बागमती


पतिको अन्तिम बिदाइ गरेकी बबितालाई अर्काे बज्रपात, बाटैमा गुमाइन् छोरासहित ६ आफन्त

पतिको अन्तिम बिदाइ गरेकी बबितालाई अर्काे बज्रपात, बाटैमा गुमाइन् छोरासहित ६ आफन्त

शनिबार बिहान चितवनस्थित त्रिशूली नदीमा खसेको ट्याक्सी


सुनिता विष्ट
चैत १७, २०८० शनिबार १३:३७, हेटौँडा

गोरखाको गोरखा नगरपालिका-७ का ३९ वर्षीय शंकर रोकाया बिरामी थिए। उनको उपचारका लागि श्रीमती बबिता रोकायालगायत आफन्त केही दिनदेखि काठमाडाैँमा थिए। 

तर उपचारकै क्रममा शुक्रबार दिउँसो शंकरको मृत्यु भयो। परिवारका सदस्य र आफन्तले पशुपति आर्यघाट लगेर उनको दाहसंस्कार गरे। 

शुक्रबार राति पशुपतिमा शंकरको दाहसंस्कार सकाएर काजकिरियाका लागि रोकाया परिवारले घर गोरखा जाने निर्णय गर्‍यो। परिवारका सदस्य, आफन्त सबैजना साना चारवटा गाडीमा जाने निर्णय भयो। जसमध्ये एउटा गाडी (ट्याक्सी) शंकरकै बहिनीज्वाइँ अर्जुन शिर्मलको थियो। बाँकी दुईवटा ट्याक्सी पनि आफन्तले नै जुटाए। गाउँबाट शंकरको दाहसंस्कारका लागि दाजुभाइहरू पनि काठमाडौँ आएका थिए। सबैजना नअट्ने भएपछि उनीहरूले अर्को एउटा गोरखा-काठमाडाैँ चल्ने माइक्रोभ्यान रिजर्भ गरे।

मृतक शंकरकी आमा ७० वर्षीया जुनकिरी रोकायासहित उनका दुई छोरी र दुई नाति ज्वाइँ अर्जुनले चलाउने ट्याक्सीमा चढे। बा २ झ ४१९६ नम्बरको ट्याक्सीमा उनीहरू जम्मा ६ जना थिए।

दुर्भाग्यवश! गोरखा जाँदै गर्दा उक्त ट्याक्सी शनिबार बिहान चितवनस्थित त्रिशूली नदीमा खस्यो। चालकसहित ५ जना घटनास्थलमै बिते भने एक जना बेपत्ता छन्। 

दुर्घटनामा जुनकिरी, ज्वाइँ ३५ वर्षीय अर्जुन शिर्मल, अर्जुनकी श्रीमती तथा जुनकिरीकी छोरी २८ वर्षीया अञ्जना, जुनकिरीकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी र हरिमायाका छोरा ९ वर्षीय आगमनको मृत्यु भयो। शंकर र बबिताका छोरा १८ वर्षीय दिवश भने अझै फेला परेका छैनन्। 

शंकरकी श्रीमती तथा दिवशकी आमा बबिता भने अर्को ट्याक्सीमा थिइन्। उनी सवार ट्याक्सी मुग्लिन पुग्दा पनि अर्जुनले चलाएको ट्याक्सी नआइपुगेपछि चालकलगायत त्यस ट्याक्सीमा सवार आफन्तकोमा फोन लगाइन्। तर त्यो ट्याक्सीमा सवार सबैजनाको फोन नलागेपछि आफन्तहरूले चितवन प्रहरीमा खबर गरे।

खबर पाउनासाथ प्रहरीको टोली ट्याक्सी खोज्न निस्कियो। खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा खसेको अवस्थामा ट्याक्सी फेला पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

काठमाडाैँमा श्रीमान्‌को दाहसंस्कार सकेर घर गोरखा जाँदै गरेकी बबिताको जीवनमा अर्को दुर्भाग्य आइलाग्यो। पतिको शोकमा रहेकी उनले एकसाथ छोरासहित सासू, नन्द, ज्वाइँ, दिदी र भान्जा बाटोमै गुमाइन्।

यो खबर लेख्दासम्म उनका छोरा दिवश भेटिएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .