ad ad

बागमती


जंकफुडले बिगार्‍यो बालबालिकाको शरीर, बागमती प्रदेशमा सबैभन्दा बढी समस्या ललितपुरमा

बालरोग विशेषज्ञ भन्छन् : सुक्नु र फुक्नु दुवै कुपोषण
जंकफुडले बिगार्‍यो बालबालिकाको शरीर, बागमती प्रदेशमा सबैभन्दा बढी समस्या ललितपुरमा

जंकफुडको प्रतिकात्मक तस्बिर


सुनिता विष्ट
भदौ ७, २०८१ शुक्रबार १३:३४, हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१०, निवासी सविना खत्रीकी छोरी ३ वर्षकी भइन्। तर तौल ९ किलोग्राम मात्रै छ। छोरी सुविज्ञाको तौल नबढेकामा सविना चिन्तित छिन्।

‘छोरीले दालभातमा मनै लगाउँदिनन्। जाउलो र हलुवा त पटक्कै खाँदिनन्’, दुखेसो पोख्दै भनिन्, ‘खाना रुचाउने दबाई पाइन्छ कि भनेर अस्पताल ल्याएको। डाक्टर साबले कुपोषणको आशंका गर्नुभयो। रगत, पिसाब जचाउँन दिएको छु। रिपोर्ट आउन बाँकी छ।’

जन्मँदा २ किलो ७ सय ग्राम रहेकी सुविज्ञा सुरुका ४ महिनासम्म छिट्टै बढिन्। अर्थात् हरेक महिना ८ सय ग्रामदेखि १ किलोसम्म वजन बढ्यो। तर जब सविनाको दूध आउन छड्यो तब उनले छोरीलाई अन्य खानेकुरा र वैकल्पिक दूध खुवाउन थालिन्। त्यही बेलादेखि छोरीको वजन बढ्न कम हुँदै गएकाे उनी बताउँछिन्। 

‘मेरो नानीसँगै जन्मेका छिमेकीका बच्चा यो भन्दा दोब्बर ठूला छन्’, सविनाले भनिन्, ‘हाम्रो त केही खान्न। दुईगाँस भात खुवाउन परे मोबाइल देखाएर सारा गाउँ डुलाउनुपर्छ। बिस्कुट पायो भने खान्छे। नुनिलो खाने त पिरो नहाली उमालेको चाउचाउको झोल मात्रै हो।’

छोरीले भात खान नमानेपछि पसलकै खानेकुरा खुवाउने गरेको उनी सुनाउँछिन्।

रौतहट घर भई हाल हेटौँडा-४ बस्ने अर्जुनवीर महतोका ९ वर्षका छोरा ३५ किलोका छन्। आफ्नो छोरा धीरेन्द्र टन्न खाएर मोटाएको देख्दा अर्जुनवीर र उनकी श्रीमती दंग थिए। 

जतिखेर खाना दिए पनि मज्जाले खाने धीरेन्द्र भातै खान रुचाउँछन्। त्यसबाहेक मःम, चाउमिन, आलुचप पनि उनका मनपर्ने खानेकुरा हुन्। दिनमा एउटा कुरमुरे नकिनिदिएसम्म त उनी होमवोर्क नै गर्दैनन्।

केही दिनअघि ज्वरो आएपछि हेटौँडा अस्पताल लगिँदा धीरेन्द्रको उमेर र तौल सुनेर डाक्टर नै अचम्ममा परेको अर्जुनवीर सुनाउँछन्।

यसरी बालबालिका असामान्य दुब्लो अथवा मोटो देखिनु जंकफुड (पत्रु खानेकुरा) नै कारण भएको बालबारोग विशेषज्ञ बताउँछन्।

बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउनभन्दा उनीहरूले जे रुचाउँछन् त्यही खुवाउने चलनका कारण शरीरको वजनमा समस्या देखिएको हुनसक्ने हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि खड्का बताउँछन्।

पछिल्लो समय आफ्ना छोराछोरी खुसी बनाउन प्याकेजिङ गरिएका, नुन, चिनीको मात्रा नमिलाइएका खानेकुरा खुवाउने गरिएकै कारण बालबालिकाको वजनमा समस्या आउने गरेको डा. खड्काले बताए। यसले गर्दा बालकालिकाको शारीरिक विकासमै असर पुग्ने उनको भनाइ छ। 

सजिलोका लागि पसलका खानेकुरा खुवाउँदा पोषण नपुग्ने मात्रै होइन, विभिन्न रोगसमेत लाग्ने सम्भावना हुने जानकारी दिँदै डा. खड्काले थपे, ‘खानपानमा सुधार नगरे आफ्ना बालबालिकामा गम्भीर रोग लाग्न सक्छन् भन्ने ख्याल नै गर्दैनौँ। बालबालिकाको उचित आहार, खानपिन र स्वास्थ्यका विषयमा गम्भीर नभई पत्रु खानाको प्रयोगले बालबालिकामा डायरिया, ग्यास्ट्रिक, कुपोषण तथा घातक रोग क्यान्सरसम्म हुने क्रम बढ्दै गएको छ।’

हेटौँडाको सरकारी तथा निजी क्लिनकमा गरी डा. खड्काले दिनहुँ २ देखि ३ सय जनासम्म बालबालिकाको जाँच गर्ने गरेका छन्। यस क्रममा नवजात शिशुमा निमोनिया र १ देखि १० वर्षसम्मका बालबालिकामा फुड पोइजन, ग्यास्ट्रिक  र कुपोषणजस्ता समस्या देखिने गरेको उनको अनुभव छ। 

‘सहरीकरण बढ्दै गएपछि हाम्रो समाजमा पनि जंकफुड प्रयोग बढ्दै गयो’, डा. खड्काले भने, ‘स्टोर गरेर राखेका खानेकुरा बालबालिकाका लागि मात्रै होइन, सबैका लागि हानिकारक हुन्छ। अजिनामोटो प्रयोग गरिएका खानेकुराले हड्डी मक्काउने समस्या ल्याउँछ। पछिल्लो समय जंकफुडकै कारण बालबालिका बिरामी हुने दर बढ्दै गएको छ।’ 

असामान्य वजन 
गरिबीका कारण पोषणयुक्त खानेकुरा खुवाउन नसक्दा बच्चा कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य नभएको बालरोग विशेषज्ञ बताउँछन्।

अन्य विभिन्न कारण पनि बालबालिका कुपोषणको सिकार हुने गरेका छन्। गरिबी एउटा कारण भए पनि त्योभन्दा बढी बुझाइको कमी र हेलचक्र्याइँ प्रमुख कारण देखिएको उनको भनाइ छ।

विज्ञका अनुसार पछिल्लो समय पत्रु खानेकुराकै कारण बालबालिका असामान्य तरिकाले मोटाउने अथवा दुब्लाउने गरेका छन्। यसरी सुक्नु र फुक्नु दुवै कुपोषण हुन्। बजारमा पाइने रेडिमेड खानाका कारण बालबालिकामा सुक्ने अथवा फुक्ने दुवै खालका समस्या देखिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतीश विष्ट बताउँछन्। 

‘जंक या फास्ट फुड जसलाई नेपालीमा ‘कुखाद्य’ पनि भनिन्छ,’ उनले भने, ‘यस्ता खानेकुराले लामो समयपछि देखिने समस्यालाई बढावा दिन्छ। जस्तैः मुटुरोग, डाइबिटिज, मिर्गौलामा आउने समस्या आदि। किनभने जब बालबालिकाले अधिक मात्रामा जंक फुड खान थाल्छन् तब उनीहरूको शरीरमा परिवर्तन सुरु हुन्छ।’

शरीरमा आउने परिवर्तन नै दीर्घकालीन समस्याको जड भएको विष्टले बताए।

सहरी क्षेत्रमा बढ्दो कुपोषण
पहिले-पहिले खासगरी दुर्गम भेगका बालबालिकामा कुपोषणको समस्या धेरै देखिन्थ्यो। तर पछिल्लो समय सहर-बजारकै बालबालिकामा पनि यो समस्या देखिन थालेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ। निर्देशनालयको तथ्यांकअनुसार बागमती प्रदेशमा बर्सेनि कुपोषण हुने बालबालिकाको संख्या बढ्दो छ।

आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशका १३ जिल्लामा १ हजार ७ सय ३९ बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक छ। जसमा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाको ललितपुर जिल्लामा मात्रै ९ सय १५ जना बालबालिका छन्। यस्तै काठमाडौँमा २ सय २० तथा भक्तपुरमा ४९ जना बालबालिकामा कुपोषण देखिएको थियो। 

उपत्यकाबाहेक चितवनमा १ सय ८९, मकवानपुरमा ५७, सिन्धुलीमा ६९, रामेछापमा १२, काभ्रेमा ९२, दोलखामा २०, सिन्धुपाल्चोकमा २२, रसुवामा १५, धादिङमा ६१ र नुवाकोटमा १८ जना बालकालिका कुपोषणको सिकार भएको तथ्या‌ंक स्वास्थ्य निर्देशनालयसँग छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यो दर केही घट्दो भए पनि अपेक्षा गरिएजस्तो कुपोषणमा सुधार आउन नसकेकोे निर्देशनालयका प्रवक्तासमेत रहेका जनस्वास्थ्य प्रशासक सतीश विष्ट बताउँछन्।

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १३ जिल्लामा १ हजार ८ सय ६६ बालबालिकालाई कुपोषण भएको थियो। जसमा सबैभन्दा धेरै बालबािलका उपत्यकाकै छन्। ललितपुरमा ५ सय ४४, काठमाडौँमा २ सय ७८ र भक्तपुरमा ८६ बालबालिकामा कुपोषण देखिएको निर्देशनालयको तथ्यांक छ।

यस्तै उपत्यकाबाहिरका १० जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३ सय ३१, मकवानपुरमा ६१, सिन्धुलीमा ७२, रामेछापमा ३२, काभ्रेमा १४१, दोलखामा ४८, सिन्धुपाल्चोकमा ६१, रसुवामा ३, धादिङमा १ सय ३० र नुवाकोटमा ८६ जना बालकालिकामा कुपोषण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। 

कस्ता खानेकुरा खुवाउने?
बालबालिकालाई खुवाउने खानाको सूचीबाट जंकफुड पूर्ण रूपमा हटाइनुपर्ने बालरोग विशेषज्ञ डा. हरि खड्का बताउँछन्। बालबालिकाले खाने खानामा प्रशस्त प्रोटिन, फाइबरयुक्त चिज हुन जरुरी छ।

डा. खड्का भन्छन्, ‘बालबालिकाको शरीर अरू उमेर समूहमा भन्दा छिटो हुर्कने भएकाले उनीहरूको खानेकुरामा ध्यान दिन निकै जरुरी छ। शरीर छिटो बढिरहेको हुन्छ र पेट पनि सानो हुन्छ। त्यसैले उनीहरूलाई उमेर पुगेका मानिसलाई जसरी खानेकुरा खुवाउनु हुँदैन। केही समयको अन्तरालमा खुवाइरहनुपर्छ।’

‘बालबालिकालाई खुवाउने खानेकुरामा हरेक दिन शरीरलाई चाहिने पौष्टिक तत्त्वको मात्रा पूरा हुनुपर्छ। एकै खानेकुराबाट सबै पोषक तत्त्व नपाइने हुनाले उनीहरूका लागि मिश्रित खाना खुवाउँदा राम्रो हुन्छ’, उनले भने, ‘हरेक दिन बालबालिकाको खानामा हरियो सागपात, फलफूल र मासुजन्य कुरा हुनु आवश्यक छ। मासु नखाने बालबालिकालाई प्रोटिन पाइने गेडागुडी, दूध खुवाउँदा राम्रो हुन्छ।’

उनका अनुसार बालबालिका एकपटक मात्रै स्वस्थ खानेकुराको लतमा परे भने पछि उनीहरूको शरीरले जंकफुड खान खोज्दैन।

यसले उनीहरूको शरीरिकदेखि मानसिक स्वास्थ्यसम्मलाई सन्तुलनमा राख्न मद्दत गर्ने डा. खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .