बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा भोलि मंगलबारदेखि यस सडकका लागि रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ।
सडक डिभिजन भक्तपुरका सूचना अधिकारी, इन्जिनियर सुमनराज बस्नेतका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबेँसी बर्खेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक बाढीले बगाएको स्थानमा ट्र्याक निर्माण गरी हाल साना सवारीसाधनका लागि मात्र आवागमन खुलाइएको छ।
‘अहिले साना सवारीसाधन मुस्किलले चलिरहेका छन्’, उनले नेपालखबरसँग भने, ‘चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा आज साँझसम्म सुधार गरिने र यसपछि भोलि (मंगलबार) बाट थप सहज हुने अपेक्षा छ।’
सडक डिभिजन भक्तपुरले सोमबार (आज) सूचना जारी गरी भनेको छ: चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा आज साँझसम्म सुधार गरी यसअघि बीपी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न योग्य हुने बेहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ।
तर उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध पनि डिभिजन कार्यालयले सचेत गराएको छ।
हेर्नुहोस् सूचना-
Shares

प्रतिक्रिया