बागमती


बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई पत्राचार

अधिकांश सहकारी काठमाडौँ उपत्यकाका
बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई पत्राचार

नेपालखबर
मंसिर १५, २०८१ शनिबार २२:४४, काठमाडौँ

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ। 

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआउने ६७ वटा सहकारी संस्थाका सञ्चालकलाई कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार राजन पोखरेलले जानकारी दिए। 

उनका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्था उपत्यकाभित्रका तीन जिल्लाका छन्।

‘बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्‍यौँ’, रजिष्ट्रार पोखरेलले भने, ‘तीमध्ये धेरै सहकारीका सञ्चालक सम्पर्कमा आउनै चाहेनन्, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गरिरहेका छन्। त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ।’

बागमती प्रदेश सरकारले दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको छ। प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अनुसार काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी सस्ंथालाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो।

दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिस्ट्रार पोखरेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad