ad ad

साहित्य


कुश्माको शताब्दी घरमा ‘एक्काइसौं शताब्दी’को चर्चा

कुश्माको शताब्दी घरमा ‘एक्काइसौं शताब्दी’को चर्चा

नेपालखबर
चैत १३, २०८० मंगलबार १७:४१, काठमाडौँ

एक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ? नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ? कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ‘शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ।

लेखक-अनुवादक रोहेज खतिवडाको अनुवाद-सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि- विश्व प्रसिद्ध र धेरै पढिने पत्रपत्रिकामा छापिएका जानेमानेका/ प्रभावशाली लेखक तथा चिन्तकहरूले लेखेका १० दमदार अङ्ग्रेजी लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो।

निगरानी र स्वतन्त्रताबीचको दूरी कति छ? प्रविधिले निम्त्याउन सक्ने खतराबारे हरारीको चेतावनी, यानिस भारुफाकिसको प्रविधि सामन्तवादको कारण विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावको भविष्यवाणी, बाराक ओबामाले एचबीसी युनिभर्सिटी उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई दिएको संसार बदल्ने शक्तिशाली भाषण, भारतका राजनीतिक पत्रकार धीरेन्द्र के झाले राष्ट्रिय स्वयम संघ (आरएसएस) ले तत्कालीन जर्मनको तानाशाही शासक हिटलरको नाजीवादसँग कसरी सरोकार राख्दछ वा उसको कार्यशैलीलाई कसरी अनुसरण गर्न खोजेकोबारे रोहेज खतिवडा र दीपक सापकोटाले परिचर्चा गरे।

त्यस्तै, वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले गरिरहेको संघर्षबारे सहजकर्ता पत्रकार दीपक सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भए तापनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताए।

बेलायती पत्रकार पल म्यासनको पुँजीवाद मर्दैछ भन्नेमा दिएको ३ कारणको व्याख्या र त्यसलाई पुष्टि गर्ने अन्य तर्क, ईरानका मार्क्सवादी बाैद्धिक मन्सुर हेक्मतले अन्तर्वार्तामा मार्क्सवाद अनुरूपको समाजवाद विश्वमा अहिलेसम्म कतै नआएको भन्ने बौद्धिक धारणा अघि सारेको भन्दै २१ औं शताब्दीमा इन्टरनेटको विकासपछि संसारको अर्थ-राजनीति र राजनीतिमा पारेको प्रभावबारे कार्यक्रममा विमर्श गरियो।

किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरू समेटिएका छन्।

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका प्रमुख विशेषता सन् २०२० को कोभिड महामारी, अमेरिकी वर्चस्वको अन्त्य, बहुध्रुवीय विश्वको उदय, फासीवादको वर्चस्व र पुँजीवादी अर्थप्रणालीमा संकटका रूपमा देखापर्छ। यद्यपि, यसको सबैभन्दा महत्त्वपूर्ण पाटो विज्ञान र प्रविधि, खासगरी सूचना प्रविधिको विकासमा देखा परेका संकट र विषयहरू पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए।

विमर्श कार्यक्रममा कथाकुथुंग्री समूहले युबल नोहा हरारीको निबन्ध ‘एकदिन हामी मृत्युलाई जित्नेछौं’ वाचन गरेको थियो। कथाकुथुंग्रीमा सारस, भेनिषा र सौरभलगायत छन्।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यस पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोगलगायतका निबन्ध समावेश छन्।

कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले भने, ‘कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरूबीचमा मात्र होइन, देश-देशबीचको असमानता पनि अकल्पनीय रूपमा बढिरहेको सन्दर्भमा सामाजिक रूपान्तरणका लागि हामी बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहनेछौं।’

यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा पत्रकारिता र काव्य कर्मलाई सँगै डोर्‍याउँदै आएका कवि देवव्रतको कविता वाचन भएको थियो। उनले आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायत कविताहरू वाचन गरेका थिए।

‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ पत्रकार/कवि देवव्रतको पहिलो कविता- किताब हो, जसमा ३८ थान कविता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .