सुदूरपश्चिम


महाकाली पुल आयोजनाको अनुगमन : स्थानीयले पोखे व्यथा, आश्वास दिएर फर्किए मन्त्री

महाकाली पुल आयोजनाको अनुगमन : स्थानीयले पोखे व्यथा, आश्वास दिएर फर्किए मन्त्री

नेपालखबर
माघ ५, २०८१ शनिबार २१:५१, कञ्चनपुर

गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महाकाली पुल आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

शनिबार गृहमन्त्री लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसहित मन्त्रालयका सचिव तथा प्राविधिकलाई लिएर कञ्चनपुर पुगे।

गृहमन्त्री लेखकको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम अहिले ठप्प छ।

आयोजना अन्तर्गत पक्की पुलको पूर्वपश्चिम दुवैतिर ४ वटा पोखरी निर्माण गरिएका छन्। भीमदत्त नगरपालिकातर्फ पर्ने पोखरीको ‘गाइण्ड बण्ड’ गत भदौमा आएको बाढीले भत्काएको थियो।

‘भेरिएसन’ नहुँदा ‘गाइडबण्ड’ पुननिर्माणको काम अघि बढ्न नसकेको निर्माण कम्पनीले जनाएको छ। भेरिएसनमा ढिलाइ गर्दा केही साताअघि निर्माण कम्पनीले दबाब दिन महाकाली पुल बन्द गराएको थियो।

बर्खा अगावै गाइडबण्ड निर्माण नभए महाकाली बस्तीमा पस्ने खतरा छ। महाकालीको बाढीले भीमदत्त नगरपालिका–११, १२ र १३ का तटीय क्षेत्र डुबानको समस्या झेल्ने गरेका छन्।

निरीक्षणमा आएका गृहमन्त्री लेखक र भौतिक पूर्वाधार मन्त्री दाहाललाई स्थानीयले तत्काल गाइडबण्ड निर्माणको काम अघि बढाउन माग गरे।

‘प्रत्येक वर्ष बाढी आउँछ। अब बाढी बस्ती गयो भने महाकाली पुल आयोजनामा ताला लगाउन आउँछौँ,’ महाकाली समस्या समाधानको माग गर्दै भीमदत्त नगरपालिका–१२ का कृष्ण देउवाले भने।

महाकालीमा बाढीले भुजेला खोला थुनिने गरेको र त्यसले बस्ती डुबानमा पर्ने गरेकोले यो समस्यामा पनि समाधान गर्नुु पर्ने स्थानीयको माग थियो।

गृहमन्त्री लेखकले भौतिक पूर्वाधारमन्त्री दाहाल लगायत प्राविधिकहरुलाई पुल आयोजनास्थलमा महाकालीको  बाढीले बगाएको गाइडबन्डसँगै सम्भावित जोखिमको ध्यानाकर्षण गराए।

‘गाइडबन्ड पनि बलियो गर्नुपर्‍यो। पहुँच मार्ग पनि बलियो बनाएर जेठभित्रै कम्प्लिट हुने वातावरण बनाउनुपर्‍यो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको टिमलाई गृहमन्त्री लेखकले भने, ‘यदि त्यसो भएन भने पुलबीचमा रहन्छ, बस्ती पनि जोखिममा पर्छ।’

उनले पुलको योजना फेल भएमा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहको योजना पनि फेल हुन सक्ने बताए। यो टोलीले शनिबार नै सुख्खा बन्दरगाह निर्माणस्थलको अनुगमन समेत गर्‍यो।

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिमका विकासका आयोजनाको सवालमा ध्यानाकर्षण गराए।

महाकाली करिडोरमा बजेट र जिलेटिन अभावले निर्माणको कामले गति लिन नसकेको उनले बताए। सो उपलब्ध गराएर निर्माणको काम तीव्र गर्नु पर्ने रावलले मन्त्री दाहालसँग माग गरे।

‘करिडोरमा जिलेटिन प्रयोग गर्न नपाएर र उपलब्धता नपाएर सेनाले खनिरहेको रोडको काम सम्पन्न गर्न सकेको छैन। बजेटको अभाव छ,’ उनले भने, ‘करिडोरलाई गम्भीरताका साथ लिएर बजेट र जिलेटिनको उपलब्धता गराउनुपर्छ।’

सुदूरपश्चिमको ‘गेट वे’का रुपमा रहेको गड्डाचौकीदेखि चिसापानी सडकखण्ड ६ लेनको निर्माणका लागि शिलान्यास र काम सम्पन्न गर्न यसपटक थालनी गर्नु पर्ने उनले आग्रह गरे।

हुलाकी सडक ठेकेदारको लापरबाहीले काम अगाडि नबढेकोले त्यसमा सरकारले नजर लगाउनु पर्ने रावलको भनाइ थियो। ‘ठेकेदारले काम गर्दैन। जहिल्यै बजेट फ्रिज हुन्छ। यो प्रवृत्तिलाई निरुत्साहित गर्न ठेकेदारको भुक्तानी भएको छैन भने त्यसमा राज्यले ध्यान देओस्,’ उनले भने।

भौतिक पूर्वाधार मन्त्री दाहालले महाकालीको समस्या समाधानका लागि स्थलगत निरीक्षणमा आएको र अध्ययन गरेर निर्णय गरिने बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महाकाली पुल आयोजनालाई गम्भीर रुपमा लिएको उनले बताए।

‘यहाँको समस्या बुझेर अध्ययन गर्न टीमसहित आएका छौँ। कानूनअनुसार जाँदा बढ्दा अलिकति ढिलो हुने रहेछ। जनताको मागअनुसार छिटो भइदियो भने कुरा पूरा गर्न नसकिँदो रहेछ,’ उनले भने, ‘आयोजना हामी सबैको ड्रिम हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad