बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछी मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
माघ ३ गते मुख्यमन्त्री जमरकट्ट्लले विश्वासको मत लिँदैछन्।
विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाइने मुख्यमन्त्री जमरकट्टेलले नेपालखबरसँग बताए।
‘पहिला माघ ३ गते विश्वासको मत लिन्छौं। त्यसपछि मात्रै मन्त्रालयहरु घटाउने कुरालाई पनि ध्यानमा राखेर मन्त्रिपरिषद् गठन गर्ने तयारीमा छौं,’ मुख्यमन्त्री जम्मकट्टेलले भने।
मुख्यमन्त्रीले सपथ लिएकै दिनमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले अर्थ मन्त्रालय र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई विना विभागीय मन्त्री बनाइएको छ।
बागमतीमा सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये एमालेले ४, माओवादीले ३, राप्रपा र समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालय लिन चाहेका छन्।
आफ्नो कार्यकालको पहिलो निर्णय नै मन्त्रालय घटाउने गरेका मुख्यमन्त्री जम्मकट्टेललाई भागवण्डा मिलाउन चुनौती खडा हुने देखिएको छ।
जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई एमालेका २७, नेकपा माओवादी २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।
जम्मकट्टेललाई विश्वासको मत प्राप्त गर्न ११० सदस्य रहेको प्रदेशसभामा ५६ मतको आवश्यकता पर्छ। सरकारमा समर्थन गरेका दलहरुले समर्थन गरे मुख्यमन्त्री जम्मकट्टेलले सहजै विश्वासको मत प्राप्त गर्नेछन्।
मुख्यमन्त्रीको सपथ लिएपछि उनले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका छन्।
कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने बताइएको छ।
Shares
प्रतिक्रिया