काठमाडौँ महानगरपालिकाको २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्स्यौट भएको छ।
आर्थिक बर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो। यसबाट फर्स्यौट हुन बाँकी २ अर्ब ७८ करोड ३० लाख २२ हजार ६३२ रुपैयाँ बेरुजुमा आर्थिक बर्ष ०७७र०७८ को १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँ वेरुजु थपिएको आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाईका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए।
यसरी हेर्दा अब महानगरले फर्स्यौट गर्नुपर्ने बेरुजुको अङ्क ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ।
‘वेरुजु फर्स्यौटमा हामीले प्राप्त भएको उपलब्धी महत्वपूर्ण हो। यति ठूलो रकम फर्स्यौट न विगतमा भएको थियो। सम्भवतः न भविष्यमा हुन्छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल भन्छन्, ‘धेरै मिहनेत र सामुहिक प्रयासले यो सम्भव भएको हो। कतिपय वेरुजु प्रक्रियामा आवश्यक पर्ने कागजपत्र नभएर पनि देखिएको छ। प्रक्रियागत सामान्य सुधारबाट पनि बेरुजुको संख्या कम गराउन सकिन्छ। विगतको सिकाइबाट वित्तिय सुशासनमा हामी कडाईका साथ काम गर्नेछौँ।’
महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३÷०७४ देखि काठमाडौँ महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको हो।
त्यसपछिका आर्थिक वर्षहरुको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ। जसअनुसार सुरुको बर्ष अर्थात् आर्थिक बर्ष २०७३/०७४ सम्म भएको १ अर्व १० करोड २५ लाख ५८ हजार ३३८ रुपैयाँ बेरुजुमध्ये २५ करोड ८० लाख ९५ हजार ३६६ रुपैयाँ ६२ पैसा वेरुजु फर्स्यौट भयो। सम परीक्षण इकाईका प्रमुख पोखरेलका अनुसार यो बर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपैयाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपैयाँ र प्रमाण कागजात पेश नभएको ८१ करोड ९२ लाख ५८ हजार रुपैयाँ थियो।
आर्थिक बर्ष २०७४/०७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार बेरुजु रकममा १९ करोड ४४ लाख ३१ ह्जार ५७७ रुपैयाँ ३३ पैसा फर्स्यौट भयो। यसमा १० करोड ६७ लाख ६५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपैयाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको रकम भएको पोखरेलको भनाइ छ।
यसै गरी आर्थिक बर्ष २०७५÷०७६ मा औँल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपैयाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपैयाँ ९८ पैसा फर्स्यौट भयो। यसमा ८४ करोड १३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपैयाँ अनियमित भएको र १३ करोड ६ लाख २८ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको बेरुजु थियो।
आर्थिक बर्ष २०७६/०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपैयाँ बेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपैयाँ १ पैसा फर्स्यौट भएको छ।
उठान भएको बेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपैयाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको बेरुजु रकम थियो।
विगतमा भएको बेरुजु अङ्क घटाउन तथा आउँदा दिनमा हुन नदिन महानगरको आन्तरिक लेखापरीक्षण शाखाले नियमित रुपमा आन्तरिक लेखापरीक्षण गर्ने गरेको छ। यसरी गरिएको कामको चौमासिक र बार्षिक प्रतिवेदन तयार हुन्छ। यसबाट बेरुजु उठान हुने गरेको छ।
रजिष्ट्रर्ड लेखापरीक्षकबाट अन्तिम लेखा परीक्षण गराउँदा आर्थिक बर्ष २०७२÷०७३ को अन्त्यसम्ममा ३६ करोड १५ लाख १० हजार ३ सय १३ रुपैयाँ वेरुजु थियो। त्यसअघिको ६५ करोड ७६ लाख ३५ हजार १ सय ३९ रुपैयाँ वस्तुहरुमध्ये २९ करोड ६१ लाख २४ हजार ८ सय २५ वेरुजु फर्स्यौट भएर यो अङ्क कायम भएको थियो।
महालेखापरीक्षकबाट प्राप्त ४ बर्षको प्रतिवेदनले औल्याएका बेरुजुलाई शून्य गर्न र आगामी दिनमा बेरुजु नहुने सुनिश्चित गर्न नीतिगत तहबाट समसामयिक कानुन निर्माण र संशोधन गर्नुपर्छ।
पोखरेल भन्छन्, ‘योजना तथा कार्यक्रम कार्यान्वयनमा बाधा आए तत्काल कार्यपालिका वा नगरसभामा लगेर निर्णय गर्नुपर्छ। कार्यान्वयन तहले आफ्नो क्षेत्रको वार्षिक कार्यतालिका बनाएर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ। जिम्मेवारी अनुसार अनुगमन गर्ने तथा पृष्ठपोषण लिने दिने भएमा बेरुजुको क्रमशः शुन्यता तिर जान्छ।’
महानगरभित्र भएका सामुदायिक विद्यालयहरु काठमाडौँ महानगरपालिका अन्तर्गत पर्छन्।
यिनीहरुले सञ्चालनका लागि सरकारबाट अनुदान प्राप्त गरिरहेका छन्। आयतर्फ भवन भाडामा लगाएर आय गरिरहेको अवस्था पनि छ।
यसलाई पनि महानगरको लेखा परीक्षण दायरामा ल्याउन लागिएको छ।
Shares
प्रतिक्रिया