हङकङ-अमेरिकाको उडानमा किन लगाइयो यात्रुलाई हतकडी? यस्तो रहेछ कारण

हङकङ-अमेरिकाको उडानमा किन लगाइयो यात्रुलाई हतकडी? यस्तो रहेछ कारण

यात्रुलाई अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले हतकडी लगाएर बाहिर निकालेका थिए (द स्ट्यान्डर्ड)


नेपालखबर
असोज २७, २०८१ आइतबार १५:४५, काठमाडौँ

क्याथे प्यासिफिक एयरवेजको हङकङ–अमेरिका उडानमा एक यात्रुलाई हतकडी लगाएर बाहिर निकालिँदै गरेको भिडिओ क्लिप यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकाका लागि उडेको उक्त जहाज सान फ्रान्सिस्कोमा अवतरण गरेपछि क्याबिनबाट एक व्यक्तिलाई हतकडी लगाएर निकालिएको हो।

करिब ३३ सेकेन्डको उक्त भिडिओमा एक वृद्ध व्यक्तिलाई हतकडी लगाएर अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले बाहिर निकालेका थिए। हङकङ एयरलाइन्सले उनलाई भविष्यमा उडान गर्न समेत प्रतिबन्ध लगाएको जनाएको छ।

क्यान्टोनिज भाषा बोल्ने ती व्यक्तिले चर्को स्वरमा विरोध गरिरहेको भिडिओमा सुन्न सकिन्छ।

‘मैले कुन कानुन तोडेको छु? यदि मैले कानुन तोडेको छु भने मलाई कानुनले सजाय दिनुपर्छ,’ उनले भनेका छन्, ‘तर, मैले केही गल्ती गरेको छैन!’ उनले आफू ८० को दशकमा पुगेका पनि चिच्याउँदै भनेका छन्।

अनलाइनमा पाइएका जानकारीअनुसार उक्त व्यक्तिले उडानमा विमानको ढोका खोल्न अनुरोध गरेका थिए। उनको उक्त अनुरोध अस्वीकार गरिनुका साथै उनी विघटनकारी व्यवहारमा संलग्न भएको आरोपसहित सान फ्रान्सिस्कोमा अवतरणपछि हतकडी लगाएर बाहिर निकालिएको हो।

घटनालाई क्याथेले पनि पुष्टि गरिसकेको छ। द स्ट्यान्डर्ड लेख्छ, ‘मिडिया सोधपुछको जवाफमा क्याथे प्यासिफिकले पुष्टि गर्‍यो कि, घटना ८ अक्टोबरमा हङकङबाट प्रस्थान गरेको उडान सीएक्स८७२ मा भएको थियो।’

पटक पटकको अनुरोध तथा चेतावनीलाई यात्रुले बेवास्ता गरेका थिए।

‘चालक दलबाट मौखिक चेतावनीको बाबजुद पनि विघटनकारी व्यवहार जारी रह्यो,’ क्यारियरका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) मा उल्लेख छ, ‘एक लिखित चेतावनी पनि जारी गरिएको थियो। र, स्थानीय प्रवर्तनलाई यात्रुलाई उडानबाट अवतरण गर्न सूचित गरिएको थियो।’

हङकङ एयरलाइन्सले ती यात्रुको कार्यलाई विघटनकारी मानिएको र उडान सुरक्षामा जोखिम खडा गरेको बताएको छ। साथै, उनलाई भविष्यमा क्याथे समूहद्वारा सञ्चालित सबै उडानमा समेत प्रतिबन्ध लगाइएको कम्पनीले जनाएको छ।

क्याथेले सबै निर्णय यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्नमा केन्द्रित भएको प्रष्ट्याएको छ।

‘हाम्रा ग्राहक र चालक दलको सुरक्षाले हामीले गर्ने हरेक निर्णयलाई मार्गदर्शन गर्छ,’ प्रवक्ताले भनेका छन्।

एयरलाइन्सले पक्राउ परेका यात्रुको विवरण भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .