कोसीका मुख्यमन्त्री केदार कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएको छ।
कार्कीलाई हटाउने योजनासहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर संकल्प प्रस्ताव पेश गरेका थिए।
शुक्रबार बसेको प्रदेशसभाको विशेष बैठकबाट सो प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन्।
प्रदेशसभामा कार्कीले प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।
‘प्रदेश जोगाउन र मध्यावधि रोक्न म मुख्यमन्त्री बनेको हो’ प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘त्यतिबेला मेरो दलको लेटर प्याड खोजिएन, संसदीय दल र नेता खोजिएन । मैले पार्टीले कारबाही गरे पनि मध्यावधि रोकिन्छ भनरे जोखिम उठाएको हो ।’
मुख्यमन्त्री कार्कीले गरेको आग्रह अस्वीकृत भएको हो।
संकल्प प्रस्ताव फिर्ता नभएपछि बहुमतले पारित भएको घोषणा भएको हो।
कोशीमा एमााले र माओवादीको गरी ५२ सांसद छन्। बहुमत सदस्यले कार्कीको राजीनामा मागेपनि उनले नदिएपछि संकल्प प्रस्ताव ल्याएका थिए।
कार्कीले राजीनामा नदिने भन्दै बरु आफ्नै नेतृत्वमा सर्वदलीय सरकार बनाउने प्रस्ताव गरे।
‘म संविधानको मार्गमा हिँड्छु। अर्कोे कुनै मार्गप्रशस्त गर्दिनँ,’प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसको विकल्पमा सर्वसहमतिको सर्वदलीय सरकार बनाऔं। प्रदेशलाई अनिश्चयको भूमरीमा नपारौं। हनुमानको पुच्छरमा आगो नलगाऔं।’
संकल्प प्रस्ताव पारित भएसँगै उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएको छ।
Shares
प्रतिक्रिया