ad ad

बागमती


पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान

पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान

फाइल।


नेपालखबर
पुस १०, २०७९ आइतबार ८:५, काठमाडौँ

पुस महिनाको बिहानी कठ्याङ्ग्रिने चिसो तैपनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा जान छोडेनन्। विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएदेखि जाडो, गर्मी, झरी, न कोरोना महामारी वा भूकम्पको जोखिम जुनसुकै अवस्थामा पनि वाग्मतीको सफाइमा अभियानकर्मी जुट्दै आएका छन्।  

दश वर्षसम्म निरन्तर वाग्मती सफाइ अभियान चलाउँदा पनि वाग्मती नदीको ढल निकासको उचित प्रबन्ध कहिले हुने, नदीमा फोहर फाल्ने प्रवृत्तिलाई कसरी रोक्ने, नदीमा शुद्ध सफा पानी कसरी बगाउने,  दिगो फोहरको व्यवस्थापन सरकार र महानगरपालिकाद्वारा कसरी गराउने दण्ड जरिवानाको पालना कहिले हुने, फोहरलाई स्रोतमा वर्गीकरण गरेर व्यवस्थापन कहिलेबाट सुरु हुनेजस्ता प्रश्नको अझै उत्तर पाउन नसकिएको अभियानकर्मी बताउँछन्।

यी प्रश्नको उत्तर पाउन नसकेपनि आज गौरीघाटमा ५०२औँ हप्ताको वाग्मती सफाइ अभियान सम्पन्न गरेका छन्।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष तिमिल्सिनालगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो। सो अवसरमा तिलगङ्गा महिला समूहको ४०२औँ हप्ताको कार्यक्रम पनि सोही स्थानमा गरिएको जनाइएको छ। 

सामुदायिक प्रहरी चावहिल, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, स्थानीयवासी, काठमाडौँ महानगर्पालिका वातावरण विभागलगायत वाग्मती सफाइ अभियानकर्मीको पनि सफाइमा सक्रियता रहेको थियो। नदी किनारा र भित्रको नकुहिने फोहर एक मेट्रिक टन व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकुल अवस्थामा  पनि सफाइ महाअभियान रोकिएको छैन। महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर एक सय नौ स्थानमा सफाइ भइरहेको जनाइएको छ। यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ।

अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहेपनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन। फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भएपनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा बेला बेलामा महिना दिनभन्दा लामो समय फोहर नउठ्ने समस्या अझै समाधान भएको छैन। सांस्कृतिक शहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश जाने गरेको छ।

यसैगरी पर्यटकीय सहर पोखरामा समेत बेला बेलामा फोहर नउठ्ने समस्या छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार मौन बसेका छन्। फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन्। काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेको गुनासो अन्त्य हुनसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .