राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कडा आलोचना गरेका छन्।
मंगलबार काठमाडौंमा गरिएको आन्दोलनमा प्रहरी लगाएर दमन गरिएको भन्दै लिङ्देनले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्।
शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेको भन्दै उनले यो दिन सम्झिरहने चेतावनी पनि उनले गृहमन्त्रीलाई दिएका छन्।
४० बुँदे माग सरकारलाई बुझाइसकेको राप्रपाले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर तितरबितर बनाएको थियो।
भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भयो। त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास, र लाठीचार्ज पनि गर्यो।
त्यसपछि प्रहरीले आन्दोलनकारीलाई सहिदगेट, त्रिपुरेश्वर हुँदै थापाथली चोक पुर्याएको थियो। जहाँ आयोजित कोण सभामा राप्रपा नेताहरूले गृहमन्त्री लामिछानेमाथि रिस पोखे।
त्यहाँ सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले गृहमन्त्री लामिछानेको आदेशमा सांसदहरूलाई पनि प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाए।
सम्बोधन गर्दै लिङ्देनले आफू मात्रै जान्ने, आफू मात्रै लोकप्रिय र आफू मात्रै इमान्दार भन्ने भ्रम नपाल्न पनि गृहमन्त्री लामिछानेलाई चेतावनी दिए।
गृहमन्त्रीलाई चुनौती दिएका उनले भने, 'मैले भद्रकालीअगाडि उभिएर भनेको छु, यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन। यसो भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु। तपाईंले त्यो तागत राख्नुहुन्छ?'
शान्तिपूर्ण प्रदर्शन गर्न निषेधित क्षेत्र हटाइदिनु भन्दा राज्य शक्तिको तागत देखाएको भन्दै लिङ्देनले आक्रोश पोखे। उनले भने, 'निहत्था मान्छेमाथि आक्रमण गरेर देखिस् म गृहमन्त्री हुँ भनेर बहादुरी देखाउने? तपाईंका दिन पनि हेरौँला।’
यसअघि भद्रकालीमा सम्बोधनका क्रममा लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका थिए। यसअघि नेपाली कांग्रेसले पनि गृहमन्त्रीको राजीनामा माग्दै आएको छ।
Shares
प्रतिक्रिया