ad ad

बागमती


बागमतीको बजेट : सचिवलाई नयाँ गाडी, कर्मचारीलाई दुईपांग्रे, गाडी खरिदमा मात्रै पौने ९ करोड

बागमतीको बजेट : सचिवलाई नयाँ गाडी, कर्मचारीलाई दुईपांग्रे, गाडी खरिदमा मात्रै पौने ९ करोड

सुनिता विष्ट
असार ५, २०८१ बुधबार २१:१७, काठमाडौँ

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार (असार १ गते) संसदमा प्रस्तुत गर्‍यो।

कुल ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैँयाको बजेट ल्याएको बागमतीमा प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरूको प्रायोजनका लागि सवारी खरिदमा मात्रै ८ करोड ६४ लाख बजेट विनियोजन गरेको छ।

बजेट किताबमा शीर्षक नै उल्लेख गरेर चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी खरिद गर्न सो रकम विनियोजन गरिएको हो।  

चालु आर्थिक वर्षको बजेटमा खर्च कटौतीको नारा बोकेर भौतिक सामग्री खरिदमा खर्च नगर्ने बताएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आधा दर्जन चारपाङ्ग्रे गाडी र दुई दर्जनभन्दा बढी मोटरसाइकल तथा स्कुटर खरिद गर्ने शीर्षक नै राखेर बजेट बनाएको छ।

जसमा सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले सवारी खरिद शीर्षकमा १ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको बागमती प्रदेश सरकारले ल्याएको बजेट तथा कार्यक्रम पुस्तिकामा उल्लेख छ।  

यस्तै, प्रदेश लेखा इकाई कार्यालयको प्रयोजनका लागि दुईपाङ्ग्रे सवारी खरिद गर्न बजेट विनियोजन गरेको छ।

प्रदेश लेखा इकाई कार्यालय धादिङलाई दुईपाङ्ग्रे सवारी खरिदमा ६ लाख, प्रदेश लेखा इकाई कार्यालय काभ्रेलाई ६ लाख, प्रदेश लेखा इकाई कार्यालय काठमाडौँलाई दुईपाङ्ग्रे खरिद गर्न ९ लाख रुपैयाँ र चारपाङ्ग्रे सवारी साधन खरिद गर्न ४५ लाख गरी कुल ५४ लाख, प्रदेश लेखा इकाई कार्यालय नुवाकोटलाई दुईपाङ्ग्रे सवारी खरिद गर्न ६ लाख र प्रदेश लेखा इकाई चितवनका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।  

यस्तै, प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रलालयतर्फ महाशाखा प्रमुखको चारपाङ्ग्रे सवारी खरिद गर्ने शीर्षकमा ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, सोही मन्त्रालयमा सचिवको लागि चारपाङग्रे सवारी खरिद गर्न ६० लाख रुपैयाँ, स्कुटर खरिद गर्न १२ लाख र मोटरसाइकल खरिदका लागि १२ लाख गरी उद्योग मन्त्रालयले सवारी खरिद शीर्षकमै १ करोड ७४ हजार बजेट विनियोजन गरेको हो।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि चारपाङ्ग्रे सवारी खरिद शीर्षकमा ६० लाख, कृषि विकास कार्यालय धादिङको लागि चारपाङ्ग्रे सवारी खरिद शीर्षकमा ४५ लाख, कृषि विकास कार्यालय काभ्रेको लागि पनि चारपाङ्ग्रे सवारी खरिद शीर्षकमै ४५ लाख र पशु सेवा कार्यालय काभ्रेको लागि गाडि खरिद शीर्षकमै ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको लागि चारपाङ्ग्रे सवारी खरिद शीर्षकमा ६० लाख र दुईपाङ्ग्रे सवारी खरिद गर्न ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुईपाङ्ग्रे सवारी खरिदका लागि ९ लाख, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि दुईपाङग्रे सवारी खरिद गर्न ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

पर्यटन मन्त्रालय मातहतमा रहेको पर्यटन विकास आयोजना मकवानपुर र काठमाडौंको लागि दुईपाङ्ग्रे सवारी खरिदका लागि ९/९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यता, वन तथा वातावरण मन्त्रालयले पनि दुईपाङ्ग्रे सवारी खरिदका लागि बजेट विनियोजन गरेको छ। जसमा वन मन्त्रालयको लागि ९ लाख, डिभिजन वन कार्यालय काठमाडौंको लागि ९ लाख, वन निर्देशनालय हेटौंडाका लागि ६ लाख र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि दुईपाङ्ग्रे सवारी खरिदका लागि १२ लाख, युवा तथा खेलकुद मन्त्रालयका लागि चारपाङ्ग्रे सवारी खरिद शीर्षकमा ६० लाख र दुईपाङ्ग्रे सवारी खरिदका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोही मन्त्रालय मातहत रहेको प्रदेश युवा परिषद्को कार्यालयका लागि दुईपाङ्ग्रे सवारी खरिद शीर्षकमा ५ लाख बजेट छुट्याइएको छ भने सामाजिक विकास मन्त्रालय मातहतको बागमती विश्व विद्यालयको प्रयोजनका लागि दुई पाङ्ग्रे सवारी खरिदमा ७ लाख, प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम केन्द्रका लागि दुईपाङ्ग्रे सवारी खरिदका लागि ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

यस्तै, सामाजिक विकास कार्यालय काभ्रेका लागि ६ लाख, ललितपुरका लागि ९ लाख, मकवानपुरका लागि ५ लाख र धादिङका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो।

यता, शिक्षा विकास निर्देशनालय बागमती प्रदेश कार्यालयका लागि पनि दुईपाङ्ग्रे सवारी खरिदका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट तथा कार्यक्रम पुस्तकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .