कारोबार


इन्टरनेट बजारमा वर्ल्डलिंकको २९ वर्षे विरासत : ९ लाख ग्राहक, मागअनुसारका प्रोडक्ट

इन्टरनेट बजारमा वर्ल्डलिंकको २९ वर्षे विरासत : ९ लाख ग्राहक, मागअनुसारका प्रोडक्ट

नेपालखबर
बैशाख १२, २०८१ बुधबार १४:२६, काठमाडौँ

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहक ९ लाख पुगेका छन्।

२०१७ मा १ लाखमा सेवा दिएको कम्पनीले सात वर्षमै ९ गुणाले ग्राहक बढाउन सफल भएको हो। वर्ल्डलिंकले यसलाई कोशेढुंगा भनेको छ।

‘९ लाख ग्राहक पुग्नु वर्ल्डलिंकप्रतिको विश्वास हो। हाम्रो सेवाले ग्राहकहरुमा आत्मविश्वास बढाएको छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, ‘ग्राहकले वर्ल्डलिंकलाई विश्वास गर्छन् भन्ने प्रमाणित भएको छ। ग्राहकको लागि सेवा र क्षमता बढाउन प्रतिबद्ध छौँ।’

वैदेशिक लगानी भित्रिनुअघि २०७४ वैशाखमा वर्ल्डलिंकका १ लाख १ हजार ग्राहक थिए। त्यसयता कम्पनीका ग्राहक निरन्तर बढ्दै गएका छन्। 

२०१८ मेमा २ लाख, २०१९ को फ्रेबुअरीमा ३ लाख, २०२० को डिसेम्बरमा ४ लाख ग्राहक पुगेका थिए। त्यसपछि सन् २०२२ को नोभेम्बरमा ७ लाख ग्राहक पुगेकामा हाल ९ लाख पुगिसकेका छन्।

२९ वर्षे विरासत 
वर्ल्डलिंक सन् १९९५ मा स्थापना भएको थियो। इमेल सेवाबाट सुरु भएको कम्पनीले सन् १९९७ बाट डाइलअप इन्टरनेट सेवा दिन थालेको थियो।  

सबैलाई जहाँ पनि सधैँ जोड्ने लक्ष्यसहित कम्पनी स्थापना भएको थियो। वर्ल्डलिंकले ग्राहकको मागअनुसार आफ्ना प्रोडक्ट प्रदान गर्दै आएको छ। मुख्यतः आवासीय, एसएमई र कर्पोरेट क्षेत्रलाई प्राथमिकता दिई सेवा विस्तार गरिरहेको छ। 

देशभर पुगेको वर्ल्डलिंकका १३० शाखा कार्यालय छन्। कम्पनीले ५ हजार ५०० बढीलाई रोजगारी दिइरहेको छ। कुल ७७ जिल्लामध्ये वर्ल्डलिंक पुग्न अब ३ वटा जिल्लामा मात्रै बाँकी छ। 

प्रत्यक्ष वैदेशिक लगानी, दुर्गमसम्म सेवा
दुर्गमका जिल्ला र पालिकामा वर्ल्डलिंकको सेवा विस्तार गर्न वैदेशिक लगानी भित्र्याएको छ।

वर्ल्डलिंकले सन् २०१९ मा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)बाट १ अर्ब ३५ करोड लगानी भित्र्याएको थियो। जसमध्ये १ अर्ब बीआईआईको प्रत्यक्ष लगानी थियो।

१ वर्षअघि मात्रै कम्पनीमा बेलायती सरकारको पूर्ण लगानी रहेको बीआईआई र डोल्मा इम्प्याक्ट फन्डबाट १ अर्ब ९८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो। जसमा बीआईआईको १ अर्ब ८ करोड र डोल्मा फण्ड इम्प्याक्ट फन्डको ९० करोड लगानी समावेश छ। 

वर्ल्डलिंकले कुल ३ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको छ। उक्त लगानी दुर्गम क्षेत्रको सेवा विस्तार र गुणस्तर वृद्धिमा खर्च गर्ने कम्पनीको भनाइ छ। 

सन् २०१२ मा वर्ल्डलिंकले ‘फाइबर टु द होम’ प्रविधि नेपाल भित्र्याएको थियो। सन् २०१८ मा कम्पनीले फिनल्यान्डको बहुउद्देश्यीय आईटी इन्फास्टक्चर फर्म नोकियासँग सहकार्य गरी एफटीटीएच नेटवर्क विस्तार गरिरहेको छ। १० लाख ग्राहकसमक्ष फाइबर नेटवर्क विस्तार गर्ने कम्पनीको लक्ष्य छ।

३३ प्रतिशत बजार हिस्सा 
वर्ल्डलिंक इन्टरनेट सेवा प्रदायकमध्ये राजस्वमा योगदान गर्ने सबैभन्दा ठूलो कम्पनी हो। नेपाली बजारमा इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिंकको ३३ प्रतिशत बजार हिस्सा छ। ४० प्रतिशत इन्टरनेट ट्राफिक वर्ल्डलिंकको मात्रै छ। 

कम्पनी नेपालको सूचना प्रविधि र इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ। वर्ल्डलिंकले १५ हजार बढी सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ समेत उपलब्ध गराएको छ। 

वर्ल्डलिंकले ग्राहकका लागि सेवा ग्यारेन्टी अफर ल्याएको छ। वर्ल्डलिंकको २००, २५० र ३०० एमबीपीएसका प्याकेज सबैभन्दा लोकप्रिय छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .