बागमती


बागमती सरकारले विपक्षीसँग गरेका प्रतिबद्धता भुल्यो : जम्मकट्टेल

बागमती सरकारले विपक्षीसँग गरेका प्रतिबद्धता भुल्यो : जम्मकट्टेल

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १६:२९, हेटौंडा

बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकार असफल र गैरजिम्मेवार भएको बताएको छ।

मंगलबार (आज) संसदीय दलको कार्यालय, हेटौंडामा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारले विपक्षीसँग गरेका प्रतिबद्धताको अवज्ञा गर्दै सरकार एकलौटी ढंगबाट चलेको बताउँदै वर्तमान बागमती प्रदेश सरकार असफल र गैरजिम्मेवार भएको बताएका हुन्।

उनले यस्तो परिस्थिति अविलम्ब अन्त्य हुनुपर्नेसमेत बताएका छन्।

वर्तमान सत्तारुढ दल समेत संलग्न रहेर निर्माण भई सर्वदलीय सहमतिमा बजेट पारित भएको उनले स्मरण गराए।

निर्वतमान मुख्यमन्त्री समेत रहेका जम्मकट्टेलले पारित बजेटको कार्यान्वयन, बजेट पारित गर्दा भएका सर्वदलीय सहमति र सरकारका प्रतिबद्धताहरु तथा त्यस यता आएका बाढी पहिरो लगायत प्राकृतिक विपत्ति लगायतका विषयमा प्रदेश सरकार समक्ष माओवादी केन्द्रका तर्फबाट पेश गरिएका ज्ञापन पत्रको कुनै सुनुवाइ नभएको गुनासो गरे।

उनले भने, ‘प्रदेश सरकारले प्रदेश एवं प्रदेशवासी नागरिकहरूलाई बाढी पहिरोले गरेको विनाश र विपत्ति लगायतका जरुरी महत्वका विषयलाई निषेध गर्नुका साथै त्यससम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्ने कार्यलाई प्रदेश सरकारले पूर्णतः बेवास्ता गर्दै आएको छ।’

उनले थपे, ‘बजेट कार्यान्वयन कछुवाको गतिमा भएका छन्। निर्माण कार्य सम्पन्न नभएका तर म्याद गुज्रेका ठेक्काका सवालमा कुनै निर्णय नगर्ने जस्ता कारणले विकास निर्माण कार्य ठप्प भएका छन्। बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड अनुसार बजेट व्यवस्था भएका योजनाहरू असोज मसान्तभित्र बहुवर्षीय योजना स्वीकृत गरी प्रक्रियामा लैजान नसक्नु सरकार कति उदासिन छ? भन्ने उदाहरण पनि हो।’

सरकारले ल्याएको बजेट नागरिकको मर्म र भावना अनुसार कार्यान्वयन नगर्नु चिन्ताको विषय भएको जम्मकट्टेलले बताए। मापदण्ड विपरितका टुक्रे आयोजनाहरूलाई नियम विपरित ठेक्कामा लैजान कर्मचारीलाई गैरकानूनी आदेश जारी गरेर प्रदेश सरकार आफैंले कानूनको उपहास गरिरहको जम्मकट्टेलको आरोप छ। जसले गर्दा विकास र सेवा प्राप्त गर्ने प्रदेशवासी नागरिकको अधिकार कुण्ठित भएको उनको भनाइ छ।

बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको पक्षमा तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा र लागू गर्न, चालु आर्थिक बर्षकोे बजेटमा व्यवस्था भएका बहुवर्षीय मापदण्ड अनुसारका योजनाहरुलाई तुरुन्त ठेक्का प्रक्रियामा अगाडि बढाउन, म्याद गुज्रेका ठेक्काका सवालमा अविलम्ब उचित निर्णय गर्न, बजेट पारित गर्दाका बखत भएका प्रतिवद्धता तथा सर्वदलीय सहमतिको कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराइएको दलका नेता जम्मकट्टेलले बताए।

यस्तै, आसोज १४ गते काठमाडौंमा बसेको सर्वदलीय बैठकको निर्णयलाई कार्यान्वयन गर्न र कार्तिक २८ गते माओवादी केन्द्र संसदीय दलले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुझाएको ज्ञापन पत्रलाई सम्बोधन गर्न मुख्यमन्त्री लामाको ध्यानाकर्षण गराएको उनको भनाइ छ।

‘सरकारलाई बेला बेलामा हामीले घच्घच्याउँदा पनि हामीसँग भएका कुनै प्रतिवद्धताहरूमा सरकारले तदारुकता देखाएन,’ पत्रकार सम्मेलनमा माओवादी संसदीय दलका सचेतक रत्न प्रसाद ढकालले भने, ‘सरकारले प्रदेश सभा बैठक डाक्न पनि कुनै हतार गरेको छैन।सदन नडाकेको प्रति पनि हाम्रो आपत्ति छ।’

प्रदेश सभा बैठक अविलम्ब बोलाउन प्रदेश सरकारसँग माग गरिएको ढकालले बताए। यदी बैठक आव्हान नभए प्रतिपक्षी दलहरु मिलेर संवैधनिक प्रक्रियाबाट सभाको बैठक अघि बढाउने उनले चेतावनी दिए।  

बागमती प्रदेश सभा बैठक अन्तिम पटक गत असोज ७ गते बसेको थियो। त्यसपछि हिउँदे अधिवेशन आव्हान गर्नुपर्नेमा सरकार पक्ष उदासिन देखिएको माओवादीको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad