ad ad

समाज


होलीको ‘ब्रान्डिङ’ गर्दै दरबारमार्ग पुगेर जब बालेनले र्‍याप गाए

होलीको ‘ब्रान्डिङ’ गर्दै दरबारमार्ग पुगेर जब बालेनले र्‍याप गाए

दरबारमार्गमा मेयर बालेनलाई देख्नेबित्तिकै होलीको रङ र गीतसंगीतमा झुमेका युवाको ध्यान मोडियो


रुपक चौलागाईं
चैत १२, २०८० सोमबार २०:१०, काठमाडौँ

आइतबार बिहानैदेखि टोलटोलमा बालकदेखि युवासम्मले रङको पर्व होली मनाइरहेका थिए। सरकारले सार्वजनिक बिदा दिएको थियो।

उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। सवारी साधन सडकमा पातला देखिन्थे। दरबारमार्गमा हजारौँको युवा जमात होलीको एक विशेष कार्यक्रममा झुम्मिएको थियो।

दिउँसो साढे ३ बजेतिर एक्कासि काठमाडौँ महानगरपालिका प्रमुख बालेन (बालेन्द्र) शाह मञ्चमा देखिए। उनलाई देख्नेबित्तिकै होलीको रङ र गीतसंगीतमा झुमेका युवाको ध्यान मोडियो।

मेयर शाह त्यहाँ पुग्ने कुरा भीडलाई कुनै जानकारी थिएन। आयोजकले पनि भनेको थिएन।

उनी कार्यक्रममा लामो समय बसेनन्। शुभ कामना दिन आएको भने, धेरै बोल्नतिर लागेनन्।

बरु, अलिकति र्‍याप सुनाए। अन्य कलाकारको समय धेरै नलिने भन्दै बालेनले ४ मिनेटमै आफ्नो प्रस्तुति सके र मञ्चबाट ओर्लिए।

अन्तिममा उनले एउटा सेल्फी लिए। भीडको अघिल्तिर उभिएर उनले लिएको सेल्फीमा फेसबुकमा झन्डै ३ लाखले प्रतिक्रिया जनाएका छन्।

एकाएक बालेन दरबारमार्ग पुगेपछि भीडले उनको पक्षमा हुटिङ गरेको थियो। केहीबेर त्यहाँको उत्साहित भीड नियन्त्रण गर्न आयोजक र सुरक्षाकर्मीलाई नै हम्मेहम्मे पर्‍यो। 

परिस्थिति सम्हाल्न मुस्किल हुन सक्ने बुझेर नै मेयर शाह सो कार्यक्रममा सहभागी हुनेबारे पूर्वसूचना नगरिएको उनको सचिवालयका एक सदस्यले दाबी गरे। 

‘खासमा उहाँ (बालेन) केहीबेर त्यहाँ पुग्ने भन्ने तयारी पहिल्यै थियो। तर, उहाँ नै उपस्थित हुने भएपछि भीड र सुरक्षा व्यवस्थापनमा समस्या आउने देखेर जानकारी नगराइएको हो,’ ती सदस्य भन्छन्। 

मेयर शाहले मञ्चमा भने ‘आज दरबारमार्गमा फेस्टिबल चलिरहेको रहेछ। म यही बाटोमा हिँडिरहेको थिएँ, तपाईंहरूलाई ह्याप्पी होली मात्रै भन्न आएको।’

मेयर शाह पुग्नुअघि उनका सचिवालय सदस्यहरू पुगिसकेका थिए। त्यहाँको माहोल र सुरक्षा हेरेर खबर गरेपछि शाह दरबारमार्ग पुगेका थिए। 

मेयर शाह बिहानैदेखि काठमाडौंका विभिन्न ठाउँमा पुगेर होली मनाउन व्यस्त थिए।

उनले दरबारमार्गमा दिएको प्रस्तुतिको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

महानगरकै आर्थिक सहयोगमा होली ‘कन्सर्ट’
हुन त यसअघिका वर्षमा पनि दरबारमार्गमा होलीको अवसर पारेर कन्सर्ट चल्ने गरेको थियो। विभिन्न निजी कम्पनीले यस्ता कार्यक्रमहरू आयोजना गर्थे, कार्यक्रममा महानगरले सहकार्य मात्रै गर्थ्यो।

तर यसवर्ष भने महानगरले नै होलीको कार्यक्रमलाई विशेष बनाउनेगरी तयारी गरेको थियो। 

सोही अनुसार केही दिन अघिदेखि पोस्टरसमेत सार्वजनिक भएको थियो। महानगर स्रोतका अनुसार आर्थिक प्रबन्धसमेत महानगरले नै गरेर उक्त कार्यक्रम आयोजना गरिएको हो।

पोस्टरमा काठमाडौँ महानगरपालिका, काठमाडौँ सिटी अफ फिल्म र युनेस्को सहयोगी रहेको बताइएको छ। 

आयोजक भने ‘आर्बिट्ररी इभेन्ट्स’ लाई राखिएको थियो। अर्बिट्ररी ग्रुपका कार्यकारी निर्देशक अविरल शाक्यले ठूलो संख्यामा सहभागी भएपछि खुसी भएको बताए।

‘हिजोको इभेन्टमा महानगरको सपोर्ट अत्यन्तै महत्त्वपूर्ण थियो,’ शाक्यले भने, ‘मेयर, उपमेयरसहितको सहयोगकै कारण हामीले सफलतापूर्वक होली सेलिब्रेसन गर्न सक्यौँ।’

विश्वभर होली पर्वको बारेमा जानकारी गराउन आइतबारको कार्यक्रमले सहयोगी भूमिका खेलेको उनले बताए।

विश्वबजारमा पुर्‍याउने प्रयास
गत फागुन १४ गते युनेस्कोले सार्वजनिक गरेको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज् नेटवर्क) मा काठमाडौँ पनि छनोट भएको थियो। 

युनेस्कोको रचनात्मक सहर सञ्जालमा छनोट भएसँगै देशविदेशमा आफ्नो सहर र संस्कृतिबारे सन्देश पुर्‍याउनेगरी यो पटक विशेष कन्सर्ट आयोजना भएको मेयर शाहको सचिवालयका एक सदस्य बताउँछन्।

‘देशभरबाट आएका विदेशी पर्यटकले यसलाई हेरे, विश्वसम्म हाम्रो संस्कृतिबारे चर्चा गराउन पनि होलीको कार्यक्रमले सहयोग पुर्‍याएको छ,’ उनले भने। 

आइतबार काठमाडौंमा ठूलो संख्यामा विदेशी पर्यटक पनि होली खेलिरहेका थिए। 

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँले चलचित्र विधा चयन गरेको थियो। सबै विधा काठमाडौँसँग सम्बन्धित भएकाले चलचित्र विधाबाट सबै क्षेत्र समेट्नेगरी यो विधा छानिएको महानगरले बताएको छ। 

ललितपुरले पनि युनेस्कोको यो सञ्जालमा जोडिन त्यतिबेला फाराम भरेको थियो। तर, उसलाई युनेस्कोले छनोट गरेन। 

देउसीदेखि होलीसम्म बालेन​
यसवर्ष काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रातभर देउसीभैलो खेल्न पाइनेगरी सुरक्षाको प्रबन्ध मिलाएको थियो। 

बितेका केही वर्षयता कोरोना महामारीका कारण राति ९ बजेसम्म मात्रै खेल्न पाइएको देउसीभैलो यो वर्ष रातभरका लागि खुला गरियो।

यसको प्रमुख कारण थिए मेयर बालेन्द्र।

मेयर शाहकै आग्रहमा प्रशासनले रातभर देउसीभैलो खेल्न पाउने प्रबन्ध गरेको थियो। मेयर शाहले पनि तिहारमा देउसी खेलेर युवालाई आफूतिर तान्ने प्रयास गरेका थिए।

आइतबार दरबारमार्गमा पनि उनले त्यही प्रयास गरेको देखिन्थ्यो। उनले भीडलाई सोधेका थिए, ‘कति बजेसम्म बस्नुहुन्छ?’

तुरुन्तै आफ्नै प्रश्नको जवाफमा उनले भने, ‘रातभरि बस्नुस्, काठमाडौँमा रातभरि होली मनाउन पाइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .