तिनीहरूलाई १९९७ हङकङ हस्तान्तरणअघि युके सारियो। त्यसपछि यो नयाँ गोर्खा ब्रिगेडका रूपमा जारी छ।
हाल बेलायतमा सेवा गर्ने एकाइको सूची यसप्रकार छः
द फस्ट रोयल गोर्खा रेजिमेन्ट ९फस्र्ट आरजिआर०, सेकेन्ड रोयल गोर्खा रेजिमेन्ट ९सेकेन्ड आरजिआर०, क्विन्स गोर्खा इन्जिनियर्स, क्विइन्स गोर्खा सिग्नल्स, टेन क्विन्स ओउन गोर्खा लजिस्टिक रेजिमेन्ट आरएलसी, गोर्खा स्टाफ एन्ड पर्सनल सपोर्ट कम्पनी, द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाज, द गोर्खा कम्पनी इन्फेन्ट्री ट्रेनिङ सेन्टर, गोर्खा कम्पनी ९सिताङ० रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्ट, द गोर्खा कम्पनी ९मण्डले० इन्फेन्ट्री ब्याटल स्कुल ब्रेकन, ब्रिगेड अफ गोर्खा ट्रेनिङ टिम र गोर्खा ल्याङ्ग्वेज विङ, क्याटरिक।
ब्रिटिस सेनामा कार्यरत गोर्खाको कुल सङ्ख्या अहिले तीन हजार पाँच सयसम्म पुगेको बताइन्छ। कम्तीमा अहिलेलाई कुनै ठूलो परिवर्तनको सम्भावना छैन।
म कटौतीको पहिलो चरणमा सूचीकृत भएँ र सन् १९९३ को सुरुमा पेन्सनसहित नेपाल फर्किएँ। तपाईंले मेरो सैनिक समयको बारेमा पछिको अध्यायमा थप थाहा पाउनुहुनेछ।
गोर्खाहरूले हङकङ छोडेको बीस वर्षभन्दा बढी भइसकेको छ। तर, एउटा सानो र जीवन्त गोर्खा समुदाय अझै पनि हङकङमा बसोबास गर्छ। सन् १९९० को सुरुतिर हङकङमा गोर्खा ब्रिगेडको कटौती सुरु हुन थालेपछि गोर्खाहरू नागरिक रूपमा हङकङ फर्कन थाले। सुरक्षागार्ड, अङ्गरक्षक र निर्माणकर्मीको काम पाए। आफ्ना हजुरबुबाजस्तो तिनीहरूले खेतीकिसानी गरेनन्, बरु विश्वभरका विभिन्न देशमा अवसर खोजे। यो नयाँ प्रवृत्तिको पछाडि गोर्खाहरूको चिन्ता आफ्ना छोराछोरीको भविष्यका लागि थियो। हङकङ एउटा आदर्श र परिचित ठाउँ थियो। त्यहाँ उनीहरूले आफ्नो नयाँ घर बनाउन सहज महसुस गरे। थोरै समयमा नै हङकङ बस्ने गोर्खा र तिनका बालबच्चा पचास हजारभन्दा बढी भए। मेरो परिवार तीमध्ये एउटा थियो।
जब सन् २००९ तिर बेलायतमा बसोबास गर्ने गोर्खा न्याय अभियान सफल भयो, हङकङमा बस्दै आएका धेरै गोर्खा परिवार बेलायत सरे। अहिलेसम्म धेरै गोर्खाहरूले हङकङ छोडेर गएका छन्। हाल हङकङमा करिब बीस हजार गोर्खा बसोबास गर्दै आएका छन्। तर, तिनीहरू प्रायः दोस्रो वा तेस्रो पुस्ताका हुन्।
सुरुमा सुरक्षा र निर्माण उद्योगबाट सुरु गरेका हङकङका गोर्खाहरू अहिले नयाँ र विविध क्षेत्रमा अघि बढेका छन्। धेरैले निजी व्यवसाय स्थापना गरेका छन्। रेस्टुरेन्ट, किराना पसल, ट्राभल एजेन्सी, सुरक्षा फर्म, निर्माण, मानव संसाधन कम्पनीका साथै रसद र कुरियर सेवाजस्ता व्यवसायमा धेरैजसो गोर्खा संलग्न छन्। उनीहरू मुख्यतः जोर्डन र युएन लङ क्षेत्रमा छन्। गोर्खा परिवार हङकङका विभिन्न स्थानमा छरिए पनि जोर्डन र युएन लङमा अहिले धेरैजसो गोर्खा बसोबास गर्छन्। ती क्षेत्रमा गोर्खा स्वामित्वका पसल र व्यवसाय फेला पार्न गाह्रो छैन। अधिकांश गोर्खाहरूले काम गर्ने मुख्य उद्योग निर्माण हो। कामको कठिनाइ र जोखिमपूर्ण प्रकृतिका कारण यसले भुक्तानी पनि राम्रो गर्दछ। गोर्खा महिला प्रायः होटल, सेवा र आतिथ्य उद्योगमा काम गर्छन्।
सबै कठिनाइका बाबजुद नयाँ पुस्ताले आइटी, शिक्षा, चिकित्सा, व्यापार, मनोरञ्जन, बिमा र बैंकिङजस्ता विभिन्न उद्योगमा पेसेवरका रूपमा काम पाइरहेको छ। नयाँ पुस्ता शिक्षित छ। उनीहरूमा प्राविधिको ज्ञान छ। व्यवस्थापनस्तरमा समेत काम गर्दैछ। उदाहरणका लागि निरज गुरुङ। उनी सन् २०१६ मा एलिट हङकङ प्रहरी बलमा भर्ती हुनु गोर्खा समुदायका लागि रोमाञ्चक घटना थियो।
हङकङका गोर्खा समुदायमा पनि लेखक, कवि, गायक, सङ्गीतकार, कलाकार, चलचित्र निर्माता, पत्रकार, विचारक, सामाजिक कार्यकर्ता र फोटोग्राफरहरूको पनि कमी छैन। त्यस्तै राम्रा खेलाडी र मनोरञ्जनकर्ता पनि छन्। गोर्खाहरू बहादुर, बफादार र मिहिनेती मात्र होइनन्, हर्षित र आत्मनिर्भर पनि छन्। अनुकूलता भनेको गोर्खालीको अर्को नाम हो। घरभित्रको झगडा र कमजोरी हुँदाहुँदै पनि तिनीहरूले सभ्य जीवन बिताइरहेका छन्।
हङकङमा आफ्नो समयमा स्थापित गोर्खाहरूको सबैभन्दा प्रमुख विशेषतामध्ये प्रसिद्ध म्याकलेहोज ट्रेल एउटा हो। यो हङकङका विभिन्न ग्रामीण इलाकाका भू–भाग समेटिएको सय किलोमिटर दौड हो। यो खेलको नाम तत्कालीन हङकङका गभर्नर सर मरे म्याकलेहोसको नाममा राखिएको थियो। यसले अझै पनि वरपरका क्षेत्रबाट प्रसिद्ध धावकलाई आकर्षित गरिरहेको छ। स्थानीयले यस खेलबाट खुब मनोरञ्जन लिन्छन्।
(टिम आई गुरुङको पुस्तक आयो गोर्खाली (गोर्खालीको साँचो इतिहास) को अंश)
Shares

प्रतिक्रिया