ad ad

अन्तर्वार्ता


बुवा भन्नुहुन्थ्यो– तिमीलाई राजनीतिमा ल्याउँछन्, म इलामबाट उठ्दा श्रद्धाञ्जली नै हुन्छ : सुहाङ नेम्बाङ (अन्तर्वार्ता)

‘वर्ल्डकपको पेनाल्टीमा अर्जेन्टिनाले गोल हानेपछि सँगै उफ्रिँदा मलाई बुवा साथीजस्तो फिल भयो’
बुवा भन्नुहुन्थ्यो– तिमीलाई राजनीतिमा ल्याउँछन्, म इलामबाट उठ्दा श्रद्धाञ्जली नै हुन्छ : सुहाङ नेम्बाङ (अन्तर्वार्ता)

रुपक चौलागाईं
माघ २१, २०८० आइतबार ७:०, काठमाडौँ

गत भदौ २६ गते बिहानै अस्ट्रेलियामा सुतिरहेका बेला आएको खबरले अहिले पनि झस्कन्छन्, सुहाङ नेम्बाङ। सुहाङ संविधान सभा अध्यक्ष स्व. सुवास नेम्बाङका कान्छा छोरा हुन्। बुवाको निधन भएको अपुष्ट खबर सुन्नासाथ सुहाङ हतार–हतार नेपाल फर्किएका थिए। बुवाको निधनपछि पारिवारिक र व्यावसायिक जिम्मेवारी सम्हालिरहेका सुहाङ राजनीतिमा आउने चर्चा पनि चलिरहेको छ। यसै सन्दर्भमा सुहाङसँग नेपालखबरले गरेको कुराकानी :

हिजोआज दिन कसरी बितिरहेको छ?
घरव्यवहारतिर ध्यान दिनैपर्‍यो। आमा, दिदीबहिनीहरूसँग अलिकति धेरै समय बिताउने गरेको छु। आफ्नो ल फर्मलाई केही समय दिने गरेको छु। हाम्रो परिवारलाई माया गर्ने शुभचिन्तकलाई पनि अलिअलि समय दिँदै छु।

बुवाको निधनपछि परिवारमा बढी सक्रिय हुनुपरेको होला, होइन? 

निश्चय नै, नेम्बाङ परिवार र हाम्रै परिवारमा पनि बलियो खम्बाको रूपमा बुवा हुनुहुन्थ्यो। उहाँको निधनपछि एउटा जिम्मेवारी त आउने नै भयो। त्यो जिम्मेवारी वहन गर्दा खासै फरक भने लागेको छैन। बुवा र हामी साथीसाथी जस्तै थियौँ। सबै कुरा सल्लाह र सुझावमै हुन्थ्यो। जिम्मेवारीबोधचाहिँ भएको छ। तर, त्यसलाई भारको रूपमा लिएको छैन। 

नेपालखबरसँगकै अलि पहिलाको कुराकानीका क्रममा भन्नुभएको थियो– म कुशल व्यवसायी पनि बन्नुपर्नेछ। अहिले ल फर्मदेखि फुटबल क्बलसम्मका जिम्मेवारी पूरा गर्न कत्तिको सहज छ?
मैले त्यसलाई भारको रूपमा लिएको छैन। किनभने, बुवा छँदा नै मैले गरेको कुराकानीमा व्यवसाय गर्नुपर्छ भनेको थिएँ। अहिलेको अवस्थामा ९–५ को जागिरले मात्रै नहुन सक्छ। त्यसकारण व्यावसायिक रूपमा अब्बल भइयो भने पैसाको खडेरी पूर्ति गर्न सकिन्छ कि, सामाजिक काममा पनि लाग्न सकिन्छ कि भन्ने कुरालाई सम्झिएर व्यावसायिक रूपमा अघि बढ्न परिवारमा छलफल भइरहन्थ्यो। त्यहीकारण पनि ‘स्पोर्टिङ इलाम एफसी’ स्थापना गर्‍यौँ। त्यो व्यावसायिक र सामाजिक कार्य दुवैका लागि थियो। सँगसँगै मेरो मुख्य कुरा भनेकै ‘कान्तिपुर ल असोसिएट्स एन्ड रिसर्च सेन्टर’ भन्ने ल फर्म हो। त्यो मैले बुवासँगकै सल्लाहमा खोलेँ।

त्यसमा मेरो अत्यन्तै मिल्ने दाइ साथी, जसले पार्टनरको रूपमा हेरिरहनुभएको छ, आरसी गौतम। उहाँले पनि निकै सहयोग पुर्‍याउनुभएको छ। सबैबाट राम्रो साथ पाइएको छ। त्यसका लागि मैले धेरै ठाउँबाट प्रयास पनि गरेँ। मलाई भार भन्नेचाहिँ अनुभूति हुन पाएको छैन। 

बुवालाई एक राजनीतिज्ञको रूपमा कसरी सम्झनुहुन्छ?
राजनीतिज्ञको रूपमा बुवालाई सम्झँदा, असल नेता, स्वच्छ छविको नेता भनेर सम्झन चाहन्छु। जसले सबैलाई मिलाएर लान सक्नुहुन्थ्यो। सबै कुरालाई मिलाएर त्यो गन्तव्यसम्म पुर्‍याउन सक्ने क्षमता बोक्नुभएको नेता भनेर सम्झन चाहन्छु। 

बुवाको निधनपछि सामाजिक सञ्जाल वा राजनीतिक वृत्तमा तपाईं राजनीतिमा आउने चर्चा पनि छ, यसबारे के सोचिरहनुभएको छ?
राजनीतिमा हामी परिवार नै जोडिएका छौँ। प्रत्यक्षरूपमा हामी राजनीतिमा नआए पनि बुवा गेटदेखि कोठासम्म पुग्नेबेला, उहाँसँग खाना खाने बेला, उहाँको हरेक कदम–कदममा राजनीति जोडिएका कारण यो परिवार पनि राजनीतिमा जोडिएको छ। 

र, बुवासँगको सरसल्लाह भनेको म कानुन पढ्नुमा थियो। त्यसपछि राजनीतिमा पछि के गर्ने भन्नेबारे छलफल भइरहन्थ्यो। 

मैले एकपटक जिस्किएर राजनीतिमा केही नहोलाजस्तो लाग्यो, तपाईंहरूले न्यायपालिका, कार्यपालिका ध्वस्त बनाउनुभयो भनेर भनेको थिएँ। बुवा र छोरामा ठट्टा चलिरहन्थ्यो। उहाँले अब आउने युवा पुस्ताले नै बनाऊ न त भन्नुहुन्थ्यो। अब तिमीहरू आएर सुधार्नुपर्छ भन्दा मैले ‘ठिकै छ, यसमा सोच बनाउनुपर्छ’ भनेको थिएँ। बुवाले मलाई ‘तिमी जेसुकै भन, तिमीलाई मेरा साथीभाइले बुझाएर राजनीतिमा ल्याउँछन्’ भन्नुभएको मलाई अझै सम्झना छ। त्यसकारण राजनीतिसँग केही न केही हिसाबले जोडिएका छौँ।

बुवाका साथीभाइले अहिले के भन्दै हुनुहुन्छ त?
राजनीतिक माहोलमा अहिले जोडिने बेला भएको छजस्तो मलाई लागेको छैन। साथी वा शुभचिन्तकहरू सबैले अहिले तिमी बुवाको उत्तराधिकारी भएर आउनुपर्छ भन्नुहुन्छ। बुवाको बिँडो थाम्नुपर्छ भन्नुहुन्छ। त्यो माया गर्नेहरूले भन्ने कुरा नै हो। उहाँहरूले पटकपटक फोन संवादमा ‘छोरा, अब तयारी गर्नुपर्छ’ भनिरहनुहुन्छ। राजनीतिक कुराहरू सिकाउँछौँ भन्नुहुन्छ। बुवाका शुभचिन्तकहरू सबैले राजनीतिक र पारिवारिक कुरा गर्नुहुन्छ। 

बुवाले अधिकांश समय एमालेको राजनीतिमा बिताउनुभयो। पछिल्लो समय पार्टीका अध्यक्षदेखि शीर्ष नेताहरू सम्पर्कमा आउनुभएको छ?
एउटा भनाइ छ– मान्छेले बलेको आगो ताप्छ। तर, यो भनाइबाट हाम्रो परिवार धेरै पर रहेछ। मैले भन्ने गरेको छु– बुवाले कमाउनुभएकै मान्छेहरू रहेछ। बुवाको देहान्तपछि पनि उहाँ (केपी ओली) ले पटकपटक हालखबर सोधिरहनुहुन्छ। केही पर्‍यो भने भन्नुस् है बाबु पनि भन्नुहुन्छ।

हामीलाई माथि पार्टीका अग्रजहरूले पनि माया गरिरहनुभएको छ। बुवा हुँदा जसरी गर्नुहुन्थ्यो, अहिले पनि त्यसैगरी अभिभावकत्व निभाइरहनुभएको छ। 

एमालेले चलाएको ‘समृद्धि यात्रा’का क्रममा तपाईं पनि पाँचथरमा सहभागी हुनुभयो। त्यहीँबाट सुहाङको राजनीतिक यात्रा सुरु भयो भन्दा हुन्छ? 
मैले स्पष्ट पार्न खोजेँ, राजनीतिमा हाम्रो प्रवेश पहिल्यैदेखि थियो, अप्रत्यक्ष रूपमा। बुवाले खाना खाँदा, भेटघाट गर्दा, उहाँको ल फर्मको अफिस घुम्दा प्रत्यक्ष रूपमा हिँडेको छु। त्यहीकारण राजनीतिक परिवारको मान्छे भएको हुँदा हामी पहिल्यैदेखि जोडिएका छौँ। राजनीतिमा मलाई सानैदेखि चासो छ। राजनीतिमा युवाहरू सबैले चासो राख्नुपर्छ। हामीले चासो राखिराख्दा हामी नै राजनीतिमा आएर कतै व्यवस्थापन हुनुपर्छ भन्ने होइन। मैले एउटा ठाउँमा भाषणमा भनेको छु– त्यही परिवारको छोरा भएको कारणले मैले नै अवसर प्राप्त गर्नुपर्छ भन्ने लाग्दैन।

अहिलेको अवस्था र परिस्थिति हेर्दा, इलामका जनताले के भन्छन्, परिवारले के भन्छ, पार्टीको नेतृत्वले के भन्छ। त्यही अनुरूप मैले अवसर प्राप्त गर्छु भने त्यो अवसर गुमाउन चाहन्नँ। खुट्टा कमाउँदिनँ। म डटेर लाग्छु। 

अबको उपनिर्वाचनमा बुवाको क्षेत्र (इलाम)बाट तपाईं उठ्न तयार हो?
यसलाई म धेरै घुमाएर भन्न चाहन्नँ। अवसर प्राप्त भएको खण्डमा खुट्टा कमाउन चाहन्नँ। यो भनेको मैले बुवालाई श्रद्धाञ्जली अर्पण गर्नुजस्तो पनि हो। अहिलेको अवस्थामा युवाको खाँचो छ भन्ने जुन नारा चलिरहेको छ, त्यसमा युवासँगै अग्रजहरूको अनुभव पनि चाहिन्छ। त्यसरी नै यो राष्ट्रलाई बनाउन सक्छौँ। 

नेपालको जनसंख्याको ठूलो हिस्सा विदेशतिर लागिरहेको छ। युवाले राजनीतिमा आएर के गर्न सक्छ?
हामीसँग अहिले उदाहरण नै उदाहरण छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह, हर्क साम्पाङजस्ता उदाहरण छन्। अहिले उहाँहरूबाट काम पनि भइरहेको छ जस्तो लाग्छ। खाली यसमा नपुगेको– कहिलेकाहीँ तरकारी पाक्दा नुन खुर्सानी पुग्यो भने मात्रै मिठो भयो भनिन्छ नि, त्यसै गरेर अनुभव र तजुर्बा अनि आशीर्वादको मिश्रणले पूर्णता प्राप्त गर्छ। 

बालेन, हर्क, रविको नाम लिनुभयो। उहाँहरूलाई कसरी मूल्यांकन गरिरहनुभएको छ?
हामी युवाहरूमा ऊर्जा छ। हामीमा अलिकति मिसिङ भनेको अनुभव हो। त्यो समय अनुरुप नै आउँछ। त्यो अनुभवका लागि अभिभावकको तजुर्बा चाहिन्छ जस्तो लाग्छ। किनभने, एउटा खाल्डोबाट अर्कोमा नझरौँ भन्नका लागि तजुर्बाले सिकाउँछ। कहिलेकाहीँ हामीमा त्यो कमी हुनसक्छ। त्यो अनुभवले हामी समस्याबाट जोगिन सक्छौँ। मलाई युवा नेताहरुले अहिले राम्रै गरिरहनुभएको छ जस्तो लाग्छ। 

तपाईंले इलामवासीको प्रतिक्रिया चाहिँ लिनुभएको छ कि छैन?
मैले त्यसरी सोध्दै त हिँडेको छैन। धन्यवाद भन्दै हिँड्ने क्रममा धेरै अग्रज, आमाबुवाहरूले हामीलाई तपाईंको खाँचो छ, आउनुपर्छ है बाबु भन्ने सुनेको छु। अब उहाँहरूले माया गरेर भन्नुभयो जस्तो लाग्छ। बुवाको आदरणीय हुनुहुन्थ्यो उहाँहरू। त्यो कारणले भनेको जस्तो पनि लाग्छ र म युवा भएको हुनाले भनेको जस्तो पनि लाग्छ। 

बुवाको निधनमा कहाँ हुनुहुन्थ्यो? 
बुवासँग खेलकुदको विषयमा कुरा भयो। नेपालमा महिला सुपर लिग गर्नुपर्छ भन्ने छलफल भएको थियो। मेरो मिल्ने साथी पियुष न्यौपानेसँगको छलफलपछि अस्ट्रेलियामा भइरहेको ‘फिफा वुमन्स वल्र्डकप’ तिर लाग्यौँ। त्यहाँ विभिन्न देशका कोच, फुटबलका प्रतिनिधि आउने भएकाले हाम्रा विभिन्न मिटिङ तय भएको थियो। महिला फुटबल पनि हेर्न हुन्छ भनेर हामी एक महिनाको कार्यक्रम बनाएर गयौँ।

बुवाको देहान्तपछि म २१ दिनमै फर्कनुपर्‍यो। साथीले धेरै काम सकेर आउनुभयो।

बुवाको निधन हुँदा ‘काठमाडौँमै भइदिएको भए’ भन्ने लाग्यो कि!
अवश्य पनि। खड्कने कुरा नै हो। जस्तो कि म अस्ट्रेलिया जानुअघि हामी एक अर्कालाई अंकमाल गर्दै रोएका थियौँ। यो सायद, संयोग हुनसक्छ। रुन आवश्यक थियो जस्तो लाग्दैन मलाई। २१ दिन बितेपछि ७ दिन मात्रै बाँकी हुँदा उहाँ बितेर जानुभयो। मेरो अन्तिम भेट नै त्यही थियो। 

म यहाँ भएको भए यस्तो गर्थेँ भन्ने अर्कै कुरा हो। तर, मैले उहाँसँग हरेक दिन, हरेक पल सँगै बिताउन पाएको भए चाहिँ खुसी हुन्थेँ जस्तो लाग्छ। 

बुवाको निधनको खबर कसले सुनाएको थियो?
म लामो मिटिङपछि सुतिरहेको थिएँ। बैनीले मलाई इन्स्टाग्राममा कल गरिरहेको रहेछ। मेरो विभुषण भन्ने भाइ अर्को खाटमा सुतिरहेको थियो। उसले फोन प्राप्त गरेछ। त्यसपछि उसले मलाई झस्कँदै उठायो। बुवा धेरै हेल्थ कन्सियस हुनुहुन्थ्यो। मलाई दिमागमा पनि उहाँलाई केही भयो भन्ने आएन। बिहानको ६ बजेको थियो। त्यो समाचार पाउनासाथ टिकट काटेर हिँडेँ।

नेपालमा रातिको ११ बजे आइपुगेँ। र बुवाको शव राखेको ठाउँमा गएँ।

त्यो प्लेनको यात्रामा आफूलाई कसरी सम्हाल्नुभयो?
म त्यहाँबाट उड्नुअघि ‘अलिकति चान्स छ बाबु’ भनेर चिकित्सकले भनेको कुरा दिमागमा चलिरह्यो। उहाँ कुशलताको कामना मात्रै थियो।म काठमाडौं उत्रनेबित्तिकै विमानस्थलबाट सिधै पार्टी अफिस च्यासल गएँ। त्यहाँ गएपछि मैले आफूलाई कन्ट्रोल गरेँ। 

च्यासल पुगेपछि मात्रै थाहा पाउनुभयो?
उहाँ बितिसक्नुभएको खबर धेरैले भनिरहनुभएको थियो। तर, छोराको ब्याक अफ द हेडमा चाहिँ नहुन पनि सक्छ भन्ने चलिरहँदो रहेछ।

बुवाले तपाईंलाई फुटबल क्लब खोल्न कसरी प्रेरित गर्नुहुन्थ्यो?
बुवा आफैँ पनि खेलकुदप्रेमी हुनुुहुन्थ्यो। फुटबलमा एकदम रुचि राख्नुहुन्थ्यो। मलाई अझै पनि याद छ, रातिको २ बजे मेरो छेउमा आउनुहुन्थ्यो। मलाई उठाउन पनि नखोज्ने, फुटबल पनि मिस गर्न नचाहने। छेउमा आएर बसिराख्नुहुन्थ्यो। म झसंग ब्युँझिएर हेर्दा– के भयो बुवा भनेर भन्दा मेरो साढे २ मा त फुटबल छ नि त। लगाइदिनुपर्‍यो भन्नुहुन्थ्यो। मतलब उहाँ रातिको साढे २ बजेसम्म पनि फुटबलको प्रतीक्षा गरेर मात्रै सुत्नुहुन्थ्यो। 

उहाँ बाल्यकालदेखि नै फुटबल खेल्नुहुन्थ्यो। उहाँले विभिन्न सिल्डहरू इलामलाई प्रतिनिधित्व गर्दै खेल्नुभयो। खेलकुदमा उहाँले सधैँ प्रोत्साहन दिनुहुन्थ्यो। 

खेलकुद र फुटबलको विकासका लागि भनेर बुवा र मेरो एउटै भावना थियो। पूर्वदेखि पश्चिमसम्म खेलकुदको विकासका लागि फुटबलबाट सुरु गरौँ भन्नुहुन्थ्यो। हामीले ‘स्पोर्टिङ इलाम एफसी’ सुरु गर्‍यौँ। अस्तिको एनएसएलमा हामीले जित हात पार्न सकेनौँ। बुवाको पनि एनएसएल हेर्न आउने इच्छा थियो। जुन हुन सकेन। त्यो बेलामा मैले उहालाई धेरै सम्झिँए। उहाँले खेलकुद र त्यसको विकासका लागि हामीलाई सधैँ भन्नुहुन्थ्यो। 

बुवा लियोनल मेस्सीको फ्यान हुनुुहुन्थ्यो। खेलप्रेमीका रुपमा बुवासँग बिर्सननसक्ने घटना सुनाइदिनुस् न!
यसमा दुईवटा घटना जोडेँ। बुवा र म सधैँ फुटबल हेथ्र्यौं। अर्जेन्टिनाले जर्मनीसँग फाइनल हारेको र २०२२ को वर्ल्डकप जितेको दिन सम्झन चाहन्छु। 

हामी सँगै रोयौँ, सँगै उफ्रियौँ। २०१४ को वल्र्डकपजस्तो लाग्छ। अर्जेन्टिनाले जर्मनीसँग एक्स्ट्रा समयमा गएर हार्दा, बुवा आँसु झार्न त नसक्ने। तर आँखाभरि आँसु आयो। मैले उहाँलाई हेरेँ, उहाँले मलाई हेर्नुभयो। ल अब सुत्न जाऔँ भनेर हिँड्यौँ। एक दुई दिनसम्म हामीले फुटबलको कुरा गर्नै सकेनौँ। किनभने हामी दुवै अर्जेन्टिना र मेस्सीको फ्यान थियौँ। 

२०२२ को वर्ल्डकपमा म साथीहरूसँग नगई बुवासँग फाइनल हेरिरहेको थिएँ। अन्तिममा जब अर्जेन्टिनाले पेनाल्टीमा गोल हान्यो, त्यो बेलामा हामी धेरै उफ्रियौँ। त्यो बेलामा बुवा र म उफ्रिँदा मलाई बुवा मेरै उमेरको साथीजस्तो फिल भयो। यति धेरै मच्चिएर उफ्रिनुभएको थियो। अंकमाल गर्दै ‘मेस्सीले जितेरै छाड्यो’ भनेर भन्नुभयो।

त्यसमा आमाको प्रतिक्रिया चाहिँ के हुन्थ्यो? 
आमा मनबाट नेयमारको फ्यान। बाहिरबाट छोरा र श्रीमानलाई सधैँ सपोर्ट गर्नुहुन्थ्यो। त्यस्तो बेलामा उहाँ खुसी नै हुनुहुन्थ्यो। उहाँ पनि हामीसँगै उफ्रनुभएको थियो।

एनएसएलमा यो पटकको अनुभव कस्तो भयो? 
अनुभव निकै राम्रो भयो। धेरै कुरा सिक्न पायौँ। म्यानेजमेन्टमा के गर्ने र खेलमा के गर्ने भनेर हामीले धेरै नै सिक्न पायौँ। खेलमा धेरै नै रिजल्ट नआउँदा जुन दुःख लाग्छ, त्यो पनि हामीले तितै तरिकाले अनुभव पायौँ। हामी टेबलको अन्तिममा थियौँ। साथीहरूले गिज्याउनका लागि पनि पछाडिबाट फर्स्ट भइस् भन्दा कति चोट पुग्ने रहेछ भन्ने कुरा थाहा पायौँ। 

समग्रमा अनुभव चाहिँ मिठो रह्यो। किनभने हामीले पहिलो पटक भाग लिएका थियौँ। इलाममा ठूलो टीभीमै प्रसारण भयो भन्ने सुनेँ। काठमाडौँमै रहेका साथीहरूले पनि राम्रो सपोर्ट गर्नुभयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .