बागमती


पशुपतिमा आफन्त अन्त्येष्टि गरेर घर फर्किंदै गरेको परिवारै बिलायो त्रिशूलीमा*

पशुपतिमा आफन्त अन्त्येष्टि गरेर घर फर्किंदै गरेको परिवारै बिलायो त्रिशूलीमा*

शनिबार बिहान चितवनस्थित त्रिशूली नदीमा खसेको ट्याक्सी


सुनिता विष्ट
चैत १७, २०८० शनिबार ११:३९, हेटौँडा

आज (शनिबार) बिहान काठमाडौँबाट गोरखाको गोरखा नगरपालिका-७ स्थित घरतर्फ जाँदै गरेकी जुनकिरी राेकायाको परिवारै त्रिशूली नदीमा बिलाएको छ। 

गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी आज बिहान चितवनस्थित त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीमा सवार पाँच जनाको मृत्यु भयो भने एक जना बेपत्ता छन्।

प्रहरीका अनुसार उनीहरू काठमाडाैँमा आफन्तको दाहसंस्कार गरेर फर्किँदै थिए। 

गोरखा नगरपालिका-७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठसँग बुझ्दा स्थानीय ७० वर्षीया जुनकिरी रोकायाका छोरा शंकर रोकायाको काठमाडाैँमा मृत्यु भएको थियो। 

पशुपतिमा शंकरको दाहसंस्कार गरेर फर्किंदै गरेकी जुनकिरीसहित ६ जना सवार ट्याक्सी शनिबार बिहान त्रिशूली नदीमा खसेको हो। तीमध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक युवक नदीमा हराइरहेका छन्। 

वडाध्यक्ष श्रेष्ठका अनुसार दुर्घटनामा जुनकिरी, ट्याक्सी चालक जुनकिरीकै ज्वाइँ ३५ वर्षीय अर्जुन शिर्मल, अर्जुनकी श्रीमती तथा जुनकिरीकी छोरी २८ वर्षीया अञ्जना, जुनकिरीकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी र हरिमायाका छोरा ९ वर्षीय आगमनको मृत्यु भएको हो।

बेपत्ता १८ वर्षीय दिवश रोकाया भने पशुपतिमा दाहसंस्कार गरिएका शंकरका छोरा भएको वडाध्यक्ष श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।   

*पहिले प्रहरीले दिएको पारिवारिक विवरण पछि स्थानीय जनप्रतिनिधिसँग बुझ्दा केही फरक परेकाले सच्याइएको -सम्पादक।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .