आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।
निर्वाचन क्षेत्र समन्वय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ।
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमका ४ क्षेत्रमा एकल उम्मेदवार सिफारिस भएका छन्। अन्य १२ क्षेत्रमा भने उम्मेदवारका लागि आँकाक्षीबीच हानथाप देखिएको छ।
आकांक्षीबीच मतभेद हुँदा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन क्षेत्र समन्वय कमिटीले मतदान गरेर नै उम्मेदवार सिफारिस गरेको छ।
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रबाट एमालेको उम्मेदवार सिफारिसमा परेकाहरु अधिकाँस पुरानै अनुहार छन्। तीमध्ये कोही निर्वाचन जितेका छन् त कोही निर्वाचन हारेका पनि छन्।
एमाले उपमहासचिव लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएका छन्। पूर्वमन्त्री समेत रहेका उनी ०७९ को चुनावमा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरसँग पराजित भएका थिए।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. दीपक प्रकाश भट्ट एकल सिफारिस भएका छन्। ०७४ को चुनावमा वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनले कांग्रेसका रमेश लेखकलाई पराजित गरेका थिए।
यो क्षेत्रबाट ०७९ को चुनावमा कांग्रेसका लेखक एमालेकी निरुदेवी पाललाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए।
बैतडीबाट पूर्वमन्त्री दामोदर भण्डारी र दार्चुलाबाट पूर्वमन्त्री गणेश ठगुन्ना एकल सिफारिसमा परेका छन्। भण्डारी ०७९ को चुनावमा विजयी भएका थिए भने ठगुन्ना कांग्रेसका दिलेन्द्र प्रसाद बडूसँग पराजित भएका थिए।
नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जिल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नामावली बुधबार केन्द्रमा पठाइने बताए।
उनका अनुसार मंगलबारसम्म जिल्ला कमिटीलाई सबै क्षेत्रको सिफारिस पठाउन भनिएको छ। उम्मेदवार सिफारिस लगायत विषयमा छलफल गर्न बुधबार प्रदेश कमिटी बैठक बोलाइएको छ।
१२ क्षेत्रमा हानथाप, को को भए सिफारिस?
कञ्चनपुर क्षेत्र नम्बर २ मा मतदान गरेर ३ उम्मेदवार सिफारिस गरिएको छ। खुलातर्फ एमाले कञ्चनपुरका उपसचिव असोककुमार चन्द ६१ मत र पूर्वकेन्द्रीय सदस्य नरबहादुर धामी ५७ मतसहित निर्वाचित हुँदै उम्मेदवार सिफारिस भए।
चन्द ०७९ को स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। ०७४ मा क्षेत्र नम्बर २ बाट निर्वाचन नेता धामी ०७९ को चुनावमा भने कांग्रेसका एनपी साउदसँग पराजित भएका थिए।
यस्तै, महिलातर्फ पार्वती जोशी ४४ मतका साथ निर्वाचित हुँदै उम्मेदवार सिफारिस भइन्।
कञ्चनपुर १ बाट विघटित प्रतिनिधिसभा सदस्य तारालामा तामाङसहित तीन जना सिफारिस भएका छन्। जसमा केन्द्रीय सदस्य कमला बोहरा र इन्दु कडरिया छन्।
नेकपा एमालेले २ पुरुष र १ महिला गरी ३ उम्मदेवार सिफारिस गर्न निर्देशन दिएको थियो। केही क्षेत्रमा उक्त निर्देशन पालना भएको छैन।
कैलाली क्षेत्र नम्बर १ बाट ८ जना सिफारिस भएका छन्। जसमा तपेन्द्र रावल, द्वारिका न्यौपाने, डिल्लीराज जोशी, प्रेम चौधरी, धुव्र खत्री, प्रकाश खड्का, लक्ष्मण थापा र चन्द्रावती शर्मा छन्।
कैलाली क्षेत्र नम्बर २ बाट निर्देशनअनुसारै तीन जनाको मात्रै नाम सिफारिस गरिएको छ। जसमा झपट रावल, कमलाकुमारी ओली र महादेव बजगाईं छन्।
कैलाली ३ मा पूर्वमन्त्री गौरीशंकर चौधरी, पूर्वमेयर ममताप्रसाद चौधरी र पूर्वउपमेयर छायादेवी देवकोटालाई उम्मेदवार सिफारिस भएका छन्।
कैलाली क्षेत्र नम्बर ५ मा नारदमुनि राना, यज्ञराज ढुंगाना र सरिता सिजापतिको नाम सिफारिस गरिएको छ।
२ निर्वाचन क्षेत्र रहेको अछामबाट १७ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर १ को समन्वय कमिटीले ९ जनाको नाम जिल्लामा सिफारिस गरेको छ। जसमा मलराज तिमिल्सेना, झपट बोहरा, मनसरा साउँद, कृष्णप्रसाद जैसी, तिलक कुँवर, जनक रावल, मोति विक, पूर्ण साउद र केशर साउद रहेका छन्।
क्षेत्र नम्बर २ बाट ८ जना आकांक्षीलाई उम्मेदवार सिफारिस गरिएको छ। पूर्वसांसद यज्ञ बोगटी, अछाम जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्याय, निर्वतमान अध्यक्ष चन्द्रबहादुर बोहरा, नेताहरू बमबहादुर बिसी, सिद्धप्रसाद ढुंगाना, नरेशकुमार शाही, भीम जनाला र हस्तना शाही सिफारिसमा परेका छन्।
डडेल्धुराबाट केन्द्रीय सदस्य पठानसिंह बोहरा, सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य ज्ञानु गैरे र पूर्वराष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीको नाम पनि सिफारिस गरिएको छ।
बाजुराबाट चुनाव लड्न एमालेले ११ जनाको नाम सिफारिस गरेको छ। जसमा कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र शाही, काशीबहादुर विक र रामलाल कार्की छन्।
बझाङबाट एमालेले तीन जनाको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले केन्द्रीय सदस्य ऐन महर, मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो।
महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। उनलाई कांग्रेस र तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवार बनेका एकीकृत समाजवादीका भानुभक्त जोशीले पराजित गरेका थिए।
कैलाली ४ बाट एकल सिफारिस भएका उपमहासचिव लेखराज डोटीबाट पनि उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, नेताहरू दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम पनि सिफारिस भएको छ।
Shares

प्रतिक्रिया