डिसेम्बर १२ बिहान ५:३० बजे। अघिल्लो दिनको हिमपातले लन्डन पूरै हिउँमुनि पुरिएको थियो। माइनस डिग्रीको त्यो जाडोमा सिरकबाट बाहिर निस्कन पटक्कै मन थिएन। तर परदेशको ठाउँमा आफूखुसी गर्न कहाँ पाइन्छ र? यहाँ त घडीको अलार्मको आदेश पालना गर्नुपर्छ।
उठ्नेबित्तिकै मोबाइल चेक गर्ने बानी छ। यो आदत सायद तपाईंहरूमा पनि होला। केही अफलाइन म्यासेज रहेछन्। भाइबरको नेटिफिकेसनमा बिहान ३ः२२ बजेको एक भ्वइस म्यासेज रहेछ– इटहरीबाट साली मन्दिराको। करिब २ मिनटको त्यो भ्वइस म्यासेजमा २ दशकदेखि धरानमा बसेकी मेरी आमा लडेर टाउकोमा चोट लागेको खबर थियो। साथै नआत्तिनू, हामी उपचार गर्छाैं भन्ने आश्वस्त सन्देश पनि रहेछ।
टाउकामा चोट परेको भन्नेबित्तिकै त्यो निकै गम्भीर हुन सक्ने अनुमान गरेँ। मनमा तँछाडमछाड गर्दै अनेकौं शंकाको कालो बादल मडारिन थाल्यो। म ड्युटीतर्फ लागेँ। मन निकै बेचैन थियो। ड्युटी पुगेर घर धरानमा फोन लगाएँ, तर उठेन।
करिब १०ः४५ बजेतिर वाट्सएपमा मित्र पुष्कर भण्डारीको कल आयो। बीपी अस्पतालमा कार्यरत पुष्करको कल आएपछि मलाई आमाकै बारेमा हो भन्ने अनुमान गर्न समय लागेन। म अधीर भएर कल रिसिभ गरेँ। पुस्करले सञ्चो–बिसञ्चोको औपचारिक कुरा नगरी सीधै आमाको स्थिति गम्भीर भएको र जतिसक्दो छिटो नेपाल आउन सुझाव दिए।
एकदिन अगाडि मात्र भाइबरमा भिडिओ च्याट गरेको मेरी आमाबारे यस्तो समाचार सुन्दा म एकाएक हतास भएँ। मैले पुष्करलाई तत्काल हुन सक्ने सबै उपाय अवलम्बन गर्न अनुरोध गरेँ। केही छिनपछि बीपी अस्पतालको म्याट्रन कान्छी माइजू गायत्रीबाट पनि अर्को वाट्सएप म्यासेज आयो। उहाँका अनुसार पनि आमाको स्थिति जटिल भएकाले धरानमा भन्दा राम्रो उपचार हुने विराटनगर न्युरो अस्पतालमा लैजान तयारी भइरहेको जानकारी पाएँ। अनि माइजूलाई जति सक्दो चाँडो उपचार अगाडि बढाइदिन अनुरोध गरेँ।
मित्र उत्तर खत्री (नेपाल सरकारका सहसचिव) लाई समेत आमाको स्थिति गम्भीर भएको जानकारी गराएँ। उनले पनि त्यहाँका डाक्टरसँग उपचार द्रुत गतिमा गरिदिन कुरा गरिदिएछन्। आजसम्म एकपटक पनि अस्पताल जान नपरेको मेरो आमाको अस्पताल यात्राले कुन मोड लिने हो, त्यसले मेरो मन उद्वेलित बनायो।
एक मनले भन्थ्यो– आमालाई केही हुँदैन, सफल उपचार गराएर घर फर्काउनेछु। अर्को मनले भन्थ्यो– कतै मेरो आमा तलमामाथि भयो भने?
म त्यति आध्यात्मिक मान्छे त हैन तर पनि आमाको सुस्वास्थ्य र दीर्घायुका लागि यो संसारमा विश्वास गरिएका सबै ईश्वरसँग प्रार्थना गरेँ। नेपालमा लगातार आमाको स्थिति बुझ्ने काम भइरहेको थियो। बीपी अस्पतालबाट विराटनगर न्युरोमा पुर्याएपछि पनि आमाको स्थिति गम्भीर भएको, उमेरका कारण अपरेसन गर्न थप जटिल भएकाले अपरेसन गर्दा पनि खतरा र नगर्दा पनि खतरा भएको जानकारी प्राप्त भयो। मैले जति सक्दो छिटो अपरेसन गरिदिन आग्रह गरेँ। उनीहरूले २ वटा अपरेसन गर्नुपर्ने बताए।
रिसेप्सनको काम– मान्छेहरूको आवातजावत भइरहेको थियो। म आँसु थाम्न सकिरहेको थिइनँ। दिनभर आँसु पिउँदै काम गरिरहेको थिएँ। मलाई थाहा थियो– यस समय आमालाई मेरो निकै आवश्यकता छ। किनकि म एक्लो छोरा हुँ, न दाजुभाइ छन्, न दिदीबहिनी। अर्थात् ‘एक्लो अभागी फुस्रा’।
म चाहन्थेँ–चरीजस्तै भुरुर्र उडेर आमालाई भेट्न जाऊँ र उपचारमा जुट्न सँकू। तर यो भूगोलमा म आमाभन्दा साढे ७ हजार किलोमिटर टाढा सात समुद्रपारि थिएँ। बाध्यताको पिँजडामा कैदी भएको म निरीह थिएँ। सोही दिन नेपाल फर्कन आपतकालीन बिदा लिएँ। साथै नेपाल जाने टिकट अनलाइनमा खोज्न थालेँ। कतारमा वर्ल्डकपको चटारो, क्रिसमसले संघार टेक्न लागेको छेकले तत्काल टिकट पाउन सकिएन। बल्लतल्ल १५ तारिखको टिकट ओके गराएँ।
निजी अस्पतालले सरकारी अस्पतालले भन्दा राम्रो उपचार गरिदिन्छ भन्ने आमधारणा छ। म पनि आमाको सफल उपचार हुनेछ भन्ने कच्चा विश्वासमा थिएँ।
अपरेसनमा संलग्न टोलीले २४ घन्टापछि आमाको होस खुल्न सक्ने बताएका थिए। तर ३० घन्टा बितिसक्दा पनि आमाको होस खुलेन। १५ तारिख बिहानै अक्सब्रिज लन्डन बस्नुहुने मेरा ठूलमामा तीर्थले आमा यो संसारमा नरहनुभएको खबर सुनाउनुभयो। सोही बेला बीपीबाट कान्छी माइजूको वाट्सएप म्यासेज पनि आएपछि आमा नरहनुभएको निश्चित भयो।
यो खबरले आकाश खसेजस्तो, धर्ती भासिएजस्तो, मुटु चल्न बन्द भएजस्तो र निसासिएर सास बन्द भएजस्तो सबै एकैचोटि भयो। आँसुको वर्षा भयो। मलाई थाहा थियो– यो संसारमा प्रत्येक मानिसले दुई महत्त्वपूर्ण कुराको सामना गर्नुपर्छ। त्यो हो– जन्म र मृत्यु। जब कोही गर्भावस्थामा हुन्छन् र जन्मने बेलासम्म अनेक किसिमका खुसियाली मनाइन्छ, उपहार, शुभेच्छा बाँडिन्छ।
तर मृत्यु! यो पीडाको चरमबिन्दु हो। हामी कोही पनि यसको बारेमा सोच्न चाहँदैनौँ। चाहे आफ्नै मृत्युबारेमा होस् वा आफ्ना प्रियजनको निधन होस्। मृत्यु एक अनन्त पीडादायी अनुभव रहेछ, जुन अहिले म चुपचाप सहन गरिरहेछु। वि. सं. २००४ मा पाँच सन्तानमध्ये जेठी छोरीका रूपमा भोजपुरको साङपाङमा मेरो आमा जन्मनुभएको थियो। औपचारिक शिक्षा नलिए पनि व्यावहारिक ज्ञानमा पोख्त हुनुहुन्थ्यो।
अर्थात् मेरी आमा स्वयं विश्वविद्यालय थिइन्। संघर्षको प्रतिमूर्ति थिइन्। छिनोको प्रहार सहेर बनेको ढुंगाको सुन्दर प्रतिमाजस्तो। विचार र स्वाभिमानमा मकालु हिमालजस्तै अडिग तथा मन झरनाजस्तै सफा र कञ्चन। आँधीबेहरीले ढाल्न नसक्ने सतिसालजस्तै हुनुहुन्थ्यो– मेरी आमा। मलाई ९ महिनासम्म गर्भमा बोक्नुभयो्, अनि यो धर्ती देखाउनुभयो, दसधारा दूध चुसाउनुभयो, मैले पहिलो सास आमाको मायालु काखमा फेरेँ। मलाई हुर्काउन, बढाउन संघर्ष गर्नुभयो। आफ्नो गाँस काटेर मलाई खुवाउनुभयो।
मलाई अझै याद छ– म ७/८ वर्षको उमेरसम्म उभिई उभिई आमाको स्तनपान गर्थें। पहाडबाट धरान झरेपछि पनि आफ्नो मिजासिलो, सहयोगी र निश्छल स्वभावले छिमेकी तथा परपरसम्मका बालकदेखि वृद्धसम्मले ‘ठूलदिदी’ भनेर प्रेमपूर्वक सम्बोधन गर्थे। आमा परिवारको मियो तथा उज्यालो बत्ती हुनुहुन्थ्यो। त्यो उज्यालो बत्ती अचानक निभ्यो। म यतिखेर निष्पट अँध्यारोमा रुमलिएको छु। म अनुभव गर्न सक्छु– त्यो मृत्युको अन्तिम सास मेरी आमा मेरो हातमा बिसाउन चाहनुहुन्थ्यो। जसरी मैले मेरो पहिलो सास आमाको काखमा फेरेँ।
आमाले मप्रति गर्नुभएको महान् कार्य र असीमित प्रेमको गुण तिर्न नसकेकोमा आफूलाई लाख धिक्कार्नु शिवाय अरू के गर्न सक्छु र! म यस्तै निराशा र रित्तो मन लिएर लन्डनको हिथ्रो एयरपोर्टबाट काठमाडौँ उडेँ। कतार एयरवेजको त्यो विशाल चरी घरीघरी बादलभित्र हराउँदा ‘टर्बुलेन्स’ भई खस्लाजस्तो हुन्थ्यो, म जिन्दगीको त्यस्तै कठिन अशान्तिको सामना गरिरहेको थिएँ। जहाजले १६ तारिख करिब बिहान ७ बजे काठमाडौँ एयरपोर्टमा उतार्यो।
नौ महिनाअगाडि नेपाल उत्रिँदा जुन उमंग थियो, अहिले त्योभन्दा कैयौँ गुणा बढी निराशा थियो। म त्यहाँबाट सीधै डोमेस्टिक फ्लाइट भएर विराटनगर हानिएँ। त्यहाँबाट सीधै न्युरो अस्पतालको शवगृह! मैले मेरी आमाको सास नभेटे पनि लास भेट्नु थियो। शवगृहबाट आमाको लास बुझ्नुभन्दा पहिले अस्पतालबाट क्लियरेन्स गर्नुपर्ने थियो। नेपालका निजी अस्पतालले पासो थापेका हुँदारहेछन्। आफूखुसी अनेकौँ शीर्षकमा बिल चढाएर लुट्न समेत लुट्दारहेछन्। ती सबै क्लियरेन्स गरेपछि म शवगृहतर्फ लागेँ। मेरो सारा शरीर कामिरहेको थियो। नौ महिनाअगाडि धरान पुग्दा गेटमै मायाले मेरो गाला मुसार्दै स्वागत गर्नुभएकी मेरी मायालु आमाको हँसिलो मुहारलाई म कसरी बिर्सूं?
उमेरले परिपक्व भए पनि आमाको छेउमा आफूलाई बच्चा नै भएको भान हुँदोरहेछ। अनि आमाको काखमा लुटपुटिन मन हुँदो रहेछ। शवगृहको ढोका खोलेपछि आमाको लास बुझ्यौँ। अनि थर्थराएका हातले एम्बुलेन्समा आमाको लास राख्यौँ। मैले आमाको अनुहारको कपडा हटाएर हेरेँ, आमा! भनेर चिच्याएँ। तर आमा त सदाका लागि आँखा चिम्लिएर लीन भइसक्नु भएको थियो। म भक्कानिएँ। मनको दुःखको अथाह समुद्रमा छालको ज्वारभाटा चलिरहेको थियो। म छालमा हेलिन सकिरहेको थिइनँ।
आँखाबाट बलिन्द्र आँसु बहाउँदै धरान घरतर्फ आमा लिएर हानियौँ। आमालाई त्यो रात सिटिङ रुममै राख्यौँ। आफन्त, छिमेकीहरू आमालाई अन्तिमपटक श्रद्दार्पणका निम्ति उपस्थित भए। बिहान धरानकै हरियाली भन्ने समाधिस्थलमा हामीले आमाको भौतिक शरीरलाई सदाका लागि बिदा गर्यौँ। त्यो क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ।
आमा बितेपछि घरमा शून्यता छायो। झन्डै २ कठ्ठा जग्गामा आमाले खनेरै मकै, कोदो, फलफूल र तरकारी प्रशस्त उब्जाउनुहुन्थ्यो। दुईजनाले कति नै पो खान सक्थ्यो र? त्यसैले आफूले उत्पादन गरेका चिज छिमेकीसम्म बाँडेर खानु हुन्थ्यो। अझै अनि करेसाबारीमा आलु, साजसब्जीलगायत प्रशस्त तरकारी लगाउनुभएको रहेछ। ती तरकारी, बोटबिरुवा पनि आमाको अनुपस्थितिमा मजस्तै टुहुरा भएका छन्।
अब आमा नै नभएपछि कसले पानी हाल्छ र फल लगाउँछ? चारैतिर शून्य र निरश लाग्न थाल्यो। आमाको खाली बिस्तारा हेरेँ, जहाँ आमा सुत्नुहुन्थ्यो। र, म आमा भनेर बोलाउँथेँ। अनि आमाले केही न केही देखाउनुहुन्थ्यो, भन्नुहुन्थ्यो। अब आमा नै नरहेपछि मैले कसलाई आमा भन्ने? मैले आमाको व्यक्तिगत राखनधरन खोलेँ। थैली, झोला आदि। जहाँ आमाले मेरो फोटो राख्नुभएको रहेछ। त्यो आमाको मप्रतिको मायाको दसी थियो। म थप भावविह्वल भएँ।
म विदेशबाट करिब ३ वर्षको अन्तरालमा एकपटक आमा भेट्न जान्थेँ। आमाले यो अन्तरालमा कति धेरै ‘मिस’ गर्नुहुन्थ्यो होला? तर आमाले कहिल्यै दुखेसो पोख्नुभएन। बरु त्यो एक्लोपनको कालकुट विष पिएर सधैँ हामीलाई आशीर्वाद दिनुहुने मेरी आमा महान् हुनुहुन्थ्यो।
हामी परदेशमा रहनेहरू घरमा आमाबाबुलाई खर्च, पैसा पठाउँदैमा आफ्नो कर्तव्य पूरा भएको ठान्छौँ, त्यो सर्वथा गलत रहेछ। आमालाई पैसा हैन, आफ्नो सन्तानको साथ र माया चाहिएको हुन्छ। विशेषगरी हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा आदि देशमा विभिन्न बहानामा बसिरहेका कति नेपाली वर्षाैंसम्म नेपाल फर्किदैनौँ। कति आमा–बाबाहरू आफ्ना सन्तान आउने पर्खाइमै बिते। म त भन्छु– हरेक वर्ष नेपाल जाऔँ र कम्तीमा एक महिना आफ्ना आमाबाबासँग बिताऔँ। उनीहरूले इच्छाएका स्थानमा घुमाऔँ। किनकि यो संसारमा आमाभन्दा महान् कोही छैन।
आज आमा मलाई टुहुरा बनाएर जानुभएको ठीक एक महिना पुगेछ। त्यस्तो कुनै दिन छैन, जुन दिन आमालाई सम्झेर आँसु नखसेको होस्, त्यस्तो कुनै रात छैन जुन रात आँसुले सिरानी नभिजेको होस्। मलाई अझै पनि विश्वासै लागिरहेको छैन– मेरी आमा यो धर्तीमा हुनुहुन्न। आमाको यो रिक्तता कसैले पूरा गर्न सक्दैन।
मलाई थाहा छ– मेरी आमाले जीवनमा सबै कुरामा सुन्दरता देख्नुभयो, सकारात्मक सोच्नुभयो। उहाँ एक असाधारण मानिस हुनुहुन्थ्यो। तर एकदमै साधारण मनको मान्छे हुनुहुन्थ्यो। मेरी आमाले मलाई जीवनलाई पूर्ण रूपमा बाँच्न सिकाउनुभयो। म आमाको विरासतलाई बचाउने कोसिस गर्नेछु।
आमा! तपाईंको यो पहिलो मासिक पुण्यतिथिमा तपाईंलाई चढाउने असल थोक मसँग केही छैन। तपाईंको यादमा तपाईंले दिनुभएको यी दुई आँखाबाट खसेको आँसु श्रद्धापूर्वक चढाउँछु।
यो सर्सराइरहेको हावा तपाईंकहाँ पुगोस् र साउती गर्दै भनोस्– तपाईंको छोराले तपाईंलाई अघोरै माया गर्छ र सम्झिन्छ।
प्रतिक्रिया