गण्डकी


हिमाल हेर्न अस्ट्रेलियाबाट नेपाल आएका पिटर, जो म्याग्दीमा गर्दैछन् शैक्षिक सुधार

हिमाल हेर्न अस्ट्रेलियाबाट नेपाल आएका पिटर, जो म्याग्दीमा गर्दैछन् शैक्षिक सुधार

पिटर जेटी हल


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १५:५४, बेनी (म्याग्दी)

अस्ट्रेलियाका पिटर जेटी हल भ्रमणको सिलसिलामा पहिलोपटक सन् १९९३ मा म्याग्दी आएका थिए। ट्रेकिङ पर्यटकका रूपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को पर्यटकीयस्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय छन्। 

नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुगेका पिटर यहाँको प्राकृतिक सौन्दयर्ताले लोभिए। भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्कियो। दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेन, यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तरघुलन हुने प्रयास पनि गर्‍यो। 

‘पहिलोपटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रोपटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ’, पिटरले भने।

हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आएका पिटर यसबीच १९ पटक नेपाल आएका छन्। 

सन् २००१ मा तेस्रोपटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनः पाउद्वार गाउँमा पुगेका थिए। यसपटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उद्देश्यमा केन्द्रित थियो। पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो। गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो। 

चौथोपटक सन् २००८ मा नेपाल आएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सारे। तत्कालीन शिख गाविसअन्तर्गतका ६ विद्यालयलका शिक्षकलाई पिटरले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गरेका थिए। 

सुरुआतका वर्षहमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका पिटरले पछिल्लो दशकयता भने संस्थागत रूपमा आर्थिक सहयोग गरिरहेका छन्। तत्कालीन पाउद्वार माविका शिक्षकसमेत रहेका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अस्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेसन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ। 

लर्न र क्वालिटी एजुकेसनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीनवटा स्थानीय तहमा विस्तार भएको छ। अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताए। 

‘अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसनमार्फत हामीलाई वार्षिक रूपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौं, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरुमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ’, तिलिजाले भने। 

नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आएका पिटरले यहाँको अवस्था बुझेर शैक्षिक उन्नयनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उनले बताए। लर्न र क्वालिटी एजुकेसनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरूलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा महत्त्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

‘गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्टाछुट्टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षाकोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौँ’, अध्यक्ष भण्डारीले भने। लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ।

क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो। यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०/२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .