मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘बिहेवारी बीस वर्षपारि’ लेखिएका ठूलाठूला सूचनापाटी देखिन्छन्। यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन्।
यसको ज्वलन्त उदाहरण हो- बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया-२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ। राम्रो लाउने, मिठो खाने र साथीहरूसँग घुमेर हिँड्ने कलिलो उमेरकी रञ्जिता घाँसको भारीमाथि ३ वर्षीय छोरा बोकेर गाउँबेँसी गरिरहेकी छन्। उनलाई सानैदेखि नृत्यमा असाध्य रुचि थियो। तर १६ वर्ष नपुग्दै भागी विवाह गरेपछि उनको पढाइ र सपनामा पनि पूर्णविराम लागेको हो।
निजगढमा कक्षा ९ मा पढ्दै गर्दा आफ्नै कक्षामा सँगै पढ्ने साथीसँग बसेको प्रेमका कारण भागी विवाह भएको थियो। रञ्जिता भन्छन्, ‘विवाह गरेर एकदम सुख पाउँछु भन्ने मलाई लागेको थियो, मलाई पढाइमा असाध्यै रुचि थियो र सँगै नृत्यको प्रशिक्षक बन्न पनि।’
विवाहको केही दिन त उनलाई नयाँ घरपरिवारमा पाएको मायाले निकै खुसी दिएको थियो। तर विद्यालय जान नपाउँदा भने आकाश खसेजस्तो भएको उनी सम्झिन्छिन्।
रञ्जिता भन्छिन्, ‘जब सासूआमाले भन्नुभयो- अब तिमीले घर सम्हाल्नुपर्छ, खेतीपाती गर्नुपर्छ, तब बल्ल मलाई आफ्नो खुसी कम भएको जस्तो लाग्न थाल्यो।’
उमेर सानो भए पनि निकै गम्भीर देखिने र परिपक्व कुरा गर्ने रञ्जितालाई ख्यालख्यालमै सुखका लागि गरेको विवाहले यसरी थिच्छ भन्ने लागेको थिएन।
अगाडि भन्छिन्, ‘घरको काम पनि नगरी आमालाई जितेर खाएको झलझल सम्झँदै आफूले गरेको गल्तीको सजाय भोग्न म बाध्य भएँ, मेरो बुद्धी आउँदासम्म मसँग मेरो विद्यालय र ठूलो स्टेजमा नृत्य गरेर आफूलाई चिनाउने सपना दुवै हराइसकेछ, अनि थाहै नपाई म त ठूली पो भइसकेछु।’
घरमा आफू बुहारी भएको आभासले स्वतन्त्रता खोसिएको लागे पनि भाग्यमा लेखिएको मेटिँदैन रहेछ भन्दै चित्त बुझाएको उनी सम्झिन्छन्। खेतबारी र वनजङ्गल उहाँको विद्यालय, अनि घरधन्दा र परिवारको हेरचाह उहाँको नृत्य कक्षा बनिसकेको थियो।
विवाह गरेको केही महिनामा नै गर्भ बस्यो। गर्भवती भए पनि करिब डेढ घण्टाको बाटो ओरालो झरेर डोकोमा दुईवटा गाग्रीमा पानी ल्याउनैपर्ने उनको बाध्यता थियो।
हाल गाउँमा पानीको व्यवस्था भए पनि दुई वर्ष अगाडिसम्म उक्त गाउँका सबै महिलाको बिहानी पानी बोकेर उकालो लागेसँगै सुरु हुन्थ्यो। डाँडामा घर अनि बेँसीमा पानीको मुहान, खेतबारीको काम र वनमा घाँसदाउरा यो नै रञ्जिताको दैनिकी बन्न पुग्यो। विस्तारै उहाँलाई अब पढाइ र सपनाका बारेमा भुल्ने बानी पर्न थालेको उनी बताउँछिन्।
उनलाई अब आफ्नोभन्दा पनि पेटमा हुर्किरहेको बच्चाको चिन्ता लाग्न थालेको सम्झिन्छिन्। बच्चा जन्मिएपछि केही समय आराम गरेर उनको जीवन फेरि उही पुरानै दैनिकीमा फर्किएको उनले बताइन्।
श्रीमान्को उमेर पनि आफूसँगैको भएकाले उनको पनि कमाइ नभएको र पैसाको समस्या हुन थालेको रञ्जिताले बताइन्।
पढाइ पूरा नभएको र गाउँमा काम नपाउने भएकाले विदेश जानैपर्ने बाध्यता आइपर्यो। अब उनलाई आफ्नोभन्दा पनि छोराको पढाइको चिन्ता लाग्न थाल्यो। छोरालाई राम्रोसँग पढाउनकै लागि श्रीमान् विदेश गएको उनको भनाइ छ।
यतिबेला रञ्जिताको काखमा ३ वर्षको छोरा छ। उनी आफ्नो छोरा, सासूससुराको स्याहारसँगै खेतीपाती गर्न व्यस्त हुन्छिन् भने उनका श्रीमान् दुबई गएका छन्, त्यो पनि गाउँमा रु पाँच लाख ऋण गरेर। श्रीमान् पनि अहिले २० वर्षको मात्र छन्।
उनको काँधमा परिवार पाल्ने र ऋण तिर्नुपर्ने बाध्यता छ। सोह्र वर्षमा विवाह, १७ वर्षमा बच्चा र २० वर्षमा परिवार पाल्न विदेश जानुपर्ने बाध्यताले उनलाई पनि समस्या भएको रञ्जिताको भनाइ छ।
बिहानै उठेर घरधन्दा गरिसकेपछि वनमा घाँस काट्न जान्छिन्। त्यसपछि अरूको खेतबारीमा पर्म गर्न गएर आफ्नो खेतालाको जोहो गर्ने जिम्मेवारी पनि रञ्जिताले पूरा गरिरहेकी छन्। मुख्य खेतीका रूपमा मकै फलाउने उनको परिवारको मुख्य खाना पनि मकैको ढिँडो नै हो। रञ्जिता मात्र होइन, यहाँ सानै उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या निकै छ। सबैको अवस्था रञ्जिाको जस्तै छ।
Shares

प्रतिक्रिया