राति अबेरसम्म जाग्राम बस्ने बानी। २४ अक्टोबर पनि बिहान ४ बजेपछि मात्रै निदाएको थिएँ। त्यतिन्जेल कतैबाट केही खबर आएन। आँखा बन्द नहुन्जेल फेसबुक वा युट्युब वा मन परेका लेखकका ‘आर्टिकल’ पढ्ने वा समसामयिक विषयमा चासो राख्ने बानी छ। सधैं ‘लेट नाइट’सम्म नसुत्ने बानीले स्वास्थ्य पनि खराब नै रहन्छ। यो आफ्नै अड्कल हो।
भोलिपल्ट २५ अक्टोबरका दिन लगभग ११ बजेतिर निद्रा खुल्यो। निद्रा खुल्नेबित्तिकै घडी हेर्ने बानी छ। लौ आज पनि लेटसम्म निदाएँ कि भन्ने थकथकी लागेको थियो। सुत्ने समय हल्ला मन नपर्ने कारण मेसेन्जर, ह्वाट्स एप, भाइबरको म्यासेज कल साउन्ड साइलेन्ट मोडमा राखिदिने बानी छ। त्यो दिन पनि त्यस्तै गरेको थिएँ। अफलाइनमा केही मिस्ड्कल थिए। मेसेन्जरको इन्बक्समा पनि उत्तिकै अफलाइन म्यासेज र कल थिए। लौ न कता के भो भनेर आत्तिँदै फेसबुकमा नजर लगाएँ। धेरैका वालमा शंकास्पद स्टाटस थिए।
आखिर जे नहोस् भन्ने चाहन्थें, त्यही भएको रहेछ! किसन भेनाको बारेमा यत्रतत्र हल्लाबीच हङकङका नेपाली– जो उहाँलाई चिन्थे, उनीहरू उहाँको दुर्घटनाको खबर सत्य नहोस् भन्ने कामना गरिरहेका थिए। तीमध्ये म पनि एक थिएँ। हङकङका उज्यालो दीप त्यसरी अकस्मात् निभ्यो भन्दा कसले पत्याउन सक्छ! हामीलाई त्यस्तै भयो।
उसो त त्यो अकाट्य सत्य नपत्याउनुको विकल्प पनि थिएन। तर मनले मान्दै मान्दैनथ्यो। आक्रोशित हुन्थ्यो मन। कसरी त्यस्तो ज्याद्रो व्यक्ति त्यति सजिलै भीरबाट खस्यो होला र! खसेर घाइते नभईकन ‘अन द स्पट डेथ’ कसरी भयो होला र! आखिर के के भयो उहाँलाई? को को थिए सँगै? केही दिन अगाडिसम्म उपल्लो मुस्ताङ, घान्द्रुक हुँदै ओखलढुंगाको यात्राबारे सोसल मिडियामा लेख्नुभएको थियो। फेरि अचानक यस्तो! २५ अक्टोबरको दिन बर्बराउँदै कट्यो।
भोलिपल्ट २६ अक्टोबरका दिन। हिजै साँझतिर मित्र इन्द्र थेगिमलाई कल गरेंथें। किसन भेनाका आमा र अर्धाङ्गिनी शोभा दिदीलाई भेट्न जाने सल्लाह गरेको थिएँ। बिहानै नामचोङ स्टेसनमा भेट्ने सल्लाहअनुसार भेट गर्यौं। दुवै जना तेस्रो व्यक्तिले दिएको एड्रेसको डाइरेक्सन पछ्याउँदै किसन भेना बस्ने बिल्डिङ पुग्यौं। माथि फ्लाट पुगेपछि दिदी र आमालाई भेट्दा झनै पीडा भयो। आमाको थरथराहट दिदीको मनमा बगिरहेको वियोगको सेती म अनुभूति गर्न सक्थेँ।
जन्मदिने आमाको बिलौना– ‘म अभागिनी हो नानी! बूढा पनि पहिल्यै गुमाएँ। अब छोराले पनि छोडेर गयो। दुवैको मैले नै अन्तिम बिदाइ गर्न पर्यो। म कस्तो दुखिया रहेछु नानी!’
के भनेर सान्त्वना दिऊँ! हामी केही बोल्न सकिरहेका थिएनौं। कताबाट भन्न मन लागेछ, ‘आमा! हामी छोरी मान्छे धर्ती हौं। जसले हरेक दशाको बज्र सहने क्षमता राख्छौं। तब दैवले हामीलाई हरेक जटिलता सहन सक्ने अलौकिक शक्ति दिएको हुन्छ।’
आमाको हात समाउँदै यति भन्न सकें।
आमाका अगाडि बस्दाबस्दै म्यासेन्जरमा किसन भेनाको शवको तस्बिर आयो। हंसले ठाउँ छाड्यो– लथालिङ्ग शरीर, घुँडा दुवै भाँचिएका, एउटा घुँडा जिन्सले अड्काएजस्तो देखिने। घुँडाको जोर्नीमा हाड मात्रै, छाला थिएन र जुत्ता दुवै खुट्टामा लगाइएको छ। चर्पी बस्दा लडेको भनिएको मान्छेको पेन्टको जिप लगाइएको छ। बेल्ट पनि लगाइएको छ। शव उधोंमुन्टो गरेर पानीमा आधा डुबेको छ। यस्तो अवस्थामा मान्छे कसरी भीरबाट खस्छ! यस्तो फोटो कसरी आयो भन्दै सोधखोज गर्दा घटनास्थलका स्थानीय भाइले आफ्नो फेसबुकमा राखेका रहेछन्। त्यस्तो फोटो देखेपछि भाइको पोस्टमुनि ‘भाइ इन्बक्समा आउनुपर्यो, यी मान्छे हाम्रा मान्छे हुनुहुन्छ’ भनेर कमेन्ट गरेपछि भाइसँग इन्बक्समा कुरा भयो।
ती भाइ घटनास्थलमा प्रहरीसँग गएका रहेछन्। भिडिओ पनि खिचेका रहेछन्। त्यो पनि पठाए। प्रहरीसँग मिलेर किसन भेनाको शव खोलाबाट बोकेर माथि सडकसम्म ल्याउँदा निकै सकस परेको भन्दै थिए। माथि सडकसम्म शव ल्याइपुर्याउँदा रातको साढे १२ बजेको थियो भने ती भाइले।
ती भाइले भने– मैले उहाँको मोबाइल कहाँ छ भन्दा गाडीको ज्याकेटमा छ भनेर भन्नुभो उहाँसँग आउनेहरूले। फेरि तिनै भाइलाई किसन भेनालगायत अन्य दुई जना पनि खोला नजिकबाट गाडीबाट झरेर १० मिनेटजति हिँडेर फोटो खिच्दै हिँडेको पनि भनिएको रहेछ।
शवको प्रकृति र मोबाइलको अवस्था नमिल्दा कतै आपराधिक पासोमा पारियो कि भन्ने लाग्न थाल्यो। शवको फोटो हेर्ने जो कोहीको मनमा– भीरबाट खसेको मान्छेको टाउको र छाती फुट्नुको साटो कसरी खुट्टाचाहिँ लथालिंग भयो? अग्लो भीरबाट खसेको मान्छेको जुत्ता किन खसेन? घटना साढे ५ बजे भनिएको छ। फेरि उहाँसँग हुने साथीबाट किन तत्काल खोजी गरिएन? किन प्रहरीलाई ढिला खबर गरियो? तत्काल उद्धार भएको भए उहाँलाई बचाउन पो सकिन्थ्यो कि? किनभने खुट्टा भाँचिनेबित्तिकै त मानिस मरिहाल्दैन– आदि प्रश्न उठ्छन्।
उहाँको अवस्था र घटनाले दिमाग ठेगानमा थिएन। शव र भिडिओ हेरेर हो कि निद्रामा पनि झसङ्ग हुन्थ्यो। झस्केपछि मनको शान्तिका निम्ति दियो बत्ती बालेर सुत्नुपरेको थियो। मन आत्तिने एक किसिमको एन्जाइटीजस्तो फिल भएको थियो।
अक्टोबर २७/२८ का दिन नेपालका सञ्चारकर्मी, राजनीतिकर्मी र नेपाल जनजाति महासंघलगायतमा आबद्ध विभिन्न व्यक्तिलाई लौ न के भएर त्यस्तो भो सोधखोज गरिदिनुस् भन्दै आग्रह पनि गरें। नेपाल आदिवासी जनजाति महासंघलाई अपिल गर्दै एउटा आग्रहसहितको स्टाटस पनि लेखेँ। त्यो स्टाटसमा उहाँ महासंघको हङकङ अध्यक्ष भएका नाताले पनि केन्द्रले सोधखोज गर्नुपर्ने हुन्छ भन्ने आशय थियो। हामी हङकङवासी नेपालीको शंका घटना नियोजित पनि त हुन सक्छ भन्ने थियो।
किनभने किसन राईको पत्रकारिताको निर्भीकता र संस्थागत सक्रियता धेरैका निम्ति घाँटीको काँडा बनेको थियो। यसैगरी नेपालमा गएर अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघको उट्घाटन गर्ने घोषणा पनि भएको थियो। यो आदिवासी जनजाति महासंघजस्तै समानान्तर संस्था खोल्दा केन्द्रमा रहेर जनजातिका मुद्दामा बोल्ने नेताहरूका निम्ति टाउको दुखाइको विषय पनि बनेको थियो पक्कै। साथै गएका मित्रहरू भन्दा अन्यबाट घटना गराइएको हुन सक्ने पनि आशंका गर्न सकिने अनेका कारण थिए।
कुनै पनि मान्छेको मृत्यु हुँदा हतारहतार श्रद्धाञ्जली दिनुभन्दा त्यसको कारण खोजी गर्नु सचेत र विवेकशील मानिसको कर्तव्य हो, संस्था वा समाजको कर्तव्य हो। कुनै रोगले मर्नु, उमेर पुगेर मर्नु, अलग पक्ष हुन्। तर असामान्य मृत्यु चाहे त्यो दुर्घटना नै भए पनि त्यो कसरी भयो भनेर जान्न पाउनु वा चासो राख्न पाउनु मानव हकको कुरा हो। र, यसरी नै चासो राखिएको हो। अझ थप हङकङमा बीसौं संस्थामा आबद्ध किसन राईले आफ्नो जीवनका उर्वर समय नेपालीको हक हितमा काम गर्दै पुर्खाहरूको संरक्षणमा खर्च गर्नुभयो। उहाँका समकालीन साथी पैसा कमाउन लागे। कर्पोरेट बने। उहाँ भने नेपालीलाई सूचना र साक्षर बनाउने उद्देश्यले एभरेस्ट पत्रिका प्रकाशन गर्दै नेपाली भाषा/साहित्यको विकासमा मरिमेटेर लागिरहनुभयो। तब न उहाँको मृत्युको चासो र खोजी सर्वत्र भयो। जुन जायज हो।
२९ अक्टोबरका दिन किसन राई आबद्ध संस्था एनआरएनएले श्रद्धाञ्जली कार्यक्रम राखेको थियो। त्यो भन्दा केही दिनअगाडि पनि विभिन्न संस्थामा आबद्ध ब्यक्तिहरू भेला भएर किसन राईको मृत्यु अनुसन्धानको माग गर्दै नेपाली कन्सुलरमार्फत नेपाल सरकार, प्रदेश सरकारलाई विज्ञप्ति बुझाउन छलफल गर्दै गर्दा उता नेपालबाट आङकाजी शेर्पाले घटनास्थलमा आफ्नो पार्टीका मान्छे खटाएर निरीक्षण गर्न भनेको र मृत्यु भीरबाटै खसेर भएको भन्ने दाबीसहितको स्टाटस लेखे।
त्यही स्टाटस हेरेर यहाँ लेख्दै गरिएको विज्ञप्ति रोकिएको थियो। यसमा असहमति राख्दै हामीले किसन राईको मृत्यु अनुसन्धान हुनुपर्छ भन्ने माग राखेर पुनः विज्ञप्ति बुझाउने सहमति गरेका थियौं। कारण आङकाजी शेर्पाले दिसापिसाब किसन राईकै हो भनेर ठोकुवा गर्न मेडिकल्ली सर्टिफाई भएको थिएन नै। खेलाँचीजस्तो किसिमले बुँदागत ठोकुवा गर्न वैज्ञानिक दृष्टिले हास्यास्पद हुन्छ।
घटनाको छैटौं दिन।
श्रद्धाञ्जली लेख्न/भन्न सकेको छैन। तर नभनी सुख पनि त छैन।
आदरणीय भेनाश्री! तपाइँ हुनुहुन्न भनेर मनले मान्न सकेको छैन। तपाईं हुनुले र तपाईं नहुनुले आकाश–जमिनको फरक पर्नेछ।
यस्तो लाग्दैछ– हामीलाई उज्यालो दिने सूर्य कुनै महासागरमा खस्यो। जसको अभावमा अन्धकार छाउनेछ। यसर्थ यहाँ तपाईंको स्थान सदासदा रिक्त रहनेछ। हङकङमा बस्ने हामी नेपालीका निम्ति एक अभिभावकको भूमिकामा सधैं अग्रस्थानमा रहनु भो। तपाईंको उपस्थिति थियो र त हामी यहाँ खुसी थियौं।
जब हङकङका नेपाली छापाबारे बुझ्न थालेँ, तब सुनिरहेको नामका व्यक्तिसँग भिन्नभिन्न कार्यक्रममा भेट भो। दिदीको साइनोले भेनाको साइनो लगाइयो। ख्यालख्यालमा ओखलढुंगाका राई र पश्चिम बागलुङकी मगर्नी हामी साली–भेना भइयो। हङकङका वरिष्ठ पत्रकार विभिन्न संस्थामा बसेर हङकङमा एक ‘मसिहा’को परिचय स्थापना गर्नुभएको व्यक्तिको साली भनेर चिनिन पाउँदा मलाई गर्वको महसुस हुन्थ्यो।
कहिले हाँसोठट्टा कहिले संवेदनशील मुद्दाहरूमा चर्चा गरिन्थ्यो। कतिपय अवस्थामा मतभिन्नता पनि रहन्थ्यो तर क्षणिक मात्रै।
कतिपय मान्छे भेना–सालीको सम्बोधनमा खोट देख्थे। तर उहाँ भन्नुहुन्थ्यो– ‘साली हामी हाम्रो ठाउँमा ठीक छौं। बाँकीको वास्ता नगर।’
कतिपय अवस्थामा नैतिक संकट पर्दा पनि उहाँ एक हुनुहुन्थ्यो, जसले हाम्रा निम्ति सधैं काँध थाप्नुभो। भेनाज्यू, एक पत्रकारका रूपमा र संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न गलत तत्त्वसँग लडिरहन सधैं अग्रस्थानमा उभिनु हुन्थ्यो, हामी पछिपछि हुन्थ्यौं।
पछिल्लोपटक हङकङकी सर्जक सुनिता गिरीले लेखेको दोस्रो संस्करण ‘माइत जाने बाटो’को लोकार्पणसहितको हाइकिङ कार्यक्रममा भेट भएको थियो।चुनवान स्टेसनमा सबै भेला हुने सल्लाहसहित म चुनमुन पुग्दा भेनाज्यूको फोन आएको थियो। चुनवानमै सिङमुन जाने मिनिबसमा भेट भयौं। मसँग कवि विष्णु मुखिया दिदी पनि हुनुहुन्थ्यो। मिनिबसमा भेना, म र दिदी गरेर तीन जना सिङमुन पुगेका थियौं।
त्यसलगत्तै कार्यक्रम सुरु भो। पुस्तक चर्चापछि भेनाज्यूले भर्खरै नेपाल सरकारबाट जनसेवाश्री पदकबाट सम्मानित हुनु भएको भनेर हामी सबैले खादा लगाएर सम्मान गर्न पायौं। औपचारिक कार्यक्रम सकेर हाइकिङ सुरु गरिएको थियो। हाइकिङको सुरुवातमा भाइ रोशन यक्सो स्टेन्ली दाजै, म, किसन भेनाज्यू अगाडि लाग्यौं।
सिङमुनबाट हाइकिङ सुरु गर्दा नेपाल जाने कुरा सुनाउनुभएको थियो। केटाहरूले बोलाएका छन्, यसपालि उपल्लो मुस्ताङ जाने भनेका छन् भन्नु भो। केटाहरू भनेका नेपालका उहाँका साथीहरू हुनुपर्छ भन्ने लाग्यो। एकाध घन्टाको रमाइलो हाइकिङ सकेर मिनिबस स्टप वासरूममा हातमुख धोयौं। वासरूमबाहिरको रेस्ट एरियामा बस्दै गर्दा भेनाज्यूसँग सेल्फी पनि लिएँ। तत्कालै पोस्ट पनि गरेँ।
मिनिबस चढ्ने बेला भने म सुनिता भाउजूहरूसँग अगाडि परेँ। उहाँहरू पछि हुनुहुन्थ्यो। म चुनवान स्टेसन आइपुग्दा गइसक्यो साली भन्दै कल गर्नु भो। म त फर्किसकें। भाउजूहरू जोर्डन जानु भो भन्नुभयो। उहाँ भने चुनवान वेस्ट हुँदै फर्कन्छु भनेको जस्तो लाग्छ।
एक महिना ज्यादा त भएको थियो। नेपाल सरकारले संविधान दिवसको अवसर पारेर हङकङमा पत्रकारिताका माध्यमबाट नेपाली समुदायमा योगदान पुर्याएबापत उहाँलाई ‘जनसेवा श्री’ पदक प्रदान गरिने घोषणा गरेको थियो। मलगायत हङकङवासी नेपाली उहाँको योगदानको कदर भएकामा अत्यन्तै हर्षित र गौरवान्वित भएका थियौं।
र, यही खुसी सुनाउन फोन पनि गरें, ‘ल बधाई तथा शुभकामना भेनाज्यू, अब खुसीको अवसरमा पार्टी चाहियो भनेर जिस्काएँ। जवाफमा अब साइँली सालीले कफी पिलाइन्, अब तिम्रो पालो। बरु कफी पिउने समय मिलाउँदा अलि अगाडि खबर गर्नू भन्नुभो। मैले प्रतिउत्तरमा भेना त हामीले पाएकै हो। तपाईं नमुना नै हो भन्दै ठट्टा गरेँ।
आज सम्झिरहेछु। भेनाज्यू सकुशल फर्केर कुनै दिन कफी पिउँला नि त भन्ने सोचेकी थिएँ। तर कुन भेट कुन बोली अन्तिम, जान्न नसकिने रहेछ! भेनाज्यूको महाप्रस्थानपश्चात् उहाँका आमा, दिदी र छोरालगायत आफन्तको दुःख महसुस गरिरहेकी छु। आमाको बिलौना थाहा छ। प्रिय दिदीको निश्छलताको सधैं सम्मान छ। आजका दिवंगत हिजोमा किसन राई बनाउन दिदीले गर्नुभएको समर्पणको बोध छ। उहाँ दुईको जोडी साँच्चिकै उदाहरणीय थियो।
घटनाको १८औं दिन।
यो लेख बिट मार्दै गर्दा स्वर्गीय किसन राईको पार्थिव शरीर पनि माटोमा विलिन हुन लागिसक्यो होला। र, ढिलोचाँडो पोस्टमार्टम रिपोर्टमा भीरबाट खस्दा बजारिएर मृत्यु भएको प्रमाणित हुनेछ। यसबीच आफ्नो पनि एक दिन मृत्यु हुन्छ भन्ने सत्य भुलेर तपाईंको निधनमा खुसी मनाउने मूर्खहरू पनि देखिए। त्यो तपाईंको व्यक्तित्वको खुबी हो। जुन खुबी मृत्युपर्यन्त पनि मानवभित्रका नकारात्मक पक्षलाई उजागर गरिदिन सक्षम हुन्छ।
आजका दिनसम्म पनि किन मनले सजिलोसँग मान्न तयार छैन– भीर नै तपाईंको मृत्युको अकाट्य कारक हो। मन न हो। जो भौतिकवादी दिमागको नियन्त्रणमा रहँदैन। हङकङ साहित्य शृंखला र एनआरएन किरात राई यायोक्ख्याले राखेको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएर तपाईंको आत्माको चिरशान्तिको कामना गर्ने मौका मिल्यो।
प्रिय शोभा मगर दिदीको साइनोले दिएको भेना–सालीको ‘नोकझोंक’ अझै ताजा छन्। गत वर्ष एभरेस्ट खबर २० वर्ष पुगेको अवसरमा आफ्ना हितैषीबीच सुटुक्क कार्यक्रम गरेको देखेपछि हाम्री मगर्नी दिदीको बलियो साथ थियो र नै आजको किसन राई बन्न पाउनुभएको छ। कदरस्वरूप दिदीलाई सम्मान गर्नुपर्दैन? यो त भएन है! यसरी नै भन्दा हौ हल्ला नगर न साली। अब सिल्भरजुबली मनाउँदा महिला विशेष हुनेछ, भन्नु भएको थियो।
केही वर्षअगाडि एनआरएनएको हाइकिङमा उकालो उक्लिन सकस पर्दा जिस्क्याएको थिएँ। बुढेसकालमा उकालो उक्लिन गाह्रो छ भन्दै। धेरैजसो कमेन्टमा बूढो भेना भन्दै जिस्क्याउँदा चित्त दुखेको रहेछ। सिङमुन हाइकिङमा खासै उमेर ग’को त होइन, तर सालीले बूढोभन्दा साँच्चिकै बूढो भइयो कि क्या हो भन्दै ठट्टा गरेको आजै जस्तो लाग्छ। अब नभनौंला जवान भेना भन्दिऔंला नि त भन्दा सबैजना हाँसेका थियौं।
अब त कसलाई स्याटर हान्नु! त्यो हक्की स्वभाव अरूमा देख्दिनँ। चित्त नबुझेको कुरा भनिहाल्ने स्वभाव मिल्थ्यो। केही मानिसको जस्तो दोचारे स्वभाव देखिनँ तपाईंमा। परिचयपछि विभिन्न समयमा भएका भेटमा साली भन्दै बोलाउने अर्का व्यक्ति छैनन्। र, हुने छैनन् पनि। किनभने केही मान्छे एक्ला दस्तावेज हुन्छन् र अलग हुन्छन्। भौतिक अन्त्यले मानिसको व्यक्तित्वको अवसान कहिले हुँदैन।
मनको कुरा अलग छ। मनले ‘अमान्य मृत्यु’ हो भनेर मान्न दबाब दिइरहन्छ। आफू त मनले बाँच्ने मान्छे। मनकै प्रभावमा तपाईंको अवसानलाई नमान्ने पक्षमा छ। यो मनले तपाईंप्रतिको पवित्र धारणाको सधैं सम्मान गर्नेछ। मनमा उम्रिने भाव/संवेग शब्दमा लेखेर वा बोलेर साध्य पनि त छैन...!
यो पनिः
हङकङले गुमाएको ‘वन म्यान आर्मी’, जोसँग गुन्डा पनि थुरथुर हुन्थे
प्रतिक्रिया