ad ad

बागमती


काठमाडौँ महानगरपालिकालाई सडक डिभिजनको चेतावनी- न्युरोडमा भत्काएको सडक तुरुन्त बनाऊ, नत्र...

काठमाडौँ महानगरपालिकालाई सडक डिभिजनको चेतावनी- न्युरोडमा भत्काएको सडक तुरुन्त बनाऊ, नत्र...

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ९:२, काठमाडौँ

सडक डिभिजन काठमाडौँले काठमाडौँ महानगरपालिकालाई न्युरोडस्थित जुद्ध शालिक–इन्द्रचोक सडकलाई पहिलेकै अवस्थामा फर्काउन आग्रह गरेको छ। 

सडक डिभिजनले जेठ १६ गते सूचना जारी गर्दै महानगरपालिकाले भत्काएको उक्त सडक २ दिनभित्र पुनःनिर्माण गर्न भनेको हो।

उक्त अवधिभित्र सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही गर्ने चेतावनी पनि सडक डिभिजनले दिएको छ। 

सडक डिभिजनले यसअघि पनि महानगरपालिकालाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गरिदिन भनेको थियो। 

यस्तो छ सडक डिभिजनको पत्र-

श्री काठमाडौँ महानगरपालिका

कमलादी, काठमाडौँ।

विषयः सडक पुनर्स्थापना गरिदिने सम्बन्धमा।

प्रस्तुत विषयमा तहाँ कार्यालयबाट विभिन्न मितिमा यस डिभिजनको मातहतमा रहेका विभिन्न सडक खण्डहरूमा विभिन्न कामहरूका लागि जानकारीका लागि भनी पत्राचार भएकामा यस कार्यालयबाट मिति २०८०/१०/१८ को च.नं. १०२६ को सहमति प्रदान गर्नुपूर्व विभिन्न सर्तहरू पूरा हुनुपर्ने आशयको पत्र प्राप्त गर्नुभएकै होला।

त्यसैगरी मिति २०८१/०२/०३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमतिबिना कुनै पनि काम नगर्न/नगराउनु हुन भनी अनुरोध गरिए पनि मिति २०८१/१/१२ मा बिनासहमति न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडकखण्डमा तहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकाले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनु हुन भनी मिति २०८१/२/१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनर्स्थापना भएको देखिएन।

नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरश: पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ। तसर्थ, तहाँबाट भत्काइएको सडकखण्ड २ दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ। अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने बेहोरासमेत अनुरोध छ।

ई. नारायणदत्त भण्डारी

डिभिजन प्रमुख।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .