बागमती


वर्षाका बेला नजाऊ भन्दाभन्दै लाङटाङ घुम्न गएका थिए गोसाइँकुण्डमा बेपत्ता ३ दिदीभाइ

अझै भेटिएनन् रसुवाको बेरिङ खोलाले बगाएका भक्तपुरका ४ युवा
वर्षाका बेला नजाऊ भन्दाभन्दै लाङटाङ घुम्न गएका थिए गोसाइँकुण्डमा बेपत्ता ३ दिदीभाइ

रसुवाको गोसाइँकुण्डमा बाढीले बेपत्ता भक्तपुरकी संगीता श्रेष्ठका ३ दिदीभाइ।


सुनिता विष्ट
असोज २०, २०८२ सोमबार ८:२०, हेटौँडा

दसैँको अवसरमा भक्तपुरबाट रसुवाको लाङटाङ घुम्न जाँदा शनिबार साँझ खोलाले बगाएर बेपत्ता ४ युवा अहिले (सोमबार बिहान) सम्म भेटिएका छैनन्। 

लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–४ दधिकोटका २६ वर्षीया संगीता श्रेष्ठ, उनका बैनी २४ वर्षीया संस्कृति  र भाइ २० वर्षका किसन श्रेष्ठ तथा भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ हराइरहेका छन्। 

आइतबार दिनभर खोजी गर्दा पनि उनीहरूलाई फेला पार्न नसकिएको रसुवा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

‘हिजो (आइतबार) बिहानैदेखि सिडिओ साबसहितको टोली घटनास्थल खटिएका थियौँ, तर फेला पार्न सकिएन’, सोमबार बिहान नेपालखबरसँग उनले भने, ‘घटना घटेको बेरिङ खोल्सा निकै ठाडो छ। त्यसमा पनि खोँचहरू छन्। त्यहाँबाट २ सय मिटर तल लाङटाङ खोला छ। त्यो हिमालबाटै आएको खोला भएका कारण पानीको बहाब पनि ठूलो छ। लाङटाङ खोला अलि तल आएपछि त्रिशूली नदीमा मिसिएको छ। त्यो कारणले पनि भेट्न मुस्किल भइरहेको हो।’

उनीहरू दसैँको टीकाको दिन (असोज १६ गते) घर र आफन्तहरूकोमा टीका लगाएर भोलिपल्ट १७ गते बिहानै लाङटाङ जान भक्तपुरस्थित घरबाट निस्किएका थिए। रोटरी क्लब अफ भक्तपुरमा आबद्ध उनीहरू क्लबको टिमसँगै भ्रमणमा गएका थिए। 

बेपत्ता संस्कृतिका काका केशव श्रेष्ठका अनुसार १६ जनाको टोली हायस गाडी रिजर्भ गरेर गएका थिए।

‘पानी पर्ने मौसम पूर्वानुमान छ, नजाओ भनेर दाइ-भाउजूले भन्नुभएको थियो रे, केही हुन्न, ग्रुप नै जानी हो भनेर निस्किएका रहेछन्’, उनले नेपालखबरसँग भने, ‘उनीहरूसँगै गएकी सनिताले फोन गरेर ४ जनालाई बाढीले बगाएको खबर गरेकी थिइन्। जसमा हाम्रै परिवारका मात्र तीन जना छन्।’

सनिता पनि संगीताकै परिवारकी हुन्।उनी भने सकुशल छिन्। उनीहरू चारै जना भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट निवासी कृष्णबहादुर श्रेष्ठका छोराछोरी हुन्। 

सनिताले बताएअनुसार सुरुमै उनीहरू ४ जना हात समाएर खोल्सा तर्न खोज्दा बाढीले बगाएको हो।

बाढी-पहिरो आउने समाचार आइरहेको छ, अहिले नजाऊ भन्दाभन्दै उनीहरू अटेर गरेर निस्किएको केशव बताउँछन्।

उनीहरूसँगै बेपत्ता रवि श्रेष्ठ भक्तपुरकै कमलविनायकमा जुत्ता पसल सञ्चालन गर्ने भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले जानकारी दिए। उनका अनुसार बेपत्ता रवि भक्तपुर नगरपालिका-१० का राजु श्रेष्ठका एकमात्र छोरा हुन्। उनकी एक दिदी छिन्।

वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाका अनुसार रविलाई पनि उनका परिवारले नजान पटक-पटक सम्झाएका थिए। तर साथीहरूसँग ट्रेकिङ जाने प्लान पहिल्यैदेखि बनाएको भन्दै जिद्दी गरेर गएको रविका बावु राजुले आफूलाई बताएको वडाध्यक्ष ह्यौंमिखाको भनाइ छ।

बाढीले बगाउँदा बेपत्ता उनीहरूको खोजीमा सिंगो सुरक्षा संयन्त्र नै लागिपरेको रसुवा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। 

उनका अनुसार खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित जिल्लाका सबै सुरक्षा संयन्त्र खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad