अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक प्रतिनिधिमण्डलले काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सार्वजनिक रोजगारी सेवाका विषयमा छलफल गरेको छ।
आईएलओ जेनेभाको लेबर मार्केट सर्भिसेस अफ ट्रान्जिसन्स युनिटका प्रमुख माइकल वासिकाकाताको नेतृत्वको प्रतिनिधि मण्डलले श्रमसँग सम्बन्धित महानगरपालिकाले गरेका कामका विषयमा जानकारी लिएको हो। यस क्रममा प्रतिनिधिहरूले आपसी कार्यक्रमको अन्तरसम्बन्धमा विषयमा जिज्ञासा राखेका थिए। प्रतिक्रियामा उपप्रमुख डंगोलले भनिन्, ‘रोजगारीका लागि दक्षता प्रदान गर्ने कार्यक्रम, रोजगारीमै रहेका तर क्षमता विकासको अवसर नपाएका श्रमिकका लागि दक्षता वृद्धि गर्ने तालिम, तालिम लिएका व्यक्तिहरूलाई श्रम बैंकमा आबद्ध गराएर रोजगारीका अवसर प्रदान गर्ने कामलाई महानगरपालिकाले प्राथमिकता दिएको छ।’
छलफलमा गएको वर्ष महानगरपालिकाले सञ्चालन गरेको सीप मेलासँग श्रम र रोजगारीका अवसरका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, ६८ हजार आवेदकमध्ये करिब ३९ हजार व्यक्ति तालिमका लागि योग्य रहेकोमा २ हजार ७ सयलाई सीप विकासको तालिम दिइएको जानकारी दिए।
त्यस क्रममा मानव पुँजी बजारको अवस्था, महानगरपालिकाले सञ्चालन गरेको श्रम बैंकमा आबद्धता र उपयोग, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत विषयमा कुराकानी भएको महानगरपालिकाले जनाएको छ।
Shares

प्रतिक्रिया