चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार हङकङ आइपुगेका छन्। हङकङ बेलायती उपनिवेशबाट मुक्त भएर चीनले फिर्ता पाएको २५ औँ वर्षगाँठ समारोहमा सहभागी हुन सी हङकङ आएका हुन्।
२०२० मा महामारी सुरु भएयता सीको ख्यभूमिभन्दा बाहिरको यो पहिलो यात्रा हो। सी पत्नी पेङ ल्युआनसहित सेन्जेनबाट विशेष ट्रेनमा हङकङको वेस्ट काउलुन टर्मिनलमा उत्रिए।
सो क्रममा छोटो मन्तव्य दिँदै सीले हङकङ खरानीबाट उठेको बताए।
‘समग्र चिनियाँ राष्ट्र हङकङबासीसँगै यो खुसीको मौकामा रमाइरहेको छ,’ सीले भने, ‘पछिल्लो समय म यहाँ पाँच वर्षअघि आएको थिएँ। यी वर्षमा मैले हङकङलाई ध्यान दिएको छु र यसबारे सोचेको छु। गएका केही वर्षमा हङकङ एकपछि अर्को अग्निपरीक्षाबाट गुज्रिएको छ। र, एकपछि अर्को चुनौती र खतरालाई पार गर्दै आएको छ। आँधी र वर्षातपछि हङकङ खरानीबाट उठेको छ।’
उनले एक देश दुई व्यवस्थाको औचित्य पुष्टि भएको पनि बताए।
करिब साढे तीन मिनेट सम्बोधन गरेका उनले त्यसपछि राजनीतिकर्मी र व्यवसायीहरुलाई वान चाइमा भेटे। त्यसपछि उनी ताइ पोस्थित साइन्स पार्क गएका छन्।
उनको सम्मानमा बिदा हुन लागेकी कार्यकारी प्रमुख क्यारी लामले भोज दिने बताइएको छ। बिहीबार राति बास बस्न उनी सेन्जेन नै फर्केका छन्। शुक्रबार हङकङमा उनले नयाँ प्रमुख कार्यकारीलाई सपथ गराउने कार्यक्रम पनि छ। एससीएमपी
प्रतिक्रिया