ad ad

बागमती


सम्झौता गरेको डेढ वर्ष बित्दापनि बनेन राप्ती पुल, कम्पनीविरुद्ध स्थानीयको विरोध

सम्झौता गरेको डेढ वर्ष बित्दापनि बनेन राप्ती पुल, कम्पनीविरुद्ध स्थानीयको विरोध

सुनिता विष्ट
माघ २१, २०७९ शनिबार १८:२०, हेटाैंडा

बागमती प्रदेशको राजधानी हेटौंडाबाट जम्मा २ किलोमिटरको दूरीमा छ लालझाडी। यहाँका स्थानीयहरु पारी देखिएको हेटौंडा काठमाडौं जोड्ने सडक वारी आफ्नै गाउँमा जोड्ने सपनामा छन्। जसअनुसार प्रदेश सरकारले पुल निर्माण गर्न बजेट पनि पारिदियो।

आउँदो बैशाख १७ गते सम्ममा पुल निर्माण गरेर जिम्मा लगाउनु पर्ने थियो। दिन बित्दै महिना र बर्ष बित्यो। न खोलामा पुल बन्यो, नत समयमा पुल नबनाउने ठेकेदारलाई कुनै सरोकारवाला निकायले एक्सन नै लियो।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले दुई वर्षीय आयोजनाको रुपमा अघि सारेर डेढ बर्ष अगाडि नै सम्झौता गरेको योजनाको निर्माण गरिसक्नुपर्ने मिति आउन अब केही महिना मात्रै बाँकी छ।

कामको भने अझै पनि सुरुवात नै हुन सकेको छैन। ठेकेदार कम्पनीले गरेको मनोमानीले स्थानीयहरु आजित भएर ठेकेदार विरुद्ध विरोध कार्यक्रम गर्दै शनिबार निर्माण कम्पनीलाई दबाव समेत दिएका छन् 

सडकसँगै जोडिएको राप्ती नदी र नदी तर्नेबित्तिकै आइपुग्ने गाउँ हेर्दा सुगम नै देखिन्छ। तर, सोही नदीमा सवारी आउजाउ गर्ने पुल नबन्दा स्थानीयहरु काठको पुलको सहारामा आउजाउ गर्ने गरेका छन्।

दुई बर्ष अघि तुइनमा ओहोरदोहोर गर्दा तुइनबाट खसेर स्थानीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको स्मरण गर्दै स्थानीय रामप्रसाद तिमल्सिनाले भने, ‘हेटौंडाबजारबाट थोरै दूरीमा रहेको यस ठाउँको विकासमा सरकारको नजर पर्न नसक्नु दुखको विषय हो। बल्लतल्ल पक्की पुल बनाउन ठेक्का परेको थियो। त्यो पनि समयमै नबन्दा सास्ती खेप्न परेको छ। पुल बनाउन खाल्टो खनेर छोडिएको छ। त्यही खाल्टोबाट नै हाम्रा बालबच्चाहरुलाई जोगाउन मुस्किल भइरहेको छ।’

पुल बन्नको लागि २०७८ साल जेष्ठ १८ गते भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय भरतपुर चितवनसँग शिवशक्ति सिद्धार्थ शिवम संयुक्त उद्यम नामको निर्माण कम्पनीले सम्झौता गरेको थियो।

सम्झौता अनुसार उक्त कम्पनीले २०८० जेष्ठ १७ गते निर्माण गरेर भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसक्नुपर्ने छ।

तर, पूर्वाधार विकास कार्यालयसँग ८ करोड ४७ लाख ८० हजार ८ सय ६८ रुपैंयामा निर्माण सम्झौता गरेको डेढ बर्ष बित्दा पनि कामले गति लिन सकेको छैन। लामो समय सम्म सरुवात नै नगरेको काम बल्ल मेसिन लगाएर खाल्टो खन्ने सुरसार निर्माण कम्पनीले गरेको छ।

त्यसो त समयमा निर्माण सक्न स्थानीय निकायहरुले पनि यसअघि दबाब नदिएको भने होइन।

तर निर्माण सामाग्रीको भाउ बढेको कारण देखाउँदै काममा हात नै नलगाएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन्। अब काम सुरु गरेपनि समयमै नसकिने भएपछि राम्रोसँग काम गरिदिए समय थप्न सहयोग समेत गरिदिने सोही वडाका वडाध्यक्ष सबिन न्यौपानेले बताए।

पुल निर्माणका लागि ठेक्का लिएको डेढ बर्ष बितिसक्दा पनि काम १ प्रतिशत हुन नसक्दा यहाँका स्थानीय आक्रोशित छन् भने ठेकेदार कम्पनी अब बनाउन सुरु गरिने दाबी गर्छ। केहीदिनदेखि काममा तदारुकताको साथ लागेको भन्दै अलपत्र छोडेर जाने काम आफूहरुबाट नहुने निर्माण कम्पनीका साइट म्यानेजर विष्णु अर्याल बताउँछन्। 

राप्ती नदीमा उक्त पक्की पुल बन्दा लालझाडी, मझिमटार, नकौली, घ्याङ्सिनटार हेटौंडा १९ हुँदै सरिखेत, पलाँसे लगाएको स्थानहरुमा समेत आवतजावत गर्न सहज हुन्छ।

लगभग २ हजारभन्दा धेरै घरधुरी प्रत्यक्ष लभान्वित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .