ad ad

बागमती


दरबार हाइस्कुलमा शनिबार पनि पढाइ, विद्यार्थीको चाप उस्तै

दरबार हाइस्कुलमा शनिबार पनि पढाइ, विद्यार्थीको चाप उस्तै

फाइल फाेटाे


शर्मिला पाठक/रासस
जेठ १३, २०८० शनिबार १८:१४, काठमाडौँ

ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ। 

विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरिएको छ। उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षामा सीप  कार्यक्रम  पठनपाठन गरिएको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिए। 

ऐतिहासिक धरोहर दरबार हाइस्कुललगायत महानगरका सबै सामुदायिक विद्यालयमा यही शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ देखि १२ सम्म थालनी गरेको शिक्षामा सीप कार्यक्रम लागू गरेको छ। पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले गत वैशाख १२ गतेदेखि उक्त कार्यक्रम लागू गरेको हो। 

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने महानगरको उद्देश्य हो। उक्त कार्यक्रमअन्तर्गत ९० घन्टे कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन्। 

त्यसैगरी, फेसन डिजाइन र कपडा सिकाइ, घरमा तार र बिजुली जडान वायरिङ एन्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ। अहिले महानगरमा ८९ सामुदायिक विद्यालय छन्। त्यसमा ५९ मावि र ३० प्राथमिक विद्यालय छन्। त्यसैगरी, पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्। 

कामपाले यसै शैक्षिक सत्रदेखि बुक फ्री फ्राइडे कार्यक्रम पनि सुरु गरेको छ। उक्त कार्यक्रमअन्तर्गत शुक्रबार विद्यार्थीले किताब बोकेर विद्यालय जानुपर्ने छैन भने अतिरिक्त क्रियाकलाप गरेर घर फर्कन्छन्। बुक फ्री फ्राइडे कार्यक्रम कामपाको सबै सामुदायिक विद्यालयको  सञ्चालन भइरहेको छ।  

विद्यार्थीको चाप अत्यधिक 

कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस ऐतिहासिक विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययममा पढाइ हुने हुँदा अहिले ६ सय ५० विद्यार्थीले पठनपाठन गर्ने गरेका छन्। अघिल्लो वर्षसम्म पनि करिब पाँच सय विद्यार्थी यहाँ अध्ययन गर्थे। चालु शैक्षिक सत्रमा मात्र एक हजार पाँच सय विद्यार्थी भर्नाका लागि आएका थिए, स्थान अभावका कारण सबैलाई समावेश गर्न नसकिएको विद्यालयको भनाइ छ। 

विद्यालयको भौतिक संरचनाका कारण आएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्ने अवस्था रहेन भने एक हजार पाँच सय विद्यार्थीलाई त स्थान अभावका कारण फिर्ता पठाउन परेका विद्यालय परिवारले जनाएको छ।

कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन। विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म राखेर पढाइरेहका छौँ”, प्रधानाध्यापक पौडेलले भने। 

कक्षा ९ र ६ मा अत्यधिक विद्यार्थी छन्। कक्षा ९ मा एक सयभन्दा बढी विद्यार्थी छन् जहाँ तीनवटा कक्षा विभाजन गरेर पठनपाठन भइरहेको छ। एसईई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने आशाले पनि पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरु भीड हुने गरेका छ। ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए। कुनै समय श्रमिकका छोराछोरीमात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ। 

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक र संस्कृत मावि सञ्चालित छन्। नौ रोपनी जमिनमा निर्माण गरिएको चारतले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन्। भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो। भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो। विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .