निर्माण व्यवसायी संघ मकवानपुरले दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ गर्ने भएको छ। निर्माण व्यवसायी संघ मकवानपुरको मुख्य आयोजना तथा नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा आगामी फागुन महिनाका दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको हो।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले निर्माण व्यवसायीको अधिकारसँगै उनीहरु क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठीसँगै निर्माण उद्योग क्षेत्रको समग्र विकासमा काम गर्दै आएको र यसै अन्र्तगत निर्माण तथा व्यापार महोत्सव गर्न लागिएको जानकारी दिइएको हो।
आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म निर्माण तथा व्यापार महोत्सव आयोजना हुँदैछ। १० वर्षपछि दोस्रो संस्करणको रुपमा आयोजना गर्न लागिएको हो। यसअघि संघको आयोजनामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०७१ सम्पन्न भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिए।
पछिल्लो समय देशको निर्माण उद्योग क्षेत्र सरकारले समयमा कामको भुक्तानी नदिएका कारण लगायतले सिथिल हुँदा देशको अर्थतन्त्र अपेक्षाकृत चलायमान हुन नसकेको बताउँदै अध्यक्ष कडेँलले भने, ‘पछिल्लो समय निर्माण व्यवसाय सुस्ताएको अवस्थामा महोत्सवले उकास्न प्रोत्साहन गर्छ भन्ने अपेक्षाले मेलाको आयोजना गरिएको हो। यस संघले निर्माण व्यवसायीहरुको हकहितसँगै मकवानपुरको सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। संघले निर्माण व्यवसायीको अधिकारसँगै उनीहरु क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठीसँगै निर्माण उद्योग क्षेत्रको सम्रग्र विकासमा काम गर्दै आएको छ।’
महोत्सव तथा प्रदर्शनीबाट हुने निर्माण व्यवसायसँगै यसक्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउँदै अध्यक्ष कडेँलले भने, ‘यो महोत्सवबाट १ करोड १७ लाख रुपैंया आम्दानी हुने आंकलन गरिएको छ।’
महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्मक कार्यकम आयोजना गरिने तथा नेपालमा ‘क’ वर्गका निर्माण व्यवसायीहरु समेत सहभागी भई यस क्षेत्रसँग सरोकार राख्ने सरोकारवाला समेतको सहभागितामा हुने छलफल, गोष्ठीका निस्कर्षहरु नीति निर्मातालाई ध्यानाकर्षण गराइने बताइएको छ।
महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालालाई विशेष जोड दिइने भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने छ। साथै महोत्सववाट निर्माण लगायत समग्र उद्योगको क्षेत्रमा लागानीयोग्य वातावरणको निर्माण विश्वास गरिएको उनले बताए।
महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, बिक्री र प्रदर्शनी गरिने बताइएको छ।
महोत्सव निर्माण सामाग्री उद्योगी, बिक्रेता र उपयोगकर्ता बीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका बीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कडेँलको भनाइ छ।
महोत्सवलाई सम्पन्न गर्न २११ सदस्यीय महोत्सव मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ। महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्री लगायत स्थानीय उत्पादन गरी ३ सय ५० स्टल रहने आयोजकको आंकलन छ।
स्टल शुल्क ७ हजार रुपैंयादेखि ५० हजार रुपैयाँसम्मको रहने अध्यक्ष कडेँलले बताए। उनका अनुसार स्टलको आकार र क्षेत्रफल अनुसारको रकम निर्धारण हुनेछन्।
स्टलमा स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पहिलो प्राथमिकता मकवानपुरका व्यवसायीहरुलाई नै रहने बताइएको छ। महोत्सव प्रवेश शुल्क विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७५ रुपैयाँका दरले लिइने निर्माण व्यवसायी मकवानपुरले जनाएको छ।

प्रतिक्रिया